अमेरिकामा रहेका अधिवक्ता र चलचित्र निर्देशकको नेपालमा ठगीधन्दा, अदालतबाट पक्राउ पुर्जी

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । नेपाली चलचित्र निर्देशक शंकर घिमिरे र अमेरिकास्थित दाहाल एण्ड एसोसियट्सकी अधिवक्ता बन्दिता दाहाल शर्माको मिलेमतोमा नेपालमा ठगी भएको पाइएको छ । अमेरिका पठाइदिने भन्दै घिमिरे र दाहालले १४ लाख ९९ हजार ६ सय ७० रुपैयाँ ठगी गरेको पीडित मोहन विश्वकर्माले बताएका छन् । उनले विगत एक वर्षदेखि आफूले घिमिरे र दाहाल विरुद्ध प्रहरीमा जाहेरी दिएको भएपनि न्याय पाउन समय लागेको बताए । उनीहरु विरुद्ध प्रहरीले ठगी र लिखत किर्ते मुद्दामा अभियोजन गरेको छ । सरकारी वकिल कार्यालयले पनि दुवै जनालाई फरार प्रतिवादी करार गर्दै अदालतमा अभियोग पत्र पेश गरेको छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपनि घिमिरे र दाहाललाई प्रहरीले पक्राउ नगरी फरार सुचीमा राखेरै अभियोग पत्र बुझाएको हो । चितवनको भरतपुर महानगरापलिका १२ घर भई हाल कागेश्वरी मनहरा ८ बस्ने ४१ वर्षीय घिमिरे र काठमाडौं थापाथलीकी शिल कुमार दाहालकी श्रीमती समेत रहेकी ५० वर्षीय वन्दिता शर्मा दाहाल विरुद्ध ठगी, तथा लिखत सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको हो ।

पीडित विश्वकर्मा राष्ट्रिय खेलकुद परिषदका कर्मचारी हुन् । २ वर्षअघि उनको छिमेकी समेत रहेका शंकर घिमिरेसँग उनको भेट भएको थियो । ‘घिमिरेले म फिल्म क्षेत्रमा काम गर्ने मान्छे हुँ । म संयुक्त राज्य अमेरिका आउँदै गर्छु । तपाईं खेलाडी र तपाईंको श्रीमती नर्सिङ पढेको मानिस हुँनुहुँदो रहेछ । अमेरिका जान आउन सहज हुन्छ, तपाईंको श्रीमतीलाई पनि उपयुक्त नोकरी पाउने अवसर प्राप्त हुन्छ, छोराछोरीको भविष्य राम्रो हुन्छ । म उचित भिषा दिलाई दिने व्यवस्था गर्छु भनेपनि मैले बेवास्ता गरेको थिएँ,’ मोहनले जाहेरीमा भनेका छन्,‘तथापी घिमिरेले दिनदिनै मेरो श्रीमतीलाई समेत भेटेर विश्वास दिलाउने कार्य गरे । भिषा लागेपछि २० हजार डलर लाग्छ, लागेको रकम दिनुहोला भन्दै ललाई फकाई गरी विश्वासमा पारी आश्वासन दिलाउँदै आउनु भयो ।’

यसरी नै घिमिरेले विश्वकर्माको परिवारको कागजात लिएका थिए । २०८१ मंसिर ७ गते अमेरिकन दूतावासबाट सम्पूर्ण कागजात भेरिफाईका लागि राष्ट्रिय खेलकुद परिषदमा आउँदा परिषदकै तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिनासँगको नक्कली सम्झौता पत्र समेत तयार गरेको पाइएको थियो ।
अमेरिकामा रहेकी ईमिग्रेशन अधिवक्ता बन्दिता शर्मा दाहाल मार्फत घिमिरेले भिषा प्रोसेसिङ गरेको खुलेको थियो । नक्कली कागजात बन्दिताले बनाएको पीडितको आरोप छ । भच्र्युअल माध्यमबाट बन्दितासँग समेत आफ्नो कुराकानी भएको र आफूले बन्दिता शर्माको एनएमबी बैंकको खाता नम्बर ००१०१४८५७६२०००१७ मा श्रीमती कल्पना रसाइलीको तर्फबात ५ लाख ५८ हजार ६०० रुपैयाँ जम्मा गरिदिएको बताए पीडितले बताएका छन् ।


तत्कालिन उपाध्यक्ष तिम्सिना मात्रै होइन हालतका सदस्य सचिव टंकलाल घिसिङको समेत नक्कली हस्ताक्षर गरेर सम्झौता पत्र तयार पारेको पीडितको आरोप छ । आफूले शंकर घिमिरेलाई नक्कली कागजात किन बनाएको भनि प्रश्न गर्दा आफूले गल्ती गरेको आफूले मिलाउने भनि वचन दिएको पीडितको भनाई छ । यता सरकारी कार्यालयकै नक्कली हस्ताक्षर र लेटरप्याड दुरुपयोग हुँदा पनि प्रहरीले भने सरकारी लिखत किर्तेमा नभई किर्ते र ठगी मात्रै मुद्दा चलाएको छ ।

राष्ट्रिय खेलकुद परिषदले २०८१ पुस २ गते नै सदस्यसचिव स्तरिय निर्णय गरेर अनुसन्धानका लागि प्रहरीलाई अनुरोध गरेको देखिन्छ ।

 

अमेरिकामा रहेकी अधिवक्ता बन्दिता भन्छिन्,‘मैले सेवा शुल्क लिएको हुँ’

 

 

 

सिफारिस