साहुको ऋण तिर्न पाटनमा क्यान्डी बेचिरहेका १३ वर्षीय मेघनाथको कथा

फूलमती  

काठमाडौं । ललितपुरको पाटन दरबारस्थित कृष्ण मन्दिर अक्सर भिडभाड हुने क्षेत्र हो । साँझको बेलामा भने यहाँको भिडभाड थेगिनसक्नुको हुन्छ । त्यही भिडभित्र भेटिन्छन् – १३ वर्षीय मेघनाथ यादव । देश चुनावी माहोल र विश्वकपमा झुमिरहेको बेला मेघनाथलाई भने साहुको कर्जा कसरी तिर्ने भन्ने व्यथाले पिरोलेको छ ।

आफ्नो पढाई र घरपरिवार छाडेर राजधानी छिरेका यादवले साहुको कर्जा तिर्नकै लागि त्यही भिडभित्र हातमा क्यान्डी बोकेर चिच्याउँदै हिड्छन् । कसैले क्याण्डी किन्देला र साहुको कर्जा तिरौँला भन्ने आशामा भौँतारिइरहेका मेघनाथको व्यथा सुन्ने कोही हुँदैनन् ।
१३ वर्ष अगाडि रौतहटमा जन्मिएका थिए, मेघनाथ यादव । रौतहटकै एउटा विद्यालयमा उनी अध्ययनरत थिए । तर, उनको ध्यान पढाई तर्फ भने कहिल्यै गएन, कारण एउटै थियो ‘साहुको कर्जा’ । हातभरी क्याण्डी बोकेका मेघनाथ भन्छन्,“मलाई पढ्न मन कहिल्यै लागेन । गरिबको छोराछोरीले पढेर के गर्ने । न त पढेर हामी जस्तोले कमाउन सक्छ न त हाम्ले काम पाँउछ । पढ्नलाई पनि पैसा त चाहिन्छ नि दिदि ! जब हामीलाई स्कुलमा पिट्छन्, राम्रो लुगा लगाएन भन्छन् तब हामी किन पढ्न जाने । फेरि घरको कर्जा पनि उतार्नु पर्छ । अनि हामी जस्तोले पढेर के गर्ने ।” १३ वर्षीय मेघनाथको टाउकोमा ऋणको ठूलो भारी छ ।

यादवलाई घरमा बारम्बार आएर थर्काउने साहुको अनुहार र गालीले झस्काइरहन्थ्यो । “पढाईमा कसरी मन जान्छ र ? अब घरमा बाउले रक्सी पिउने अनि उता साहुको कर्जा । कमाउने कोहि छैन । अलिअलि किसानी काम गर्छन् घरको त्यति त हो,’ उनी भन्छन्, ‘मलाई घरको हालत देखेर निन्द्रा आउँदैनथ्यो । मलाई कसरी हुन्छ पैसा कमाएर कर्जा उतार्न थियो ।’

घरको अवस्था कमजोर भएकै कारण मेघनाथ सानै उमेरमा घर छाड्न बाध्य भए । घरबाट पठाउदैनन् भन्ने उनलाई थाहा थियो । त्यसैले उनी घरबाट भागेर सपनाको शहर भनिने काठमाडौंमा आए । रसाइरहेका आँखाहरुलाई लुकाउन खोज्दै उनले भने,“म चार क्लासमा पढथेँ । रहर कसलाई हुन्छ र दिदि स्कुल छाड्न तर, के गर्ने किसानको बच्चाहरु काम त गर्नुपर्यो नि । पढेर के गर्ने ? कर्जा उतार्ने कि पढ्ने । घरको हालत खराब थ्यो । तब म भागिदिएँ ।”

अनि सुरु भयो क्यान्डी बेच्ने काम
मेघनाथ काठमाडौं त आइपुगे तर उनलाई कसरी काम गर्ने ?, के गर्ने ? केही थाहा थिएन । एक्कासि उनले आफ्नो गाउँको एकजना काकालाई भेटे । काकालाई भेटेपछि उनले क्यान्डी बेच्ने कामको थालनी गरे । क्यान्डीतर्फ देखाँउदै उनले भने,“मैले हाम्रो गाँवो तर्फको चाचा(काका)लाई भेटें । त्यसपछि उनले कामको बारेमा बताइदियो अनि यो क्यान्डी बेच्न थालेको हुँ ।”

उनी क्यान्डी बेच्न बसिरहेको ठाउँमा आफ्ना छोराछोरीहरुलाई घुमाउन थुपै आमाबुवाहरु पुग्छन् । उनीसँग क्यान्डी किनेर आफ्ना छोराछोरीहरुलाई खुवाएको दृश्य उनी धित मरुन्जेल हेरिरहन्छन् । उनका आँखाहरुमा त्यस्ता दृश्यहरुले आँशु भरिन्छ । “हाम्रो पनि मन छ हजुर । रहर त लाग्छ नि यसरी नै घुम्न, आमाबाबाको हात समाएर हिँड्न तर के गर्ने । हामीलाई ठगेछ भाग्यले,” उनी भन्छन्,“म कहिलेकाहीँ यहाँबाट पर एउटा ठूलो महल छ, त्यही बाटो डुल्दै म बस्ने ठाँउमा जान्छु । त्यहाँ धेरै फिल्म लाग्छ । आमाबाबासँगै जान्छन् सबै । मलाई पनि मन लाग्छ तर, अब पैसा कमाएर बिजनेसमेन भएपछि जान्छु ।”

गरिबीको चपेटामा परेपछि र साहुको कर्जाले थिचिएका उनलाई पैसा ठूलो हो भन्ने लाग्न थाल्यो । यादवलाई पढाई भन्दा ठूलो पैसा हो र पैसाले सबथोक गर्छ भन्ने लाग्छ । उनी दिनमा लगभग हजार रुपैँया कमाउँछन् तर उनको सपना अझै धेरै कमाउने र धनी बन्ने छ । हातमा समाएको पैसा देखाँउदै उनी भन्छन्,“अहिले त्यही हजार रुपैँया कमाइ त हुन्छ तर, अब यसरी कमाउने होइन् । आफ्नो ठूलो व्यवसाय गर्ने हो । जसरी पनि कमाउने हो । पढेर के गर्ने हो र ? सबथोक पैसाले हुनेरहेछ ।”

उनी त्यहाँ क्यान्डी बेच्न थालेपछि उनले केही साथीहरु पनि बनाएका छन् । बेलाबखत उनीहरुसँगै हाँसोमजाक गर्दै बस्छन् उनी । उनका साथीहरु प्रिती, अमित महत्तो पनि घरको आर्थिक स्थिति कमजोर भएको कारण पाटनमा नै चिया बेच्ने काम गरिरहेका छन् । उनीहरुको कथा पनि यादवको जस्तै जस्तै छ । यादव भएको ठाँउमा उनीहरु आए, एकैछिन् रमाइलो कुराकानी गरे र फेरि घुम्न आएका मान्छेहरुलाई चिया सोध्न फर्के । साथीहरु गएको बाटोतर्फ हेर्दै यादवले भने,“यिनीहरु पनि म जस्तै हो । हामी यहीँ पाटनमा नै साथी बनेको हो । हामी कहिले लडाँई गर्छौं, कहिले हाँसी मजाक गर्छौं । रमाइलो लाग्छ उनीहरुलाई भेटेपछि ।”

“क्यान्डी लिनुस न हजुर, जम्मा तीस रुपैँया त हो नि” उनी कृष्ण मन्दिरको वरिपरि आवतजावत गर्नेलाई भनिरहन्छन् । केहीले किन्थे, केही उनीतर्फ नहेरी हिँड्थे । उनले दिनभरको कमाई आफ्नो साहुलाई दिने गर्थे । यादव भन्छन्,“मेरो दिन भरको कमाई म साहुलाई दिन्छु । साहुले बस्न खान त दिन्छ तर पैसा दिँदैन । अलिअलि जम्मा गर्छु अनि घरमा पठाँउछु । आजभोलि भने साहुले पैसा अलिअलि दिन्छ र म धेरै घरमा पठाउन पाँउछु ।”

जाडोको महिना कठ्याङ्ग्रीदै उनी बिहान ९ बजे देखि राती ८ बजेसम्म क्यान्डी बेचिरहन्छन् । दिनभरको कमाई उनले आफ्नो साहुलाई बुझाउने गर्छन् । र, साहुले दिएको केही रकम उनी जम्मा गरेर घरमा पठाउने गर्छन् । पढ्ने र आमाबाबासँगै खेल्ने उमेरमा उनी जिम्मेवारीका भारी बोकेर घरबाट टाढा आएका छन् ।

सम्बन्धित खबर

ट्रेन्डिङ