निर्मला प्रकरण : बलात्कारपछि हत्या भएकाे सय दिन पूरा, निश्कर्ष शून्य विरोध कार्यक्रम जारी

Diyo post  

काठमाडौं, कार्तिक १६ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पूरा भयो । अपराधी पत्ता लगाउन नसक्दा आलोचना खेप्दै आएको सरकारले सय दिन पूरा हुँदा पनि आलोचना खेपिरहेको छ ।

गत १० साउनमा घरबाट होमवार्क गर्न भन्दै साथीको घर पुगेकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । शव भेटिएसँगै सरकारले बनाएको एउटा उच्चस्तरीय सहित ७ वटा अनुसन्धान टोलीले कुनै नतिजा दिन नसकेपछि सरकारको आलोचना चुलिएको थियो ।

सामाजिक अभियन्ताले निर्मलाको न्याय माग्दै सडकमा आन्दोलनका कार्यक्रम गर्दै आएको थियो । अभियन्ताले आन्दोलनलाई निरन्तरता दिँदै र उनको सम्झनामा शुक्रबार ललितपुरस्थित पाटनको कृष्ण मन्दिरमा दीप प्रज्वलन गर्ने आयोजना गरेको छ । यसअघि सडक र्‍याली, कविता वाचन, अनसन लगायत दबाबमूलक कार्यक्रम गर्दै आएका अभियन्ताहरुले साँझ ५ बजे कार्यक्रम गर्ने भएका हुन् ।

छानबिन टोली ७ पुग्यो, निश्कर्ष शून्य

पहिलो टोली : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धान टोली, प्रमाण नष्ट

गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भयो । घटनाको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गर्न टोली बनायो र खटायो । इन्स्पेक्टर एकिन्द्र खड्काको टोलीले अनुसन्धान गर्न भन्दै डेढ सयभन्दा बढी स्थानीयलाई जिल्ला प्रहरी कार्यलयमा बोलाएर सोधपुछ गर्‍यो ।

प्रहरीले थप अनुसन्धान गर्न भन्दै जीवन घर्ती, दीपक नेगी, चक्र बडू, हेमन्ती भट्टलाई पक्राउ गरेर शारीरिक र मानसिक यातना दियो । यसै समयमा फेला परेसम्मका प्रमाण नष्ट गर्दै गयो । अनुसन्धानमा कमजोरी भएको भन्दै खड्का निलम्बितमा परे ।

दोस्रो टोली : सिआइबीका डिएसपी जिसीको निष्कर्ष स् अभियुक्त दिलीपसिंह बिष्ट

निर्मलाको न्यायका निम्ती सामाजिक आन्दोलन चर्किदै जाँदा घटनाको चौँथो दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले डिएसपी अंगुर जिसीलाई नेतृत्व बनाएर नयाँ टोली खटायो ।
डिएसपी जिसीको टोलीले २५ औँ दिनमा दिलीपसिंह बिष्ट प्रक्राउ गरी उनीलाई नै अभियुक्त भएको निष्कर्ष निकाल्यो । त्यति मात्रै होइन, गत ४ भदौमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिकसम्म गर्न गर्‍यो । तर, डिएनए टेष्टमा मेल नखाएपछि बिष्ट छुटे । तर, आफ्नो अनुसन्धानमा कुनै कमी नभएको बताउँदै विश्वस्त रहेको डिएसपी जिसी बताउँछन् । उनको अनुसन्धानमा सत्यता नभएको भन्दै निलम्बनमा परेका छन् ।

तेस्रो टोली :एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन जारी, एसपी सेवानिवृत्त

प्रहरीले बलात्कारका दोषी पत्ता लगाउन सकेन, उल्टै प्रमाण नष्ट गर्‍यो भनेर आक्रोश बढेसँगै एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा छानबिन समिति बन्यो । सुवेदी त्यस बेला विदेशमा रहेकाले एआइजी धीरु बस्नेतलाई त्यसको जिम्मेवारी दिइयो ।

तत्कालीन एसपी डिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा अयोग्य हुने गरी सेवाबाट हटाउन सो टोलीले गरेको सिफारिसअनुसार गृहले दुवैलाई बिहीबार सेवाबाट बिदा ग¥यो । एआइजी बस्नेत आफूहरू छानबिनमा नै रहेको बताउँदै आएका छन्  । तथ्य परिपक्व भएपछि विवरण सार्वजनिक गर्ने बताएका छन् ।

चौँथो टोली :नुसन्धानमा खटिएका ज्ञवालीको बढुवा, अख्तियारमा सरुवा

सिआइबीको पहिलो टोली विवादमा फसेपछि तत्कालीन एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा नयाँ टोली गठन भयो । टोली गठन भएको करिब दुई महिना भइसक्यो । ज्ञवाली बढुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भए । टोलीका डिएसपी कमल थापाको नेतृत्व गरेको यो टोलीले अहिले पनि कञ्चनपुरमा बसेर अनुसन्धान गरिरहेको छ ।

पाँचौँ टोली : एसपी दुर्गा सिंह नेतृत्वको टोली फिल्डमा अनुसन्धान गर्दै

महिला प्रहरीलाई स्थानीयले सूचना दिन सक्ने आँकलन गर्दै एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाइयो । उनको टोली कञ्चनपुरमा नै कार्यरत छ । उनी भन्छिन्, ‘अनुसन्धानको क्रममा थप सुचना संकलन गर्दै छौँ ।’

छौटौ टोली : गृहका सहसचिव मैनालीको निष्कर्ष, अनुसन्धान टोलीबाट लापरबाही

दिलीपसिंह बिष्ट पक्राउ परेको भोलिपल्ट स्थानीयले आन्दोलन सुरु गरे । आन्दोलन व्यापक भएपछि प्रहरीले गोली चलायो । त्यसपछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १र१ डिआइजी र प्रदेश ७ का उपसचिव सदस्य थिए ।

समितिले एक महिनापछि प्रतिवेदन निकाल्यो । सोही आधारमा पाँच प्रहरी निलम्बनमा परे । दबाबपछि समितिको प्रतिवेदनसमेत सार्वजनिक भयो । तर, प्रतिवेदनमा अभियुक्त बारे केही संकेतसम्म दिएन । जसले समितिको आलोचना भयो । समितिले विशेष अनुसन्धान टोली बनाएर घटनाको अनुसन्धान गर्न सुझाव दिएको छ । आफूहरूलाई अपराधी पत्ता लगाउने भन्दा अनुसन्धानमा भएका गल्ती र बल प्रयोग घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी मन्त्रालयले दिएको समितिका संयोजक मैनाली बताएका छन् ।

सातौँ टोली :विशेष व्युरोको टोली घटनास्थलमा तर, अविश्वास

प्रहरीमाथि नै अविश्वास हुन थालेपछि प्रहरी प्रधान कार्यालयले विशेष व्युरोको एक गोप्य टोली कञ्चनपुर पठायो । स्थानीय प्रहरीलाई समेत थाहा नदिइ टोलीले केही साता कञ्चनपुरमा बसेर सुचना संकलन गर्‍यो । त्यस टोलीले प्रहरीको कमजोरीबाहेक अनुसन्धानमा महत्वपूर्ण सुचनाको संकेतसम्म पाउन सकेन । प्रहरी अधिकारीको रुखो व्यवहारले प्रहरीमाथि स्थानीयको विश्वास नभएको निष्कर्ष टोलीले निकाल्यो ।

आसपासका सयौँको डिएनए परीक्षण तयारी

अनुसन्धानको टोलीले बालिका पन्त बलात्कारपछि हत्याको परिणाम देखाउन नसकेर आलोचना खेपिरहँदा सरकारले सय दिन पुग्नै लाग्दा घटना भएको आसपासका सयौँको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्त समेत डिएनए परीक्षणमा तानिने भएको प्रहरीले जनाएको छ ।

यसक्रममा गत मंगलबार डिएनए परीक्षण गर्न थप चार जनाको रगत प्रयोगशालामा पठाएको छ । अनुसन्धानमा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुर प्रहरीले बताउँदै आएको छ ।

निर्मला पन्त प्रकरण भएको सय दिनसम्म आइपुग्दा धेरै छानबिन समिति गठन भए । अनुसन्धानमा प्रहरीको कमजोरीसमेत पत्ता लगाउन गठित समिति अहिलेसम्म कुनै निष्कर्शमा पुग्न सकेको छैन । शुक्रबारको नयाँपत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित खबर