आफ्नै कर्मचारीमाथि टेलिकम एमडी संगीता पहाडीको ज्यादती, प्रहरी लगाएर कुटपीट

'उमेर हुँदासम्म यही दुःख गर्यौं अब कहाँ जाने ?'

दियोपोस्ट संवाददाता  

काठमाडौं । गत कात्तिक १२ गतेदेखि काठमाडौँको बबरमहलस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयबाहिर टेलिकममै कार्यरत सरसफाई श्रमिकहरुले धर्ना दिदै आएका छन् । उनीहरुले ‘श्रम कानुन कार्यान्वयन गर’ लगायतका नारा सहित शान्तिपूर्ण रुपमा आन्दोलन गर्दै आएका छन् । तर आफूहरुमाथि प्रहरीले निर्दयी व्यवहार गरेको उनीहरुको आरोप छ । कात्तिक ११ गते काम सकेर घर गएका उनीहरु भोलिपल्ट काम गर्न भनि कार्यालय आए । तर, सुरक्षाकर्मीले भित्र छिर्न नदिएपछि गेटबाहिरै धर्ना थालेका २९ जना महिला कर्मचारी त्यसयता निरन्तर प्रदर्शनमा छन् ।
तर, टेलिकमका प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीको मिलेमतोमा प्रहरीले उनीहरुमाथि दमन गरिरहेको छ । आज (आइबार) सहित उनीहरुलाई प्रहरीले कुटपिटसहित नियन्त्रणमा लिएर सिंहदरबारस्थित प्रहरी वृत्त पुर्याइसकेको छ । प्रहरीले लछारपछार गर्दा अधिकांशको कम्मरको छाला गएको छ भने कतिपयको हातगोडामा चोटपटक लागेको छ भने, आज विहान भएको धरपकडमा भने ३ जना गम्भिर घाइते भएका छन । घाइते भएका उनीहरुलाई उपचारका लागि विर अस्पताल भर्ना गरिएको छ । गत भदौं २१ गते मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

उनीहरुका अनुसार ठेकेदार परिवर्तन भएपनि श्रमिक परिवर्तन नगर्ने भनि टेलिकमले सम्झौता गरेको छ । सम्झौता मुताविक हालसम्म चार जना ठेकेदार परिवर्तन भए पनि उनीहरु काम गरिरहेका थिए । टेलिकमकै जागिरले रोजीरोटी धान्दै आएका उनीहरु एक्कासी जागिरबाट निकालिएपछि यतिबेला बिचल्लीमा परेको बताउछिन् मजदुर पार्वती थपलिया । “हामीले झाडु पोछा गरेरै आफ्नो जविकोपार्जन गर्दै आएका थियौं । अहिले त त्यही काम पनि गर्न नपाउने भयौं । यत्रो वर्षसम्म आफ्नो समय, मेहनत यही टेलिकममा खर्च गर्यिौं तर अहिले गरि खान पनि नदिने भए । कानुन त ठूलालाई लाग्ने रैन्छ । हामीलाई मात्र लाग्यो” उनले भनिन्, “पुलिस प्रशासनले जे गर्दा पनि हुने रैछ । आज हामी त क्यान्टिनमा चिया लिन गएकाले बच्यौं नत्र हिजो अस्ति हामीलाई पनि कुटदै ल्यएर थुनेको हो । अहिले त तिमीहरुलाई मार्दिन्छौं भनेर धम्की पनि दिन्छन् रे भित्र । यहाँ त जसले जे गरे पनि हुने रैछ ।”

 

आन्दोलनरत अर्का कर्मचारीका अनुसार टेलिकमले न्यून पारिश्रमिकमा नयाँ कर्मचारी ल्याएको छ । त्यसैले थोरै तलव दिएर काममा लगाउने र नाफा खाने उद्धेश्यका साथ आफूहरुलाई निकालिएको पीडित मजुदरको भनाई छ ।

विगत २४ वर्षदेखि यो कम्पनीमा काम गर्दै आएकी शिवमाया थापा मगरलाई ठेकदार जति नै मजदुर फेरिएको याद छैन । “यत्रो वर्षसम्म काम गर्दा जति नै ठेकेदार चेन्ज भए पनि हामी कामदार चेन्ज भएका थिएनौं । उमेर हुँदासम्म यही टेलिकममा दुःख गर्यिौं अनि अब त्यहाँ बाट हामीलाई निकाले पछि कहाँ जाने ? अन्त रोजगार पाइदैन नि । हामीले के गरि खाने ? कति एकल महिला दिदी बहिनी हुनुन्छ म पनि एकल महिला हुँ । घरमा आफ्नो बालबच्चालाई छोडेर हामीले टेलिकममै ध्यान दियौं । अनि अहिले आए यसरी निकाल्न पाइन्छ ? उनले प्रश्न गरिन ।

ठेकेदारी प्रथाअनुसार राखिएका ति कर्मचारीले मासिक १७ हजार रुपैयाँ तलब पाउथें । साढे तीन हजार सामाजिक सुरक्षा कोषबापत काटिन्थ्यों । उनीहरुले ‘ट्रेड युनियनको अधिकारको ग्यारेण्टी गर’,‘संविधानप्रदत्त मौलिक हकको सुनिश्चित गर’,‘श्रम कानुन कार्यान्वयन गर’,‘श्रमिकमाथि गरिएको विभेद र श्रम शोषण बन्द गर’,लगायतको प्लेकार्ड बोकेर नाराबाजी गर्दै आएका छन् ।

यता जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आन्दोलन नगर्ने सम्झौता गरेमा मात्र छोड्ने भनेको छ । उनीहरुले भने यस्तो सम्झोता गर्न अस्विकार गरिरहेका छन् । सेवाबाट जबर्जस्ती निकालिएका सबै श्रमिकले लामो समय टेलिकममा बिताएका छन् । १४ वर्षदेखि २३२४ वर्षसम्म काम गर्दै आएका मजदुरहरु छन् ।

यता श्रम क्षेत्रमा काम गर्दे आएको संस्था अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत बहादुर सिंखडाले टेलिकमको निष्काशित मजदुरमाथि क्रुरतापूर्वक दमन भएको भन्दै आपत्ति जनाएका छन् ।