सातौँ नक्कली छोरालाई नागरिकता बनाइदिएपछि यस्तो ‘लफडा’

दियो पोस्ट  

नक्कली बाबु बनेको आरोप, मुद्दा दर्ता गर्ने तयारी, सिफारिस गर्ने वडाध्यक्ष, सदस्य र सचिव सम्पर्कविहीन

काठमाडौं, कार्तिक १८ । दसैँको रमझम सुरु भइसकेको थियो । सेवाग्राहीको चाप कम भएको थियो, कर्मचारी घर जाने हतारोमा थिए । त्यहीवेला विराटनगर–१ का सत्यनारायण पोद्दार छोराको नागरिकता बनाउन मोरङ जिल्ला प्रशासन कार्यालय पुगे ।

५५ वर्षीय सत्यनारायणसँग वडा कार्यालयको सिफारिस थियो । वडासचिवसँगै वडाध्यक्षले हस्ताक्षर गरेका थिए । यसअघि पनि छोराको नागरिकता बनाउन जिल्ला प्रशासन पुगेका उनलाई नागरिकता शाखाका कर्मचारीले ख्यालख्यालमै सोधे, ‘कति छोरा छन्, सधैँ नागरिकता बनाउन आउनुहुन्छ ?’

सत्यनारायण झस्किए, केही बोल्न सकेनन् । उनी अलमलिएको देखेपछि नागरिकता शाखाका कर्मचारीले सोधखोज गर्न थाले । फाइल पल्टाउँदै जाँदा त थाहा भयो, उनले नागरिकता लिन आएको सातौँ छोराका लागि रहेछ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार झुटो विवरण पेस गरेर नागरिकता बनाउन खोजेको पाइएको छ । ‘झुटो विवरण पेस गरी सिफारिस गराएर नागरिकता लिने प्रयास गरेको पाइएपछि प्रहरीलाई अनुसन्धान गर्न परिपत्र गरिएको छ,’ सिडिओ केसीले भने ।

सत्यनारायणलाई प्रहरीले २४ असोजमा जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मनोजकुमार केसीले बताए ।
नक्कली सातौँ छोरा प्रहरी स्रोतका अनुसार सत्यनारायणले झुटो विवरण बनाएर नागरिकता बनाइदिएको स्विकारेका छन् । प्रहरीको अनुसन्धानमा पनि उनले अहिलेसम्म सातजनालाई छोरा भनेर नागरिकता बनाइदिएको खुलेको छ ।

उनले नागरिकता बनाइदिएका सातजनामा सेजित पोद्दार, पवन पोद्दार, मिथिलेस पोद्दार, जितेन्द्र पोद्दार, रोशन पोद्दार, धीरेन्द्र पोद्दार र राजेन्द्र पोद्दार रहेका छन् ।

किर्ते नागरिकतामा चार पक्राउ
त्यस्तै, किर्ते नागरिकता बनाएको अर्को घटनामा मोरङ प्रहरीले चारजनालाई पक्राउ गरेको छ । विराटनगर–९ का मोहमद सदरुल हक, बदरुल हक, मनुरुल हक र विष्णु साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरू चारैजना भारतीय नागरिक हुन् । मोहमद, बदरुल र मनुरुल दाजुभाइ हुन् । तीनैजनाले बाबुको नाम हैदर अली राखेर नागरिकता लिएको खुलेको छ । जेठा मनुरुलले सप्तरीको तत्कालीन बनौली गाविस–९ बाट र अन्य दुईले विराटनगर महानगरपालिका–९ बाट नागरिकता लिएको प्रहरीले जनाएको छ ।

सिफारिस गर्ने जनप्रतिनिधि सम्पर्कविहीन
कटहरीमा बस्दै आएका सत्यनारायणले विराटनगर महानगरपालिका–१ बाट नागरिकताका लागि सिफारिस बनाएका थिए । उनलाई वडाध्यक्ष उद्धव अर्याल, वडासदस्य रमेश साह र वडासचिव पुष्पा तिम्सिनाले सिफारिस बनाइदिएका थिए ।

उनी पक्राउ परे पनि वडाध्यक्ष, सदस्य र सचिव भने सम्पर्कविहीन छन् । प्रहरी स्रोतका अनुसार उनीहरूलाई जोगाएर सत्यनारायणलाई मात्रै मुद्दा चलाउने तयारी भएको छ । मोरङका एसपी केसीले सरकारी वकिलसँग राय लिएर अभियोग दर्ता गर्ने तयारी भइरहेको बताए । ‘कसलाई कुन अभियोग लाग्छ, त्यो सरकारी वकिलले यकिन गर्ने हो, अहिले केही भन्न सकिँदैन,’ एसपी केसीले भने ।

नागरिकता ऐनमा झुटो विवरण पेस गरी नागरिकता लिने र सिफारिस गर्नेलाई ६ महिनादेखि तीन वर्षसम्म कैद र २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । आईतबारको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सिफारिस