काठमाडौं, कात्तिक २५ । बाथरूम जाँदा लडेर नाक र मुखमा गम्भीर घाउ लागेपछि गोरखा बजारबाट उपचारका लागि शिक्षण अस्पताल आएका ८९ वर्षीय लालबहादुर तामाङले डाक्टर भेट्न पाँच घण्टा कुर्नुपर्यो। लामो समय कुरेपछि उनले उपचारको पालो त पाए। तर हुलमुलमा डाक्टरले इमर्जेन्सीको रिपोर्ट हराइदिए। ‘ज्येष्ठ नागरिकका लागि टिकटमा सहुलियत पनि पाइएन,’ तामाङले भने, ‘कतिपल्ट भनियो, कसैले वास्तै गरेन।’
ओपीडीमा हुलमुल हुँदा डाक्टरले कसलाई रिपोर्ट दिइ पठाए थाहै नभएको साथमा आएकी बुहारी ममता तामाङले बताइन्। ‘रिपोर्ट खोजिदिन आग्रह गर्दा डाक्टरले वास्तै गरेनन्,’ उनले भनिन्, ‘अस्पतालभित्रै यस्तो लापरबाही हुँदो रहेछ।’
बिहान १० बजे त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पुग्दा गुल्मीकी हुमा थापा अस्पतालको टिकट काउन्टर दायाँतर्फको तिर्तेरे धारामा पिउने पानी थाप्दै थिइन्। निकै सानो आएकाले उनलाई एक बोतल पानी भर्न झन्डै १५ मिनेट लाग्यो। बिरामीका लागि पानीको धारा बाहिर राखिए पनि नियमित नआउने उनले बताइन्।
छोराको ढाडसम्बन्धी उपचारका लागि थापा ६ महिनादेखि शिक्षण अस्पतालमा छन्। ‘अस्पतालमा पानीसमेत किनेर चलाउनुपर्छ’, उनले भनिन्। किन्न नसक्नेहरू भने नजिकैको कान्ति बाल अस्पताल जाँदा रहेछन्। शिक्षण अस्पताल देशको मुख्य सरकारी अस्पताल हो। तर यहाँ बिरामीले अनेक सास्ती पाइरहेका छन्। उल्लिखित घटना यसैका उदाहरण हुन्। अस्पातलमा बिरामीको चाप बढ्दो छ।
जापान सरकारको सहयोगमा ३५ वर्षअघि स्थापना भएको अस्पतालमा बिरामीको चापअनुरूप पूर्वाधार विकासमा ध्यान नदिँदा समस्या भएको हो। छरितो र भरपर्दो सेवाका लागि शिक्षण अस्पताल पुग्ने बिरामी निराश हुँदै फर्किने गरेका छन्। दैनिक १ हजार ५ सयसम्म बिरामी उपचारका लागि आउँछन्। गत वर्ष मात्रै चार लाख बिरामीको उपचार गरिएको अस्पताल प्रशासनको तथ्यांक छ।
छरितो र भरपर्दो सेवाका लागि शिक्षण अस्पताल पुग्ने बिरामी निराश हुँदै फर्किने गरेका छन्।
आकस्मिक कक्षमा बिरामीका लागि ५२ बेड छन्। कतिपय अवस्थामा बिरामीलाई बाहिर राखेर पनि उपचार गर्नुपर्ने अवस्था छ। ‘गम्भीर बिरामीलाई २४ घण्टासम्म इमर्जेन्सीमै राखेर उपचार गर्नुपर्छ। तर कतिपय बिरामी १० दिनसम्म पनि राखेर उपचार गर्नुपर्ने हुन्छ। तर बिरामीको चाप धेरै हुँदा उनीहरूलाई डिस्चार्ज गरेर नयाँलाई ठाउँ दिने गरेका छौं’, स्टाफ नर्स राधा जोशीले भनिन्।
अस्पतालमा दैनिक चार सय ५० को हाराहारीमा आँखा जँचाउन आउने गरेको आँखा विभागको भनाइ छ। तर यति हुँदाहुँदै पनि अस्पतालले सेवा प्रवाहलाई चुस्त बनाउन सकेको छैन। आर्थिक सहयतामा उपचार गर्न सिफारिस लिएर आउने विपन्न वर्गका बिरामीले पनि अनावश्यक सास्ती खेप्न बाध्य छन्।
आमाको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाबाट विपन्न उपचार सहायताको सिफारिसमा अस्पताल आएका धनबहादुर तामाङले सरकारबाट एक लाख रुपैयाँको सहायता त पाए, तर अस्पतालले बिरामीका लागि रकम खर्च गर्न आवश्यक कार्ड समयमै बनाइदिएन। ‘आमा भेन्टिलेटरमा हुनुहुन्छ। भएको पैसा उपचारमा सकियो। एमआरआई गरेको पैसा तुरुन्त तिर्न डाक्टरले भनेका छन्’, तामाङले भने, ‘तर प्रशासनले कार्ड बनाइदिएन।’
प्रशासनको सुस्त व्यवहारका कारण पनि बिरामीले अनावश्यक हैरानी खेप्नुपरेको उनले गुनासो गरे। कतिपय बिरामीका आफन्तले डिस्चार्ज हुन कर्मचारी नभेटेर लामो समय कुर्नुपरेको बताए। अस्पतालमा सवारी पार्किङमा पनि समस्या छ। अस्पताल वरपरको खाली जग्गामा सबै भवन बनेकाले सवारी पार्किङमा समस्या भएको हो।
सीमित स्रोतसाधन हुँदाहुँदै पनि बिरामीलाई सेवासुविधा दिइएको अस्पतालका प्रशासन प्रमुख सूर्यप्रसाद अधिकारीले बताए। ‘सरकारले पूर्वाधार विकासका लागि त्यति चासो दिएको छैन। केही नयाँ पूर्वाधार निर्माण गर्न लागिए पनि तिनको गति सुस्त छ’, उनले भने। आईतबारको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।