झापामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

दियोपोस्ट संवाददाता

झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। मेचीनगर नगरपालिका-८ की ६४ वर्षीया महिलाको जेई संक्रमणबाट मृत्यु भएपछि जिल्लामा यस रोगबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको हो।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार ती महिलाको गत साता मृत्यु भएको हो । यससँगै जिल्लामा जेई संक्रमितको संख्या ११ पुगेको छ। संक्रमितमध्ये हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जेई संक्रमणको जोखिम बढेपछि जिल्लाका विभिन्न स्थानमा परीक्षणको दायरा बढाइएको छ। स्वास्थ्यकर्मीको टोली परिचालन गरी संक्रमणको अवस्था र रोकथामका उपायबारे अनुगमनसमेत भइरहेको श्रेष्ठले जानकारी दिए।

कस्ता हुन्छन् जेईका लक्षण ?

जापानिज इन्सेफ्लाइटिस संक्रमित अधिकांश व्यक्तिमा सामान्य वा मध्यम खालका लक्षण देखिन सक्छन् । तर केही संक्रमितमा भने गम्भीर समस्या देखिने गरेको छ।

उच्च ज्वरो आउनु, मुर्छा पर्नु, घाँटी अररो हुनु, भ्रममा पर्नु, बोल्न नसक्नु, शरीर अनियन्त्रित रूपमा काम्नु, मांसपेशी कमजोर हुनु तथा पक्षाघात हुनुलगायतका लक्षण जेईका प्रमुख संकेत हुन्।

विश्व स्वास्थ्य संगठनका अनुसार जेई भाइरसबाट संक्रमित हुनेमध्ये करिब २५० जनामा एक जनामा गम्भीर समस्या देखिन सक्छ। गम्भीर लक्षण देखिएका बिरामीमध्ये करिब एक तिहाइको मृत्यु हुने गरेको छ।

लामखुट्टेको नियन्त्रण नै मुख्य उपाय

जेई क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। यसले मुख्यतः मस्तिष्क तथा स्नायु प्रणालीमा असर गर्ने भएकाले यसलाई ‘ब्रेन फिभर’ पनि भनिन्छ।

जेई भाइरस एसियाका गर्मी तथा उपगर्म क्षेत्रहरूमा बढी पाइन्छ। नेपालमा पनि विशेषगरी तराई क्षेत्रमा यसको संक्रमण बढी देखिने गरेको छ।

सुंगुर, बंगुर तथा जंगली चराहरूमा भाइरस रहने र संक्रमित क्युलेक्स लामखुट्टेको माध्यमबाट मानिसमा सर्ने गर्छ। मानिस भने यस भाइरसको ‘एक्सिडेन्टल होस्ट’ भएकाले मानिसबाट मानिसमा जेई सर्दैन। धानखेत, दलदल तथा पानी जम्ने स्थानमा क्युलेक्स लामखुट्टेको प्रजनन बढी हुने भएकाले त्यस्ता क्षेत्रमा संक्रमणको जोखिम बढी हुन्छ।

जेईबाट बच्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडामा ढक्कन लगाउने तथा नियमित सफा गर्ने, लामखुट्टे नियन्त्रणका लागि कीटनाशक प्रयोग गर्ने, घरका ढोका-झ्यालमा जाली लगाउने र राति सुत्दा झुल प्रयोग गर्ने गर्नुपर्छ। लामो बाहुला भएको कपडा लगाएर पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ।

समुदायस्तरमा लामखुट्टेको प्रजननस्थल पहिचान गरी सफा गर्ने अभियान सञ्चालन गर्न तथा सुंगुर र चरापालनका स्थानलाई मानव बस्तीबाट सकेसम्म टाढा राख्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

 

सिफारिस