काठमाडौं, कात्तिक २८ । नेपाली महिला फुटबल टोली सन् २०२० मा जापानमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको दोस्रो चरणमा प्रवेश गरेको छ।
एसियन छनोटअन्तर्गत मंगलबार भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो।
समूहको उत्कृष्ट तेस्रो बन्ने दुई टोली अघिल्लो चरणमा पुग्ने प्रावधानअनुसार नेपाल समूह ‘सी’ मा तेस्रो बनेको हो।
म्यानमारको थुनुवा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले सुरुआती अग्रता लिए पनि खेलको अन्तिममा अग्रता गुमाएको थियो।
नेपालका लागि कप्तान नीरु थापाले १७ औं मिनेटमा गोल गर्दै टोलीको उत्साह बढाएकी थिइन्। दोस्रो हाफको इन्जुरी समयमा नेपालले बराबरी गोल खाएको थियो। बंगलादेशका लागि अखी खातुनले बराबरी गोल फर्काएकी थिइन्।
नेपालले अघिल्ला दुई खेलमा भारत र आयोजक म्यानमारलाई समान १–१ गोलको बराबरीमा रोकेको थियो। नेपालले समूहमा तीन अंक बनाएको छ।
यसअघि नै एक जित र एक बराबरी खेल्दै समान चार चार अंक बनाएका म्यानमार र भारत अन्तिम खेल अघिनै अघिल्लो चरणमा पुगेका छन्।
भारत र म्यानमारबीच मंगलबार नै समूह विजेताका लागि प्रतिस्पर्धा भएको छ।
बंगलादेश भने बाहिरिएको छ। यसैगरी चाइनिज ताइपेई, हङकङ, इन्डोनेसिया, इरान, जोर्डन, फिलिपिन्स, उज्वेकिस्तान र भियतनामले पनि दोस्रो चरणको छनोट यात्रा तय गरेका छन्।
ओलम्पिक छनोटमा एसियाका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए। सहभागी टोलीलाई चार समूहका विभाजन गरिएको थियो। दोस्रो चरणको छनोट खेल आगामी अप्रिल महिनामा हुनेछ। बुधबारको अन्नपसर्णपोष्टमा खबर छ ।