काठमाडौं, कार्तिक १८ । काठमाडौंको सुन्धारा नजिक ऐतिहासिक धरहराको पुनर्निर्माण सुरु भएको छ । निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले निर्माणस्थलका अनावश्यक सामग्री हटाउँदै काम थालनी गरेको हो । कम्पनीले मुख्य संरचना अर्थात नयाँ धरहराको जग खन्न सुरु गरेको छ ।
पुरानो धरहरा र नयाँ बन्ने धरहरा क्षेत्रलाई तारबार गरी निर्माण सामग्री भण्डारण पनि थालेको छ । कम्पनीले थप निर्माण सामग्री राख्न टुँडिखेलको दक्षिणी भाग प्रयोग गर्ने अनुमति पनि पाइसकेको छ ।
निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीका प्रतिनिधिले निर्माणको सुरुवात, निर्माणका मुख्य मुख्य ‘माइलस्टोन’ हरु, भौतिक निर्माण तथा वित्तीय परिचालन समयतालिका तथा निर्माणका चुनौतीहरुका बारेमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहित उच्च अधिकारीलाई जानकारी गराएका छन् ।
निर्माणका लागि निर्माण औजार तम्तयार रहेको जानकारी दिंदै जेभीका प्रतिनिधि रमन महतोले आफूहरु निश्चित समय तालिकाअनुसार निर्माणलाई अघि बढाई समयभित्र सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले धरहराको निर्माण प्राधिकरणको प्रतिष्ठाको आयोजना भएको र आम नेपाली नागरिकले चासोपूर्वक हेरिरहेकोले तोकिएको समयभित्र सम्पन्न हुने गरी निर्माण कार्य अघि बढाउन गर्न आग्रह गरे ।
उनले निर्माणका क्रममा गुणस्तर कायम राख्न र पारदर्शिता कायम राख्न पनि ध्यानाकर्षण गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले धरहरा निर्माण गर्दा ऐतिहासिक र परम्परागत मूल्य मान्यतालाई विशेष जोड दिइने बताए।
कस्तो बन्दै छ धरहरा ?
नयाँ धरहरा पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिनेछ । गजुरसहित नयाँ धरहराको उँचाई करिब ७७ मिटरको हुनेछ ।
पुनर्निर्माण हुने धरहराको स्वरुप क्षतिग्रस्त धरहराको जस्तै हुन्छ । मोटाइ भने पहिलेको भन्दा केही बढी हुनेछ ।
भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको हो ।
अब धरहरा क्षेत्र अब ४२ रोपनी जमिनमा फैलनेछ । त्यसका लागि नजिकै रहेको गोश्वारा हुलाक कार्यालय हटाइने छ भने वाणिज्य बैङ्क रहेको टक्सार भवन पनि भत्काइने छ । सो ठाउँमा सङ्ग्रहालय बनाउने योजना छ । धरहराका क्षेत्रमा मनोरम बगैँचा समेत निर्माण गरिने छ ।
धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बन्ने छ । हाल कायम रहेको गोश्वारा हुलाक कार्यालय भएको स्थानमा पार्किङ स्थल बनाउन लागिएको हो ।
अहिले भएको गोश्वारा हुलाक कार्यालयमा प्रवेशद्वार हुनेछ । प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ ।
सुन्धाराको धारा पनि मर्मत हुने
पुनर्निर्माणका क्रममा सुन्धाराको धारालाई पनि मर्मत गरिनेछ । त्यसक्रममा यसको पुरातात्विक महत्वलाई बिग्रन दिइने छैन ।
धरहरा निर्माणका लागि अघिल्लोपटक प्रधानमन्त्री हुनभएका बेला केपी शर्मा ओलीले २०७२ सालमा नेपालीको लगानीबाटै धरहरा बनाउन ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेक थिए ।
यसका लागि छुट्टै बैङ्क खातासमेत सञ्चालनमा ल्याइयो । जसमा प्रधानमन्त्री ओली र तत्कालीन मन्त्रीहरुले एक महिनाको तलब योगदान गरेका थिए ।