डाक्टरको आवरणमा गिर्वानको ‘फेक रेस्क्युधन्दा’ : हेलिकोप्टर बिल नै फर्जी बनाएर बिमा दाबी !

दियो पोस्ट  

काठमाडौं । पर्यटन क्षेत्रमा ‘फेक रेस्क्यु’ धन्दा अपन सेक्रेट जस्तै छ । पछिल्लो समय हेलिकोप्टर कम्पनि, पर्यटक स्वयं, ट्रेकिङ कम्पनि र विमा कम्पनिको मिलेमतोमा फेक रेस्क्युको धन्दा चलेको भन्दै सरकारले केही कम्पनिलाई कारबाहीको सिफारिस समेत गरेको थियो । तर, सरकारी काम कहिलेजाला घाम भनेजस्तै कुनै पनि कम्पनि कारबाहीको दायरामा आउन सकेनन् । शक्तिकेन्द्रको आडमा नक्कली रेस्क्युको धन्दा गर्नेहरुले उन्मुक्ति पाए । यसरी उन्मुक्ति पाएकाहरु धमाधम फेरी नक्कली काममा सक्रिय छन् । नेपाल घुम्न आउने पदयात्री पर्यटकलाई विभिन्न नक्कली कागजात बनाएर विदेशी विमा कम्पनिबाट अकुत रकम असुल्ने कार्यलाई ‘फेक रेस्क्यु’ धन्दाको रुपमा लिने गरिन्छ ।

राजधानीको लाजिम्पाटस्थित एक अस्पतालको सञ्चालकले खुलमखुल्ला नक्कली रेस्क्युको धन्दा गर्ने गरेको पाइएको छ । कुनैबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास समेत रहेको लाजिम्पाटस्थित अजय सुमार्गीको महलमा सञ्चालित श्रीद्धी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर बताउने गिर्वानराज तिमिल्सिनाले पर्यटक उद्दारको नाममा नक्कली बिल भौचर समेत तयार पारेर विदेशी विमा कम्पनिसँग दाबी भुक्तानी लिने गरेको तथ्य भेटिएको हो ।

दियोपोस्टले प्राप्त गरेको कागजात अनुसार उनले एक गैरआवाशीय नेपालीलाई अल्टिच्युड एयर नामक हेलिकोप्टर कम्पनि मार्फत उद्दार गरेको नक्कली विवरण र उनकै स्वामित्व रहेको ग्लोबल कनेक्ट हेलि सर्भिसको नाममा नक्कली बिल भौचर बनाएर विमा दाबी गरेको फेला परेको छ ।

तिमिल्सिनाले सन् २०२२ जुन २१ मा नर्वेका नागरिकता लिएका गैरआवाशीय नेपाली कुविर तामाङलाई हेलिकोप्टर रेस्क्यु गरेको नक्कली बिल तयार पारेका थिए । पासपोर्ट नम्बर ३३२४१९०० उल्लेख भएको ती नागरिकलाई काठमाडौं–सुर्खेत, ताल्चा– रारा हुँदै फेरी सुर्खेत हुँदै काठमाडौं ल्याएको उल्लेख छ ।

अल्टिच्युड एयरको नाममा जारी भएको प्यासेन्जर एण्ड कार्गो मेनिफेस्टमा यही लेखिएको छ । तर, अल्टिच्युड एयरले भने यो उद्दार भएको /नभएको विषयमा कुनै आधिकारीक जानकारी दिएको छैन । अल्टिच्युड एयरको उच्च स्रोतका अनुसार उद्दार नभई यसरी कार्गो मेनिफेस्ट जारी भएको पाइएपछि अहिले समस्या बल्झिएको छ । बिल कसरी जारी भयो भन्दै अल्टिच्युड एयरले अन्तर्राष्ट्रिय विमा कम्पनिलाई समेत सोधेको थियो । कम्पनिले नक्कली बिल रहेको पाइएपछि बिमा दाबी भुक्तानी दिन नसक्ने जवाफ दिएको छ ।

एसओएस ईन्टरनेश्नल मेडिकल ईन्स्योरेन्स कम्पनिमा गरिएको दाबी भुक्तानीमा हेलिकोप्टर शुल्क मात्रै कुल ९ हजार ५ सय अमेरिकी डलर दाबी गरिएको छ । गिर्वानकै लगानी रहेको श्रीद्धी अस्पतालले कतिको बिल भौचर दाबी गर्यो भन्ने विवरण उल्लेख नभएपनि यो बिल भौचर भने उनले नक्कली बनाएको स्रोतको दाबी छ ।

दियोपोस्टले अल्टिच्युड एयरलाई उक्त बिल कसरी जारी भयो भन्दै विभिन्न प्रश्न गरेर सुचनाको हक २०६४ प्रयोग गर्दै विवरण माग गरेपनि हालसम्म कुनै जवाफ दिन सकेको छैन । तर, नक्कली बिल तयार पारेको आरोप लागेका डा. गिर्वानराज तिमिल्सिना भने आफूहरुले माफी मागेर उन्मुक्ति पाइसकेको बताउँछन् ।

हामीले माफी मागिसक्यौँ, अल्टिच्युड एयरकै मिलेमतोमा भएको हो : तिमिल्सिना

यस विषयमा प्रश्न गर्न हामीले श्रीद्धी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर बताउने डा. गिर्वानराज तिमिल्सिनालाई सम्पर्क गरेका थियौँ । उनले आफूहरुले माफी मागिसकेको सजिलै जवाफ दिए ।


उनले ग्लोबल कनेक्ट नामको कम्पनि आफ्नो नभई साथीहरुको भएको बताए । ‘मलाई अल्टिच्युडबाट पनि खबर आएको थियो । मैले कुनै कागजात बनाएको छैन । म त्यो कम्पनिमा आबद्ध पनि छैन । यस्तो कुरा आएपछि हामीले जो बाट आयो त्यसलाई सम्पर्क गर्न खोज्यौँ । पहिले हामीले ईन्सुरेन्सलाई नै गलत हो भनेर लेख्न लगायौँ,’ उनले दियोपोस्टसँग भने,‘त्यो बिमा दाबीलाई नै क्यान्सिल गरेपछि मैले अल्टिच्युडको सरहरुसँग पनि कुरा गरेँ । अल्टिच्युडकै कुनै स्टाफ भित्र मिलेर त्यो विमा दाबीको लागि सहयोग गरेको रहेछ । मेनिफेस्टेसन आउन चाहीँ अल्टिच्युडबाटै आएको रहेछ । कोबाट आयो त्यो थाहा भएन ।’

उनका अनुसार सबैजना बसेर छलफलपछि मागी माग्ने काम समेत भएको थियो । ‘ठीकै छ भनेपछि उहाँहरु सरहरु पनि राख्नुभयो । जजसले गरेको हो त्यो साथीहरुलाई पनि राखेर उता त्यो ईन्स्योरेन्सलाई पनि अफिसियल्ली चिठी लेखेर माफी मागेका हौँ । दुई तिरबाटै काम भएको भनेर त्यो केसलाई उनीहरुले क्लोज गरे,’ उनले खुलाए,‘सबै कागजात अल्टिच्युडसँगै छ । विरामी हस्पिटल आएको भएर मैले क्लेरिफाई गरिदिएको हो । त्यो केसमा दुईवटैबाट गल्ती महशुस भएर क्लोज गरेका हौँ ।’

गिर्वानराज तिमिल्सिना

 

दियोपोस्टले डा. गिर्वानलाई शुरुमा तपाईंले कम्पनि नै मेरो होइन भन्नु भएको थियो । तर, सारा प्रक्रियादेखि केस नै क्लोज गर्न भूमिका निभाउनु भएको भन्ने तपाईंको जवाफले तपाईंको समलग्नता पूष्टि हुँदैन र ? भनेर प्रश्न गर्दा उनले भने,‘होइन मैले समन्वय गरेको होइन । विरामी मेरोमा आएका कारण……. एकै छिन है……अ… मसँग जे आइडिया छ त्यो सेयर त गर्दिन पर्यो नी ।’
उनले अल्टिच्युडले नै सबै सर्टआउट गरिसकेको भन्दै फोन राखे ।

 

 

सम्बन्धित खबर