पीपीएलको उपाधि पोखरा पल्टनलाई, चितवन राईनोज ३ विकेटले पराजित

दियो पोस्ट  

काठमाडौं, कार्तिक २० । पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनले जितेको छ ।  मंगलबार भएको फाइनल खेलमा चितवन राईनोजलाई ३ विकेटले हराउदै पोखरा पल्टनले उपाधि जितेको हो ।  टस जितेर बलिङ गरेको पोखराले चितवनले दिएको १६१ रनको लक्ष्यलाई ओभरमा पुरा गर्दै विजयी भएको हो ।

पोखरालाई विजयी गराउन ब्याट्सम्यान रवि इन्दर सिंहले सर्वाधिक ९० रन बनाए । उनले ३ छक्का र १३ चौकाको मद्दतबाट ९० रन बनाए । कप्तान शरद भेष्वाकरले २३ बलमा २२ रन बनाए । त्यस्तै मोहम्मद नाभीले १४ बलमा ३ छक्का र १ चौका हिर्काउँदै २५ रन बनाए । अन्तिम समयमा निकैनै प्रतिस्पर्धात्मक रुपमा गएको खेलमा विनोद भण्डारीले चौका प्रहार गरेपछि पोखराले विजय हाँसिल गरेका हुन् । पाँच बलमा ४ रन आवश्यक भएको समयमा कप्तान पारस खड्काले भुवन कार्कीलाई बलिङको जिम्मेवारी दिएका थिए ।

फिल्डिङमा चितवनका भुवन कार्कीले २ विकेट लिए । कप्तान पारस खड्का, शन्नि पटेल र करण केसीले १–१ विकेट लिएका छन् । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरा ओभर खेल्दै १६० रन बनाएको थियो ।

चितवनको तर्फबाट कप्तान पारस खड्काले अर्धशतक पार गरेका छन् । उनले कुल ३७ बल खेल्दै ९ चौकाको माध्यमबाट ५१ रन बनाएका थिए । त्यस्तै ओपनर अनिल कुमार शाहले व्यक्तिगत ३७ रन बनाए । उनले कुल ३८ बल खेल्दै पोखराका बलर मोहम्मद नाभिदबाट आउट हुन पुगेका थिए । अर्का ओपनर हरिशंकर शाह भने १२ बलमा ८ रन बनाउँदै दोस्रो ओभरमै आउट भएका थिए ।

पारसको विकेटपछि आएका सन्नी पटेलले विस्फोटक ब्याटिङ गरेका छन् । उनले २१ बलमा ४ छक्का र ३ चौकाको माध्यमबाट ४३ रन बनाई अन्तिम ओभरमा आउट भए । अन्त्यमा आएका करण केसी शुन्य रनमै आउट भएका छन् ।

बलिङतर्फ पोखराका मोहम्मद नाभेद ,ललित राजवंशी, रशिद खानले एक–एक विकेट लिए भने कृष्ण कार्कीले २ विकेट लिए ।

उपाधीसंगै आयोजक पोखराले २७ लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चितवन राइनोले १० लाखमा चित्त बुझाएका छन् ।