यी हुन् भीम बहादुरको हत्यामा संलग्न अभियुक्त : ‘६ वर्ष जेल बसेर आएको’ खुलाशा !

diyopost.com
दियो पोस्ट  मंगलबार, कार्तिक ०२, २०७८ | २१:३१:१०

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ का भीम बहादुर विश्वकर्माको कुटपीटपछि हत्या घटनाका अभियुक्तहरुले अभियोग स्विकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले घटनामा पक्राउ परेका दिलिप श्रेष्ठ र सिताराम बस्नेतले घटनामा आफ्नो समलग्नता स्विकार गरेको जानकारी दिए ।

‘मृत्यु हुनुअघि मृतकलाई सिताराम बस्नेतले पाइपले प्रहार गरेको र दिलिपले मुक्का प्रहार गरेको स्विकार गरेका छन्,’ डिएसपी थापाले भने,‘घटनाको अन्य पाटोबारे अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ परेका अभियुक्त दिलिप श्रेष्ठ यसअघि लागु औषध मुद्दामा ६ वर्ष जेल बसेर आएको समेत गाउँलेहरुको दाबी छ । तर, डिएसपी थापा यसबारे अनुसन्धान भइरहेको र पुष्टि भइनसकेको बताउँछन् । ‘अहिलेसम्म हामीले यसबारेमा कुनै सरकारी रेकर्डमा मुद्दा दायर भएको पाएका छैनौँ,’ थापाले भने,‘यो पनि अनुसन्धानकै क्रममा छ । पुष्टि भएपछि मात्रै विस्तृतमा भन्न सकिन्छ ।’

डिएसपी थापाका अनुसार पीडित परिवारले श्रेष्ठ र बस्नेत विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएकाले प्रहरीले सोही अभियोगपत्र जिल्ला अदालतमा पेश गर्नेछ ।

 

घटनास्थलमा पुगेका युवा नेता प्रदीप घतालका अनुसार मृतक भीम बहादुरको परिवार आर्थिक रुपमा विपन्न मात्रै छैनन् सुकुम्बासी समेत हुन् । घटनास्थलबाट केही माथि रहेको ऐलानी जग्गामा उनको परिवार बस्दै आएको थियो ।
२८ असोज महानवमीको दिन विहान करीब ९.३० बजेतिर ५८ बर्षीय भीमबहादुरलाई स्थानीय बस्नेत र दिलिप श्रेष्ठले कुटपिट गरि हत्या गरेका हुन् ।

घटनास्थल नजिकै रहेका सिताराम बस्नेतले उनलाई पाइपले प्रहार गरेका थिए । त्यस्तै दायाँ तर्फ रहेको पल्लबी फार्मेसी सञ्चालन गरेर बस्ने दिलिपले मुक्का प्रहार गरेका थिए । मुक्का प्रहारपछि घाइते भएका उनलाई अस्पताल पुर्याइएको थियो । तर, अस्पताल नपुग्दै उनको बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

स्थानियबासीका अनुसार भीम बहादुरले मदिरा पिएर छाडा बोलेकै आधारमा सितारामले ५८ वर्षिय बृद्धमाथि पाइपले दुई पटकसम्म प्रहार गरेका थिए । नजिकै रहेका दिलिप श्रेष्ठले पनि उनलाई मुक्का प्रहार गरेका थिए । मृतक परिवारका अनुसार भीम बहादुरले नजिकै रहेको मन्दिरमा प्रवेश गर्न खोजेका थिए । मन्दिर प्रवेश गर्नखोजेको भन्दै दिलिपले मुक्का प्रहार गरेर भीम बहादुरको हत्या गरेको परिवारको दाबी छ ।

 

प्रहरीका अनुसार मुक्का हान्दा सडकमा ढलेका भीमबहादुरलाई श्रेष्ठ आफैंले सीपीआर गरेका थिए । होस नआएपछि दिलिपसँग मिलेर चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा ल्याएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए । तर, अस्पतालल्याई नपु¥याउँदै उनको मृत्यु भएको थियो । चितवन मेडिकल कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले सो दिन विहान १०.१५ बजे अस्पतालमा आउँदा भीमबहादुर मृत अवस्थामा नै ल्याइएको बताए ।

यता घटनामा समलग्न रहेका सितारामले पनि लागु औषध सेवन गर्ने गरेको स्थानियबासीको दाबी छ । प्रत्यक्षदर्शीका अनुसार सितारामले पाइप प्रहार गरेपछि घाइते भएका भीम बहादुर दिलिपले सञ्चालन गरेको मेडिकलमा औषधी माग्न गएका थिए । औषधी माग्दा नदिएपछि उनीहरुबीच सामान्य भनाभन भएको थियो । त्यही भनाभनमा दिलिपले मुक्का प्रहार गर्दा मृतक सडकमा लडेका थिए ।

मृतक भीम बहादुरले मिस्त्री काम गरेर परिवार पाल्दै आएको घटनास्थलमा पुगेका घतालले दियोपोस्टलाई बताए ।

 

सम्बन्धित खबर