पिपिएलमा चितवन राइनोजको दोस्रो जित, १३ रनले ज्ञानेन्द्र मल्लको काठमाडौँ पराजित

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १५ । पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत विहीबारको खेलमा पारस खड्का नेतृत्वको चितवन राइनोज विजयी भएको छ । पोखरा रंगशालामा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौँलाई १३ रनले पराजित गर्दै चितवनले लगातार दोस्रो जित दर्ता गरेको हो ।

टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर खेल्दै १५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा काठमाडौँले भने २० ओभरमा ९ विकेट गुमाउँदै जम्म १३६ रनको योगफल मात्र प्रस्तुत गर्न सक्यो ।

चितवन राइनोजको तर्फबाट हरिशंकर शाहले व्यक्तिगत अर्धसतक बनाए । उनले ४९ बलमा पाँच चौका र ३ छक्का प्रहार गर्दै व्यक्तिगत ६० रनको योगदान दिए । त्यस्तै भारतिय खेलाडी स्मिथ पटेलले ३१ रन, अनिल शाह २७ रन र शन्नि पटेलले १३ रन बनाएका थिए । बलिङ तर्फ किरन केसीले सर्वाधिक ३ विकेट लिए भने कप्तान पारस खड्काले दुई विकेट लिएका थिए । त्यस्तै सन्नि पटेल, स्मित पटेल र भुवन कार्कीले समान एकएक विकेट लिए ।

दोस्रो इनिङमा ब्याटिङ गरेको काठमाडौँले २० ओभरको खेलमा ९ विकेट गुमाउदै १३६ रनमात्र बनाउन सक्यो । काठमाडौँका लागि भारतिय खेलाडी गौरव तोमारले सर्वाधिक ३९ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३ ओभर खेल्दै ३० रन बनाए । त्यस्तै पवन सर्राफ र जयक्रिशन कोलसवालले २८ र १८ रन बनाए । अन्य खेलाडीले भने त्यत्ति राम्रो प्रदर्शन गर्न नसक्दा काठमाडौँले हार ब्यहोरेको हो ।

वलिङतर्फ काठमाडौँका बसन्त रेग्मीले २ तथा नन्दन यादव र पवन सर्राफ ले १–१ विकेट लिए ।