कृषि ज्ञान केन्द्रद्वार दार्चुला र बैतडीमा निःशुल्क गहुँको बीउ वितरण

दियो पोस्ट  

बैतडी, कात्तिक १९ । गहुँको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ कृषि ज्ञान केन्द्रले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको मूल बीउ वितरण गरेको छ ।

बीजवृद्धि कार्यक्रमअन्तर्गत १२०४ जातको उन्नत जातको ३५ क्विन्टल गहुँको बीउ वितरण गरिएको निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाको सेरामा २० क्विन्टल, डिलाशैनीको न्वाकोटमा पाँच क्विन्टल, पाटनको सुकाबैनामा पाँच क्विन्टल, दार्चुलाको शैल्यशिखरमा तीन क्विन्टल र लालीमा एक क्विन्टल गहुँको बीउ वितरण गरिएको छ ।

पकेट क्षेत्रका किसानलाई लक्ष्य गरी गहुँको बीउ वितरण गरिएको हो । यस्तै ५० प्रतिशत अनुदानमा दशरथचन्द नगरपालिकाले एक सय ५९ क्विन्टल उन्नत गहुँको बीउ किसानलाई वितरण गरेको छ ।

किसान हर्षित

यसैबीच लामो समय पछि पानी परेपछि किसान खुशी भएका छन् । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सिँचाइको अभाव भएका ठाउँका किसान आइतबार वर्षा भएसँगै हर्षित भएका हुन् ।

सिँचाइ अभावमा गहुँ छर्न नपाएका किसान पानी परेपछि गहुँ छर्न थालेका छन् । पानी परेपछि गहुँ छर्न सजिलो भएको दोगडाकेदार– ३ श्रीकोटका मानसिंह विष्टले बताउनुभयो । पानी परेपछि गहुँ छर्न तथा तरकारी खेती गर्न सहज भएको उहाँको भनाइ छ । (रासस)