काठमाडौं । मधुमेह एक जटिल र दीर्घकालीन रोग हो ,जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ । पछिल्लो समय युवाहरुमा देखिएको मधुमेहलाई चिकित्सकीय भाषामा डाइअबीटीज भनिन्छ ।
रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई सुगर वा चिनी रोग पनि भन्ने गरिएको छ । शरीरले रगतमा भएको सबै चिनी ग्लुकोज प्रशोधन गर्न नसक्दा मानिसमा हृदयाघात, मस्तिष्काघात र अन्धोपन हुन सक्छ । साथै मिर्गौलाले काम गर्न छाड्ने अवस्था पनि निम्तिन सक्छ ।
मधुमेह कसरी हुन्छ ?
खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ । पेट नजिकै प्यान्क्रिअस भनिने एउटा ग्रन्थिले इन्सुलिन होर्मन उत्पादन गर्छ । जसले हाम्रो शरीरलाई त्यो ग्लुकोजलाई सोसेर पोषण बनाउन निर्देशन दिन्छ । तर इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा गर्छ । प्रशोधित चिनीले रगतमा गुलियोको मात्रालाई बढाइदिन्छ । त्यस्तो अवस्थालाई मधुमेह अर्थात् डाइअबीटीज भनिन्छ।
मधुमेहका लक्षणहरू
अत्यधिक प्यास लाग्नु,
बारम्बार पिसाब जानु,
थकान महसुस गर्नु,
घाउ र घावको ठीक नहुने प्रक्रिया,
दृष्टि धुमिल हुनु,
वजनको अनावश्यक घटाउनु ।
मधुमेहबाट कसरी बच्ने ?
रक्तचाप नियन्त्रणमा राख्ने ।
उचाइ अनुसार शरीरको तौल नियन्त्रणमा राख्ने ।
खानामा रेशायुक्त खाद्य पदार्थ समावेश गरेर खाने ।
शुद्ध सफा झोलिलो खानेकुरा खाने ।
पानी प्रशस्त पिउने ।
नियमित व्यायाम गर्ने ।
धूम्रपान तथा मद्यपान नगर्ने ।
चिल्लो, तारेको र जंगफुड नखाने ।
रगत चेकजाँच गर्ने ।
मधुमेह रोग लागेका मानिसले सन्तुलित एवम् स्वस्थकर खाना खाने, नियमित व्यायाम गर्ने औषधि र इन्सुलिनको प्रयोग गर्ने हो भने मधुमेह नियन्त्रण गर्न सकिने डा. मधु भट्टराई बताउँछिन् । उनका अनुसार परिवारको कुनै पनि सदस्यलाई मधुमेह देखिएको छैन् भने ३० वर्ष नाघेपछि नियमित रुपमा सुगर चेकजाँच गनुपर्छ ।