नोबेल पुरस्कारको १०० वर्षभन्दा पनि बढीको इतिहासमा केवल एकपटक कुनै व्यक्तिलाई मृत्युपछि पुरस्कार दिइयो । यो सम्मान २०११ को चिकित्सा क्षेत्रको पुरस्कारको लागि राल्फ स्टीनम्यानलाई प्रदान गरियो ।
सेप्टेम्बरको महिनामा प्राय दुनियाँका महान वैज्ञानिकहरु केही चिन्तित हुन्छन् । यस्तो यसकारण हुन्छ किनकि अक्टुबरको पहिलो हप्तामा स्वीडेनबाट नोबेल पुरस्कारको घोषणा हुन्छ । सबै वैज्ञानिकहरु आशासहित सायद यसपाली मेरो पालो होला कि भन्ने सोचमा मग्न हुन्छन् ।
नोबेल पुरस्कार १८९५ देखि दिइन्छ । बीसौँ शताब्दिको शुरुवातदेखि हरेक साल ६ विधामा यो पुरस्कार वितरण गरिन्छ । भौतिक विज्ञान, रसायन विज्ञान, अर्थशास्त्र, विश्व शांन्ति, साहित्य, र चिकित्सा क्षेत्र ।
धेरै ठूलो योगदान हुनुपर्ने बाहेक नोबेल पुरस्कारको दुई नियम छन् । पहिलो यो पुरस्कार केवल जीवित मानिसहरुलाई प्रदान गरिन्छ र अर्को एउटा श्रेणीमा यो तीनभन्दा बढी मानिसहरुलाई दिइँदैन ।
नोबेल पुरस्कारको १०० भन्दा पनि धेरै वर्षको इतिहासमा केवल एक पटक मात्र एक मृत व्यक्तिलाई मृत्युपछि मदनपुरस्कार प्रदान गरियो । यस्तो २०११ को चिकित्सा क्षेत्रको पुरस्कारको लागि राल्फ स्टीनम्यानको लागि भएको थियो ।
आज म राल्फ स्टीनम्यानको विज्ञानको योगदान र उनको मृत्युपछि पुरस्कृत हुनुको कहानी सुनाउन चहान्छु ।
स्टीनम्यानको जन्म १९४३ मा क्यानडामा भएको थियो । परिवारका मानिसले उनी धार्मिक क्षेत्रको पढाइ गरुन् र परिवारिक व्यापारमा सहयोग गरुन् भन्ने चाहान्थे । तर स्टीनम्यानको मन भने अन्त कतै नै थियो ।
क्यानडाका चर्चित मैकगिल विश्वविद्यालयबाट डिग्रि पूरा गरेपछि उनी विश्वप्रसिद्ध हार्वड विश्वविद्यालयमा डाक्टरी गर्न गए । १९७० मा डाक्टरी पूरा गरेपछि उनी न्यूवर्क सहरमा शोध गर्न पुगे ।
त्यहाँ उनको काम मानव शरीरलाई रोगबाट बचाउने प्रतिरक्षा प्रणालीलाई बुझ्नु थियो । एकदुई वर्ष काम गरेपछि जुन वैज्ञानिक प्रश्नले उनलाई घेरेको थियो त्यो केही यस्तो प्रकारको थियो ।
जब हाम्रो शरीरमा बाहिरका कुनै तत्वले आक्रमण गर्छ (जस्तो कि ब्याक्टेरिया या भायरस), तब हाम्रो शरीरभित्र भएको प्रतिरक्षा प्रणालीले त्यसलाई मार्छ (अथवा मार्ने पूर्ण प्रयास गर्छ ) । यसले बाहिरबाट आएका तत्वहरुलाई मार्ने प्रक्रिया केही यसप्रकारले बुझ्न सकिन्छ ।
तपाईंको शरीरमा घाउ हुँदा त्यहाँबाट शरीरलाई हानि पुर्याउने केही ब्याक्टेरियाहरु शरीरमा प्रवेश गर्छन् । यस्तो अवस्थामा हाम्रो शरीरमा फैलिएर रहेका केही कोशिकाहरुले यस प्रकारका बाहिरी व्याक्टेरियाहरुलाई चिनेर प्रतिरक्षा प्रणालीलाई शरीरमा आक्रमण भइरहेको छ भनेर सूचित गर्छ । यसबाट शरीरलाई बचाउनुपर्छ भन्छ ।
यी कोशिकाहरुबाट यो सन्देश प्राप्त भएपछि प्रतिरक्षा प्रणालीका केही अन्य प्रकारका कोशिकाहरुले ब्याक्टेरियाहरुलाई मार्छ । यी कोशिकाहरुलाई हामी शरीरको सिपाही पनि भन्न सक्छौँ ।
केवल यति मात्र होइन, यो बेलामा हाम्रो शरीरले यो याद गर्छ कि यस पटक आक्रमण कुन प्रकारका ब्याक्टेरियाले गरेका थिए । यदि भविष्यमा यस्तै ब्याक्टेरिया शरीरमा फेरि पस्ने प्रयास गरे हाम्रो प्रतिरक्षा प्रणाली पहिलेदेखि नै तयार भएर बस्छ र ब्याक्टेरियामा शक्तिशाली तरिकाले अक्रमण गर्छ । यो प्रक्रिया जसलाई हामीले ब्याक्टेरियाको मद्दतले बुझ्यौँ ठीक त्यस्तै तरिकाले शरीरमा भाइरस वा अन्य जीवको आक्रमणमा पनि हुन्छ ।
स्टीनम्यानको समयमा बाहिरी तत्वहरु शरीरभित्र आउने खबर प्रतिरक्षा प्रणालीका सिपाहीहरुलाई कसले दिन्छ भन्ने कुरा कसैलाई थाहा थिएन । परिणामस्वरुप जब वैज्ञानिक ब्याक्टेरिया तथा सिपाही कोशिकाहरुलाई एकै पटक ट्युबमा राखेर अध्ययन गर्थे तब केही पनि हुँदैनथ्यो ।
तर शरीरमा भएका सिपाही कोशिकालाई संदेश दिने कुनै तत्व शरीरमा पक्कै छ भन्ने सबैलाई विश्वास थियो ।
१९७३ मा स्टीनम्यानले ती कोशिकाको लगाए । जस्तो कि क्रान्तिकारी वैज्ञानिक विचारकहरुलाई सधैँ हुने जस्तै उनको खोजीलाई पनि गम्भीर रुपमा लिइएन । पछिल्लो कयौँ वर्ष उनी दुनियाँलाई आफ्नो खोज र त्यसको महत्वको बारेमा बताउन लागे ।
उनले खोजी गरिएको लगभग १० वर्षसम्म स्टीनम्यान बाहेक दुनियाँमा लगभग कोहीले पनि उक्त कोशिकाका बारेमा अध्ययन गर्ने काम गरेनन् । वैज्ञानिक खोजको दौडमा यति लामो समयसम्म एक्लै काम गर्नु एकदमै ठूलो फाइदाको कुरा हो ।
विज्ञानमा नयाँ केही खोज अनुसन्धान गर्ने सौभाग्य प्राप्त भयो भने त्यसको नाम राख्ने अवसर पनि पाइन्छ । स्टीनम्यानलाई पनि यस्तै भयो । पहिला उनले नयाँ कोशिकाको नाम आफ्नी पत्नी क्लोडिआको नाममा राख्ने विचार गरे । स्टीनम्यान उनलाई धेरै माया गर्थे । भनिन्छ पत्नीसँग नाँच्नु उनको प्रिय काम थियो ।
तर पछि उनले यो कोशिकाको एकदमै विशेष कुराका आधारमा यसको नाम निर्धारण गरेर राखे । हेर्दा यी कोशिकाहरु रुख जस्तो देखिथे । यो एकदमै आश्चर्यजनक कुरा
थियो । त्यसैकारण स्टीनम्यानले यी कोशिकाको नाम ‘डेन्ड्रिड’ राखे । उनले यो नाम युनानी भाषामा रुखलाई जनाउने शब्द ‘डेड्राँन’ बाट लिएका थिए ।
यी कोशिकामा काम गर्न धेरै गाह्रो हुन्छ । यीनको अध्ययन गर्नको लागि पहिला शरीरबाट यसलाई निकालेर शरीरका बाँकी सबै कोशिकाबाट अलग गर्नु पर्छ । यसको लागि प्रयोगशालामा धेरै वर्षसम्म कडा मेहेनत गरियो । शुरुवातमा यो काम मुसाको कोशिकामा भयो ।
त्यसपछि स्टीनम्यान र उनका साथीहरुले यो सिद्ध गरे कि शरीरमा लड्ने कोशिकाहरुलाई बाहिरी तत्व (ब्याक्टेरिया/भाइरस) को उपस्थितिको सूचना यही डेन्ड्रिट कोशिकाहरुले दिन्छन् । यति गर्नु नै विज्ञान र मानव शरीरको बारेमा धेरै ठूलो जानकारी थियो । यो कामले उनको नाम विज्ञानमा अमर रहने सुनिश्चित गर्यो ।
तर स्टीनम्यान यहाँ नै रोकिएनन् एक कदम अझै अगाडि बढे । १९८० को दशकमा उनले यो पनि देखाए कि शरीरमा बाहिरी तत्वले आक्रमण गर्दा एकदमै सावधानी अपनाउँछ ।
बाहिरी तत्व र शरीरका सिपाहीको बीचमा लडाइँ हुँदा शरीरका बाँकी कोशिकाहरुमा क्षति पुग्छ । यसबाट बच्न शरीरले सिपाहीहरुलाई लड्ने आदेश दिनुभन्दा पहिला बाहिरी तत्व हानिकारक हुन्छ भन्ने सुनिश्चित गर्न चाहान्छ । सुनिश्चित गर्न जुन कोशिकाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्छ त्यो पनि स्टीनम्यानको डेन्ड्रिड कोशिका नै थियो ।
उनको खोजले रोगसँग लड्ने नयाँ पद्धतिलाई बाटो खोलिदियो । विश्वका हजारौँ वैज्ञानिक आज त्यही बाटोमा काम गरिरहेका छन् ।
दुर्भाग्यले उनलाई २००७ मा क्यान्सर भयो । रोग एकदमै जटील थियो । उक्त समयको उपचार प्रणालीको आधारमा उनलाई एक वर्ष बाँच्ने सम्भावना ५ प्रतिशत मात्र दिइएको थियो । तर उनी हार मान्नेमध्येका थिएनन् । रोग लागेको थाहा पाएर आफ्नो खोज र त्यसले ल्याउने उपचारको सम्भावना पत्ता लगाउन दुई गुना तागत लगाएर जुटे ।
यो यात्रामा उनको साथ दुनियाँभरि फैलिएका उनीसँग काम गर्ने वैज्ञानिकहरुले दिए (यसमा कति उनका भूतपूर्व विद्यार्थीहरु थिए) । सबैले सम्भावित उपचारको एकएक लुकेका कुराहरुको जाँच गरेर स्टीनम्यानलाई जनकारी दिन्थे । नतिजा यो भयो कि समयमा नै स्टीनम्यानले आफूमाथि नै ८ किसिमका अलगअलग प्रकारका प्रयोगात्मक चिकित्सा प्रणालिहरु लागू गरि परिक्षण् गरिरहेका थिए ।
यस्तो गर्न उनलाई सरकारी अनुमति चाहिन्थ्यो । सरकार पनि उनको सहयोगीको भूमिकामा उभियो । उनलाई गुमाउने डरले आफ्नो शरीरमा नै परीक्षण गर्ने अनुमति एकदमै छिटो दिइयो ।
सेप्टेम्बर २०११ को अन्तिममा स्टीनम्यान हस्पिटलमा भर्ना थिए । त्यसबेला उनको बाँच्ने सम्भावना न्यून थियो ।
यस्तो समयमा उनले मजाकमा नै आफ्नो परिवारसँग भने, ‘मैले केही अरु दिन बाँच्न नै पर्छ । उनीहरुले मर्ने पुरस्कार दिँदैन ।’ मदनपुरस्कारको छनौट गर्ने समिति थियो । उनलाई थाहा थियो केही दिनपछि नै पुरस्कारको घोषणा हुनेवाला छ ।
तर उनले आफ्नो सपना साँचो भएको देख्न पाएनन् । ३० सेप्टेम्बर मा उनको निधन भायो ।
तर उनको मृत्युपछि उनको भाग्यमा केही अरु नै लेखिएको थियो । नोबेल पुरस्कार समिति पुरस्कार घोषणा हुनुपूर्व उनको मृत्यु हुने कुरासँग अनभिज्ञ थिए । परिणामस्वरुप ३ अक्टोबरमा स्टीनम्यानकी पत्नीले स्टीनम्यानकोे फोनमा इमेल आएको सूचना देखिन् । उनले इमेल पढेपछि नोबेल पुरस्कारबाट सम्मानित गरिने कुरा थाहा पाइन् ।
घोषणा भएको १ घण्टापछि मात्र समितिलाई स्टेनमैन ३ दिन पहिला नै मरेको खबर थाहा भयो । समितिले एउटा बैठक बोलायो र यो असाधारण घटनामा छलफल गर्यो । तर यो कहानीको अन्त्य सुखद भयो ।
समितिले स्टीनम्यानको पुरस्कार उनीसँगै हुने निर्णय सुनायो । यसरी १०० वर्षभन्दा पहिलाको इतिहासलाई हेर्दा स्टीनम्यान एकमात्र त्यस्ता व्यक्ति हुन् जसलाई आफू नोबेल पुरस्कारबाट पुरस्कृत भएको कुरा नै थाहा भएन ।
मैले भनेको थिएँ नोबेल पुरस्कार तीनभन्दा धेरै व्यक्तिलाई दिइँदैन । २०११ मा पनि यो पुरस्कार दुई अरु वैज्ञानिकहरुसँग बाँडियो । ब्रूस ए. ब्यूल्टर, जूल्स ए. हाफमैनं । यी दुवै वैज्ञानिकले पनि जीवनभर आफ्नो शरीरको प्रतिरक्षा प्रणालीलाई बुझ्न काम गरेका थिए । तर यसको महत्व स्टीनम्यानको कामभन्दा एकदमै फरक थियो ।
ब्यूलटर र हाफमैनकै क्षेत्रमा काम गर्ने एक अर्का वैज्ञानिक मेडजितोव त्यो वर्ष एकदमै रिसाए किनभने उनलाई ब्यूलटर र हाफमैनसँगै पुरस्कृत गरिएन ।
मेडतिजोवलाई थाहा थियो कि एउटै क्षेत्रमा काम गर्दा अर्को पटक नोबेल पुरस्कार दिइँदैन । त्यसकारणले २०११ म उनको सपना अधुरो भयो । भनिन्छ कि मेडजितोव आज पनि यस्तो कुनै वैज्ञानिक सम्मेलनमा जाँदैनन् जहाँ ब्यूल्टर र हाफमैनलाई आमन्त्रित गरिएको हुन्छ । तर उनीहरु तीन जनाको कहानी कुनै अर्कै दिन सुनाउँला ।
लेखक आइआइटी मुम्बईका एशोसियट प्रोफेसर हुन् । यो लेख द वायरबाट सृजना सुवेदीले अनुवाद गरेकी हुन् ।