प्यालेस्टाइन, २७ कात्तिक । गाजा क्षेत्रमा भड्किएको पछिल्लो हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्न मै अवरोध सिर्जना गर्ने खतरा बढेको छ ।
इजरायली हवाई आक्रमणबाट पछिल्लो पटक चारजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै हमासको टेलिभिजन भवनलाई क्षतिग्रस्त बनाएसँगै हिंसात्मक घटनामा अझ वृद्धि भएको हो ।
इजरायली सैनिक स्रोतले हमासको टेलिभिजन भवनबाट इजरायलभित्र क्षेप्यास्त्र प्रहार भएको र त्यसबाट मङ्गलबार एक जनाको मृत्यु भएको जनाएको छ । इजरायली विशेष फौजले आइतबार गाजा क्षेत्रमा गरेको गोप्य कारबाही गरेसँगै हमासले पनि त्यसको बदला लिने जनाएको छ ।
इजरायली सैनिकले सामबार अपराह्नदेखि मङ्गलबार बिहानसम्मको अवधिमा १०० भन्दाबढी विद्रोही इलाकामा आक्रमण गरेको जनाएको छ । हमासले आफ्नो नियन्त्रण भएका क्षेत्रबाट इजरायली भूमितर्फ ३७० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ ।
गाजा क्षेत्रबाट प्रहार गरिएका १०० भन्दाबढी क्षेप्यास्त्रलाई इजरायली प्रतिरक्षा प्रणालीले थाहा पाएको र तीमध्ये अधिकांश खुला ठाउँमा खसेका थिए । इजरायली सेनाका अनुसार केही क्षेप्यास्त्र घर र अन्य संरचनामा खसेका छन् ।
दक्षिणी इजरायलको आस्केलोन सहरको एक घरको भग्नावशेषमा फेला परेका एक व्यक्तिको शव निकालिएको आपतकालीन सेवा प्रदायक संस्था युनाइटेड हतजलाहले जनाएको छ । सोही भवनबाट उद्धार गरिएकी एक महिलाको अवस्था अत्यन्त नाजूक रहेको र उनको उपचार भइरहेको छ ।
प्रहरीले मारिएका ती व्यक्ति प्यालेस्टिनी रहेको जनाएको छ । एकजना प्रहरी प्रवक्ताले आस्केलोनको घरमा ती व्यक्ति कसरी आए भन्ने अनुसन्धान भइरहेको बताएका छन् । स्वास्थ्यकर्मीले हमासको आक्रमणका कारण करिब २० जना इजरायली नागरिक घाइते भएको बताएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट तीन जना प्यालेस्टिनीको मृत्यु भएको र अरु नौ जना घाइते भएको जनाएको छ ।
प्यालेस्टिनी मुक्तिमोर्चा नामको विद्रोही समूहले इजरायली आक्रमणबाट मारिने दुइजना प्यालेस्टिनी आफ्ना सदस्य रहेको जनाएको छ । तेस्रो व्यक्ति भने इस्लामिक जिहादको सैनिक रहेको बताइएको छ । इजरायली आक्रमणबाट घाइते भएका अर्का प्यालेस्टिनीको उपचारकै क्रममा मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
महिनौंदेखि गाजा–इजरायल सीमा क्षेत्रमा व्याप्त हिंसात्मक अशान्ति बिस्तारै मत्थर हुनेक्रममा रहेपनि एकाएक हिंसा भड्किएको छ । हालैका सातामा गाजा क्षेत्रमा कार्यरत कर्मचारीको तलब भुक्तानीका लागि कतारलाई लाखौँ डलर उपलब्ध गराउन तथा विद्युत सङ्कट समाधान गर्न इन्धन उपलब्ध गराउन इजरायलले सहमति दिएको थियो ।
पछिल्लो हिंसा भड्किनुअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चौतर्फी आलोचनाबीच प्यालेस्टाइनका लागि रकम उपलब्ध गराउन कतारलाई अनुमति दिएका थिए । उहाँले सम्भावित युद्ध टार्न पनि यस्तो सहमति दिएको बताइन्छ । इजरायल र प्यालेस्टिनी विद्रोहीबीच गाजा क्षेत्रमा सन् २००८ यता तीन पटक युद्ध भइसकेको छ । पछिल्ला हिंसात्मक घटनाक्रमले चौथो युद्ध निम्त्याउन सक्ने अनुमान गरिएको थियो ।
युद्धको निर्णय लिने सर्वोच्च निकाय इजरायली सुरक्षा परिषद्को बैठक मङ्गलबार बिहानका लागि डाकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नेतान्याहूले पेरिस भ्रमणलाई छोट्याएर स्वदेश फर्कनु भएको छ । उहाँले सोमबार नै सुरक्षा प्रमुखसँग पछिल्लो अवस्थाका बारेमा छलफल गरेका छन् ।
राष्ट्रसङ्घका मध्यपूर्व कुटनीतिज्ञ निकोलाए म्लाडेनोभले पछिल्ला हिंसात्मक कारबाही निकै खतरनाक रहेको बताउनुभएको छ । उहाँले सबै पक्षलाई धैर्य कायम राख्न आग्रह गर्नुभएको छ । इजरायलले आइतबारको गोप्य कारबाही सूचना–संग्रह अभियान मात्र रहेको, र यो कुनै व्यक्तिको हत्या वा अपहरणमा केन्द्रित नरहेको स्पष्ट गरेको छ, तर हमासले इजरायली दाबीको खण्डन गर्दै बदला लिने जनाएको छ ।
इजरायली सैनिकले आइतबारको अभियान पूर्वयोजना बमोजिम अघि बढ्न नसकेको र भिडन्त भएको बताएको छ । प्यालेस्टिनी अधिकारीले इजरायली गोप्य अभियानकै क्रममा इजरायली हवाई आक्रमण भएकाले आशंका उत्पन्न भएको जनाएको छ ।
हमासले इजरायली विशेष फौजको टोली दक्षिणी गाजा क्षेत्रको खान युनिसभित्र कार लिएर आएको बताएको छ । तर यहीबीच गोली हानाहान हुँदा स्थानीय अल–क्वास्सामका कमान्डर नुर बाराका सहित अर्का विद्रोही मारिएका थिए ।
त्यसपछि उक्त कार लिएर भाग्न लागेका इजरायली सेनाको सुरक्षाका लागि हवाई आक्रमण गरिएको हमासको भनाइ छ । इजरायली आक्रमणमा मारिएका सातै जना प्यालेस्टिनी विद्रोहीको सोमबार हजारौँ प्यालेस्टिनीको उपस्थितिमा दाहसंस्कार गरिएको छ ।
त्यसक्रममा बन्दुकसहित उपस्थित अल–क्वास्सामका सदस्यले हावामा गोली चलाएका थिए ।
गाजा–इजरायली सीमामा गत मार्च २० देखि नै हिंसात्मक झडप भइरहेका छन् । इजरायली सेनाको कारबाहीमा यस अवधिमा कम्तीमा २३१ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । यस घटनामा हालसम्म दुई जना इजरायली सैनिकको मृत्यु भएको छ ।