काठमाडौँ । क्यानडामा चलचित्र छायांकन गर्न लैजाने भन्दै कलाकार तथा कोरियोग्राफरहरूलाई ठगी गरेको आरोपमा चार जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ । सरकारी वकिलको कार्यालय, काठमाडौँले दर्ता गरेको अभियोगपत्रअनुसार चलचित्र निर्माता दिनेश श्रेष्ठ, मिना शाही, प्रज्वल राजभण्डारी र आशिर्वाद सवेदीका बिरुद्धमा मुद्धा दर्ता भएको हो ।
अभियोगपत्र अनुसार पीडित बिक्रम बहादुर स्वाँर र नेत्र परियारलाई क्यानडामा चलचित्र छायांकनका लागि छनोट गरिएको भन्दै त्यसका लागि आवश्यक कागजात तयार गर्ने नाममा उनीहरुबाट रकम असुलेको आरोप छ । उनीहरु विरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ ।
आफूहरू चलचित्र निर्माता तथा निर्देशकसँग जोडिएको र विदेश जान आवश्यक पर्ने भिसा, डकुमेन्ट तयारी लगायतका कागजात मिलाई प्रक्रिया अगाडि बढाउने भन्दै रकम मागेको उजुरीमा उल्लेख छ ।
अनुसन्धानका क्रममा पीडितहरूले विभिन्न मितिमा फरक–फरक बैंक खातामा रकम जम्मा गराएको पुष्टि भएको अभियोगपत्रमा उल्लेख गरिएको छ । आशिर्वाद सुवेदीको सिद्धार्थ बैंक खातामा ३ लाख ६५ हजार, प्रज्वल राजभण्डारीको ग्लोबल आइएमई बैंक खातामा २० लाख, मिना शाहीको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक खातामा ८ लाख र दिनेश श्रेष्ठको प्रभु बैंक खातामा तथा चेकमार्फत ६ लाख ३५ हजार रुपैयाँ जम्मा भएको अनुसन्धानबाट खुल्न आएको छ ।
पीडितहरूले मागअनुसार रकम उपलब्ध गराइसकेपछि प्रतिवादीहरूले ‘प्रक्रिया अगाडि बढिरहेको’, ‘भिसा प्रक्रिया अन्तिम चरणमा पुगेको’ र ‘क्यानडाबाट भिसा आउन लागेको’ भन्ने जस्ता आश्वासन दिई ठगी गरेको उल्लेख छ । तर समयमा भिसा नआएपछि पीडितहरूले रकम फिर्ता मागेका थिए ।
आफुले तिरेको रकम फिर्ता नदिएको र अभियुक्तहरु निरन्तर सम्पर्कबिहिन भएपछि प्रहरीमा उजुरी दर्ता गरिएको थियो । अनुसन्धानका क्रममा मिना राजभण्डारीको खातामा जम्मा भएको ९ लाख रुपैयाँ उनले स्वयं पीडितलाई फिर्ता गरेको प्रमाण पेश गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ । अन्य तीन जना दिनेश श्रेष्ठ, प्रज्वल राजभण्डारी र आशिर्वाद सवेदी भने हाल फरार रहेको सरकारी वकिलको कार्यालयले उल्लेख गरेको छ । उनीहरूविरुद्ध अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ अनुसार असार ४ गते नै पक्राउ पुर्जी जारी भएको छ ।
सरकारी वकिलले पेश गरेको अभियोगपत्रमा प्रतिवादीहरूले योजनाबद्ध रूपमा झुटो प्रलोभनमा पारी आर्थिक लाभ उठाएको पर्याप्त प्रमाण भेटिएको उल्लेख गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) र (२) अनुसार प्रतिवादीहरूले ठगी गरेको स्पष्ट देखिएको निष्कर्षसहित अभियोगपत्र पेश गरेको बताएको छ ।
यता, पीडितहरूले आफूहरूले पेशागत तथा व्यक्तिगत विश्वासका आधारमा रकम उपलब्ध गराएको भए पनि योजनाबद्ध रूपमा झुक्याइएकाले आर्थिक र पेशागत दुवै क्षेत्रमा क्षति भएको दाबी गरेका छन । उनीहरूले जम्मा ४७ लाख रुपैयाँसहित कानुनी क्षतिपूर्ति उपलब्ध गराउन समेत माग गरेका छन् ।
सरकारी वकिलको कार्यालयले पीडितलाई पुगेको क्षतिको भरपाई मुलुकी अपराध संहिता २०७४ को दफा (५७) बमोजिम प्रतिवादीबाट गराउन माग गरेको छ । मुद्दासँग सम्बन्धित बैंक स्टेटमेन्ट, मोबाइल कल विवरण, पीडित तथा साक्षीका बयान, कागजातहरू तथा उजुरीसहितका सामग्रीहरू अदालतमा प्रमाणका रूपमा दर्ता गरिएको छ ।
साथै वारदातमा संलग्न रही हाल सम्म फरार रहेका तीनैै जना फरार प्रतिवादीको हकमा अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ वमोजिम पक्राउ पुर्जी जारी गर्न माग समेत गरेको छ ।
बिभिन्न प्रमाणका आधारमा राजभण्डारी र आशिर्बाद सुबेदीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) ले निषेधित र उपदफा (२) ले परिभाषित कसुरमा सोही संहिताको दफा २४९ को उपदफा (३) (ग) बमोजिम सजाय हुन मागदावी लिई सक्कल मिसिल यसै अभियोग पत्र साथ पेश गरिएको छ ।
चलचित्र निर्माता तथा निर्देशकका रुपमा चिनिएका दिनेश श्रेष्ठले केही समय अघि ‘सकुन्तला’ चलचित्र निर्माण गरि राजेश हमाललाइ महिलाको अवतारमा उतारेका थिए । सोही चलचित्रका कारण उनी निर्देशकका रुपमा चिनिएका थिए ।
पछिल्लो केही समय यता श्रेष्ठ आफन्त तथा घरपरिवारबाट समेत सम्पर्कबिहिन भएको बताइएको छ ।