२० वर्षसम्म नहारेको बार्सिलोना हार्दा रेकर्डै रेकर्ड

दियो पोस्ट  

काठमाडौं, कात्तिक २६ । स्पेनिस ला लिगामा लिडर बार्सिलोना पराजित हुँदा रेकर्डैरेकर्ड बन्न पुगेका छन् । आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना कमजोर मानिएको रियल बेटिससँग ४–३ गोल अन्तरले पराजित हुँदा रेकर्ड नै रेकर्ड बनेका हुन् । आफ्नै मैदानमा बार्सिलोना २० वर्षपछि बेटिससँग पराजित हुन पुगेको हो । १९९८ मा बार्सिलोनालाई उसकै मैदानमा बेटिससले पराजित गरेको थियो । बलियो बार्सिलोनालाई हराएपछि बेटिसले इतिहास नै बनाउन पुग्यो ।

यस्तै बार्सिलोनाले २६ महिनापछि आफ्नै मैदानमा पहिलो पराजय पनि बेहोर्न पुग्यो । २०१६ सेप्टेम्बरमा अलाभेससँग आफ्नै मैदानमा पराजित भएको बार्सिलोना २०१८ को अन्तिमतिर आइपुग्दा आफ्नो मैदानमा पराजित हुन पुग्यो । ७९३ दिन र ४३ गेमपछि बार्सिलोनालाई आफ्नै मैदानमा बेटिसले पराजित गरेर स्तब्ध बनाइदियो । गत सिजनमा बािर्सलोनाले लिगमा एकमात्र पराजय बेहोरेको थियो । तर, यसपटक १२ खेल खेल्दा २ खेलमा पराजय भोगिसकेको छ । तीन खेल बराबरी खेलेको छ ।

घाइते भएका मेसी फर्कंदै २ गोल गरे पनि बार्सिलोनाले बेटिससँग अंक खोस्न नसकेको हो । पहिलो हाफमा २–० पछि परेको बार्सिलोनाका दोस्रो हाफको ६८ औं मिनेटमा मेसीले पेनाल्टीमा गोल गरेर अन्तर कम गरे पनि ७१ औं मिनेटमा बेटिस पुनः ३–१ ले अघि रह्यो । ७९ औं मिनेटमा अर्टुरो भिडालले गोल गर्दा खेल पुनः ३–२ मा आयो । तर, ८१ औं मिनेटमा इभान राकिटिकले रातो कार्ड पाएपछि ८३ औं मिनेटमा बेटिसले अर्को गोल थप्दा खेल ४–२ मा पुग्यो । ९२ औं मिनेटमा मेसीले पुनः बार्सिलोनाको लागि गोल थप्दा पनि खेलमा ४–३ को नतिजा निस्कँदा बार्सिलोना स्तब्ध बन्न पुगेको हो ।
१२ खेलबाट २४ अंकका साथ बार्सिलोना अझै पहिलो नम्बरमा छ । तर, उसलाई सेभिल्ला, एथलेटिको म्याड्रिड र अलाभेसले २३÷२३ अंक बनाएर पछ्याइरहेका छन् । रियल म्याड्रिडसँगको अंक दुरी ७ मा रहे पनि यो दुरी ४ मा झरेको छ । रियलले सेल्टा भिगोलाई ४–२ ले पराजित गरेपछि अंक दुरी कम गरेको हो । रियल अंक तालिकमा अझै छैटौं नम्बरमा छ ।

TATA ADD