‘कुनै घुम्तीमा भेटौँला’ भनेर छुट्टिएको भोलीपल्टै प्रचण्ड र जनार्दन शर्माबीच जम्काभेट

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेकपा माओवादीबाट अलग हुने घोषणा गरेका पूर्वमन्त्री जनार्दन शर्माले प्रगतिशिल अभियान घोषणा गर्नुअघि पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भनेका थिए,‘कुनै घुम्तीमा भेटौँला ।’

राजनीतिक कार्यदिशाले अलग्गै अभियानमा लागेको भोलीपल्टै दुई नेताबीच जम्काभेट भएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलालको आमा कान्छी अछामीलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका प्रचण्ड र शर्माबीच जम्काभेट भएको हो ।

बुधबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतिय शवदाह गृह अगाडी करिब १२ बजेर ५८ मिनेटमा जम्काभेट भएको हो । दुई नेताबीच जम्काभेट भएपनि उनीहरुबीच बोलचाल भने भएन । शुरुमा प्रचण्डले श्रद्धाञ्जली दिएर बाहिर निस्कँदै गर्दा जनार्दन शर्मा पनि श्रद्धाञ्जली दिन पुगेका थिए । प्रचण्ड निस्कँदै गर्दा उनीहरुबीच जम्काभेट भएपनि खासै बोलचाल नभएको प्रत्यक्षदर्शीले बताए ।

तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायत मिलेर नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको छ । त्यस्तै नेता जनार्दन शर्माले राम कार्की, अञ्जना विसन्खे लगायतका नेताहरुलाई समेटेर राजनीतिक अभियान थालेका छन् । उनीसँग एकीकृत समाजवादीकै घनश्याम भुसाल लगायतका व्यक्तिहरु समेत छलफलमा रहेका छन् ।

सिफारिस