मेरा पुड्के साथीहरू- जनकलाल शर्मा

निबन्ध

diyopost.com
दियो पोस्ट  शनिबार, कार्तिक १३, २०७८ | १५:१८:४४

समाजमा ख्याति पाउने दुवै उपाय छन्- कि होचो हुनु, कि अग्लो हुनु। कुनै विशेष अपवाद नभइकन कोही ठूलो मान्छे भएन। सङ्गतमा कुनै होचा छन्, कुनै अग्ला छन्- के हेर्दै छु, देख्तै छु- खालि अग्लो भएको नाताले कोही केही भए, कोही केही भए। यस्तो थाहा पाइएन, पाएको भए पो मैले के गर्न सक्तथेँ र ? डिग्री न परिश्रम, अग्लो हुनु पनि एक ठूलो योग्यता पो रहेछ।

बन्दूकमा त अग्लाको एकलौटी छँदै छ, अब त कलममा पनि अग्लाहरुको भइरहेछ। मैले सोचेँ, म अग्लाहरुको गन्तीमा आउन्नँ त होचाहरुको गन्तीमा आउँछु ? यसो वरिपरि हेर्छु त आफूभन्दा जति अग्ला छन् त्यति नै होचा पनि छन्। न यता न उता। ममा प्रसिद्धि पाउने कुनै अपवाद छैन। कहीँ आवेदनपत्र भर्नुपर्‍यो भने लेखिन्छ- उचाइ साधारण, साढे पाँच फीट। यदि म चार अथवा छ फीट अग्लो भएको भए मेरो योग्यता अहिले जति छ त्यसमा अलिकति बढ्ने थियो। ‘जनकलाल ?’ भन्दा ‘त्यही पुड्के क्या’ अथवा ‘त्यही लामटाङे क्या’ भनेर मलाई चिन्न कति सजिलो हुने थियो।

नाम पनि यति प्रचलित खालको छ सडकमा पाँच मिनेट घुम्दा छओटा उस्तै नामका भेटिन्छन्। यति भनेपछि तपाईंहरुलाई थाहा भयो होला मेरो उचाई त्यति नै छ जसबाट छ फीटवालालाई लङ्गुरे र होचालाई वामनावतार भनेर कसैलाई उडाउने र कसैलाई होच्याउने अवसर पाएको छु।

अग्लाको कुरा अहिले छोड्छु। किनभने कसैले बढाओस् नबढाओस् आफैँ बढेकालाई बाह्र हातको टाँगाले पनि नछुनु। दुई बात बढी बोलियो भने कति बढेको रहेछ भन्छन्। उहाँ र कसैले पुछोस् नपुछोस् आफैँ छ फीट बढ्न पुगेका छन्। तिनलाई कोही केही भन्दैन। त्यस कारण म पनि केही भन्दिनँ। आफ्नै एक-दुई दर्जन पुड्के साथीहरु छन्, बरु तिनैको कुरा गर्छु।

अग्ला, अग्ला ठाउँमा पुगेका छन् कुनै आश्चर्यको कुरा छैन। किनभने त्यो स्वाभाविक कुरा हो। ढोका नखुले झ्यालबाट मात्र होइन प्वालबाट पसेर पनि माथि नै पुग्छन्। तर होचाहरु माथिमाथि पुगेकोमा पो त आश्चर्य छ। होचाहरु कति माथि पुगेका छन् तिनको् नाम किन लिइरहनुपर्‍यो र अहिले ? सिंहदरबारको सबभन्दा तल ढोकामा पनि मेरा होचा साथीहरुमध्येको एक सदस्य छ, जोसित हरेक कर्मचारी, व्यापारी, पर्यटक, दर्शक सबै त्रस्त रहन्छन्। कतिलाई “ए साहेब ! यो साढे दश बजे कतातिर नि ?” अथवा “ए महाशय ! पास-पास-पास, बाहिर-बाहिर-बाहिर” भनेर कुनै दिन भनिदिन्छ, कुनैकुनै दिन भनिदिँदैन। बाहिरबाटै मान्छे च्याउँछन्, ढोकामा पुड्के छ कि छैन ? सिंहदरबारमा पुड्केको शान हेरेर मेरा पुड्के साथीहरुलाई कति खुशी लाग्छ भने मुखले नभने पनि मनमनले त भनिहाल्छन्, ‘पुड्केको व्यक्तित्व हुँदैन भन्ने कुरा गलत हो।’

जीवनमा कसैले पुड्केहरुलाई साथी बनाएको छैन भने त्यसले संसारमा कति होचा मान्छेहरु ठूला भए केही पनि जान्दैन। त्यस्तै अग्लाको सङ्गत नगर्नेहरुले पनि। यदि मझौला कदका मान्छेहरुले मजा लुट्ने हो भने अग्लाअग्ला र होचाहोचाहरुको एक पार्टी बोलाउन, अनि उनीहरुको तर्क सुनून्, “नेपोलियन नामी कि जार्ज वाशिङटन ?” दुवैको पक्षमा यति तर्क प्रस्तुत हुनेछन् जसले गर्दा साधारण ज्ञानको कमी भएकाहरुलाई संसारका धेरै मान्छेको जीवनी, इतिहास थाहा हुनेछ।

कहिलेकाहीँ यस्तो पनि हुन्छ जसले गर्दा संसारका मझौला कदका ठूला मान्छेहरुको अस्तित्व नै समाप्त हुन्छ। किनभने होचा र अग्लाहरुको वादविवादमा मझौला कदका ठूलाहरुलाई अग्लाले आफूतिर तान्छन् र होचाहरु आफूतिर तान्छन्। जस्तो मध्यमवर्ग समाजको रीढ हो त्यस्तै मझौला कदका मान्छे नापको क्षेत्रमा समाजका रीढ हुन्। किनभने मध्यमवर्गले धनी र गरीब दुवैप्रति सहानुभूति राखेझैँ मझौला कदकाहरु होचा-अग्ला दुवैप्रति सहानुभूति राख्तछन्। याने जता मल्खु उतै ढल्कुजस्तै जता मौका पर्‍यो उतैतिर लाग्छन्। भनाइको तात्पर्य हो- ताक परे तिवारी नत्र गोतामे।

मेरा पुड्के साथी धेरै छन्। मझौला कदका मान्छेहरुलाई मेरो सल्लाह छ- उनीहरु पुड्काको सङ्गत गरुन्। यसबाट फाइदा के छ भने हिँड्दा उनीहरुको काँधमा हात राख्न पाइन्छ, हातबाट कुनै कुरा खस्यो भने पहिले उनीहरुले नै टिपिदिन्छन्। साथी होचो छ भने दश-पन्ध्र वर्ष ऊ जेठै भए पनि मौका हेरी दाइ अथवा भाइ जे भने पनि सुहाउँछ।

मेरो विचार छ- पुड्कोपनमाथि एउटा अध्ययनपूर्ण पुस्तक लेख्ने। किनभने पुड्के साथीहरुको सङ्गतले पुड्केपनको अध्ययन प्रशस्त गरिसकेँ। कुनै विषयमा विशेषज्ञ नभई हिजोआज केही काम चल्दैन। आइसक्रीम, सोडाबोतल, टफी-चकलेट, च्याखुरा, पिउराजस्ता कुनै विषयमा त विशेष ज्ञान आर्जन गरे पिएच्.डी. डी. लिट्को उपाधि पाइन्छ भने पुड्के साथीहरुको पुड्कोपनको विषयमा लेखिएको मेरो पुस्तकमा डी. लिट्को उपाधि मलाई कसरी नमिल्ला त ?

म आफ्नु पुस्तक यसरी शुरु गर्ने भएको छु- “पुड्केहरु नमोडेको टोपी र बाक्लो तलुवाको जुत्ता मन पराउँछन्। आइमाई जुत्ता अर्थात् ऐँडीवाल जुत्ता लोग्नेमानिसका निमित्त पनि कहिले खुल्ला ! भन्ने चिन्ता पुड्के साथीहरुलाई सधैँ रहन्छ।” यो पुड्कोपनको संसारमा नयाँ रहस्यको उद्घाटन मैले आज गरिदिएँ। पुड्के साथीहरुप्रति मेरो अत्यन्त सहानुभूति यस कुरामा छ- उनीहरु जुँघा-दाह्री राखून् कि फ्याकुन् ? उनीहरुलाई साहै्र कठिन पर्छ। अर्को कुरा, अरुका सामुन्ने बुजु्रगी देखाउने एक चिहृन दाह्री-जुँघा हुन्। दाह्री-जुँघा नमिट्यानै अर्थात् क्लिनसेभ गरुन् भने पुड्काहरुको एउटा बुजु्रगीको चिहृन दाह्री-जुँघा पनि रहेन। पालून् भने त्यो दाह्री-जुँघा मान्छेको लम्बाइको तुलनामा ज्यादाज्यादा बढ्छ। त्यो दाह्री-जुँघाले पनि बढ्न थालेपछि होचा-अग्ला मान्छे भन्दैन एकैनाससित बढ्छ। यस हिसाबले त केही दिन नकाट्यो भने पुड्के साथीहरुका दाह्री-जुँघा उनीहरुभन्दा लामा हुन पुग्छन्। फसाद छ उनीहरुलाई, दाह्री-जुँघा राखून् कि फ्याँकून् !

उपभोग्य वस्तुमा त्यही हाल छ। पुड्केहरु जनाना इस्तेमाल गरुन् कि मर्दाना। रुपले मदाना, आकारले जनाना भएको पुड्के जाति, यो नयाँ जाति हो, यसको पृथक् जातित्व स्वीकार गर्नुपर्छ। नत्र भने न यी बालक हुन् खेलौना खेल्दै आफूलाई ठीक हुने सामान किन्न ब्याय शपमा जाऊन्, न यी जनाना हुन् सानो घडी, सानो फाउन्टेनपेन किनेर भिरुन्, न यी पूरा साइजका मर्दाना हुन्- सबै उपभोग वस्तु पूरा मर्दाना साइजका किनुन् कि के गरुन् ? यस कारण पुड्का जातिको नयाँ र पृथक अस्तित्व स्वीकार गरेर उनीहरुका निमित्त उद्योगपतिहरुले भिन्नै साइजको सामान उत्पादन गर्नुपर्छ जुन सामानमा ढाँचा बिलकुल मर्दाना रहोस् तर साइज बिलकुल जनाना रहोस्।

मेरा आफ्ना पुड्के साथीहरुप्रति सहानुभूति प्रकट गर्दै पुड्को जातको पृथक् अस्तित्व स्वीकार गराउन वकालत गर्ने विचारमा म एकातिर थिएँ, अर्कातिर मेरा एक पुड्के साथीले मानिसको लम्बाई चौडाइका विषयमा धेरै अघि पुस्तक लेखिसकेको कुरा सुनेँ।

“यो पहाडी मुलुक होचाहरुको हो।” पुस्तक यसरी शुरु भएको रहेछ- “राज्यका प्रधानमन्त्री, फिल्डमार्शल, कमान्डर-इन-चीफ, मन्त्री, राजदूत, सहायक मन्त्री, सेक्रेटरी, डाइरेक्टर, कन्सल, गुरुज्यू, एकाडेमिसियन, पाचके वैद्य, सेक्रेटारियटको गेटकिपर, शाही सवारी चलाउने घोडा, म्युनिसिप्यालिटीको चेयरमैन, धेरैजसो नेता, लेखक- यी कुनै सेवा- मुक्त भएका छन्, कुनै सेवामा छन्, कुनै सेवामा आउने तरखरमा छन्, आउनेमा पनि यिनै छन्, जानेमा पनि यिनै छन्। जोसुकै जेसुकै भनुन्, यो च्यान्टाको मुलुक हो। सगरमाथाविजेता तेन्जिङले आफूलाई मझौलामा दर्ता गर्न खोजेको खण्डमा हिलारीलाई लगेर उनको सँगै उभ्याइदिनू उनी पुड्के हुन आइपुग्छन्। यहाँ अधिक अग्ला मान्छेलाई शुद्ध नेपाली भन्न अल्लि सङ्कोच लाग्छ, अग्ला दाजुभाइले क्षमा गर्नुहोला। हेर्नोस्, संसारमा कोभन्दा को होचो, कोभन्दा को अग्लो ?

हाम्रा मझौंला कदका मानिने एक भूतपूर्व सज्जन अमेरिकामा जुत्ता किन्न पाल्नुभएको रहेछ र पसलेले उहाँलाई भनेछ, “श्रीमान्ज्यू, केटाकेटीहरुको पसलमा जानोस्।”

म मेरा पुड्के साथीहरुप्रति जति सहानुभूतिशील थिएँ त्यति सहानुभूति उनीहरु खोज्दा रहेनछन् भन्ने कुरा मैले अन्तमा बुझेँ। पुड्के साथीहरुसित मैले सन्धिपत्र गरेको छु- किनभने को अग्लो भएर पो के भयो र ? को होचो भएरै पो के भयो र ? कमसेकम आइडीन र मलहमको खर्च बनाउनु छ भने होचाको सङ्गत गर।

एकजना मेरा अग्ला साथी छन्। उनले मेरो घर आउँछु भन्ने खबर पठाए भने पहिले आइडीन र मलहम किनेर राख्ने गरेको छु। तैपनि उनलाई आफ्नू अग्लोपनामा गर्व छ। इतिहास हेर्‍यो भने सगरमाथाको टाउको पनि लत्तिइसकेको छ। त्यस कारण अग्लोपनामा गर्व गर्ने र होचोपनामा खिन्न हुने कारण छैन। जो जस्तो छ त्यसैमा सन्तोष गर्नु उचित छ धेरै के भनौं यस्तै छ वामन र क्रिविक्रमको कुरा।

जनकलाल शर्मा (वि.सं. १९८३-२०५६) नेपाली साहित्कार एवम् विज्ञान वेत्ता हुन्। उनले जोसमनी सन्त परम्परा र साहित्यका लागि वि.सं. २०२० सालको मदन पुरस्कार प्राप्त गरेका थिए। ‘भूमिकै भूमिका’बाट यस निबन्ध साभार गरिएको हो। (ब्यानरफोटो गोरखापत्रबाट लिइएको हो।)

सम्बन्धित खबर