प्रचण्ड–बादलसँग सहिद परिवारका गुनासा

दियो पोस्ट  

काठमाडौं, कात्तिक २८ । १० वर्षे जनयुद्धका क्रममा पति र छोरी गुमाएकी मंगला गाउँपालिका–२ सिमलचौरकी गुमाकुमारी खड्काले मंगलबार पहिलोपटक प्रचण्ड र रामबहादुर थापा बादललाई भेटिन् । नसारोगबाट पीडित पत्नी सीताको उपचारका सिलसिलामा तातोपानी कुण्डमा स्नान गर्न पुगेका नेकपाका अध्यक्ष प्रचण्डसँगै गृहमन्त्री बादल पनि मंगलबार सिमलचौरस्थित खड्काको घर पुगेका थिए ।

प्रचण्ड र बादललाई सामुन्ने देखेपछि खड्का केहीबेर अवाक भइन् । लगत्तै जनयुद्धमा होमिएर परिवारका सदस्य गुमाएको पीडा सम्झँदै उनले भनिन्, ‘जनयुद्धमा होमिएर हामीले परिवारका सदस्य गुमायौँ । संघीय गणतन्त्र आयो । अब जनतालाई विकास चाहिएको छ । त्यो जिम्मेवारी पूरा गर्नुहोस् ।’ त्यहाँ जम्मा भएका सहिद परिवारका अन्य सदस्यले पनि उनीहरूलाई जनचाहना पूरा गर्न आग्रह गरेका थिए ।

५५ वर्षीया गुमाले जनयुद्धमा पति र छोरी गुमाएकी थिइन् । त्यो युद्धका कमान्डरलाई भने वर्षौंपछि मात्र भेटिन् । तैपनि प्रचण्ड र बादल घरमै भेट्न आउँदा खुसी लागेको बताइन् । गुमाकी छोरी सिर्जनालाई १३ चैत ०५८ मा सिखमाबाट र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पार्टी सदस्यता लिएका पति नन्दबहादुर खड्कालाई २ भदौ ०५९ मा कुहुँबाट गिरप्तार गरी तत्कालीन राज्य पक्षले हत्या गरेको थियो । तत्कालीन नेकपा मशालका नेता रहँदा बादल ०४३ तिरै खड्काको घरमा पुगेका थिए । दशकौँपछि पुनः सोही ठाउँ पुगेर युद्धमा ज्यान गुमाएका सहयात्रीको परिवारलाई भेट्दा उनी भावुक बने ।

सहिद परिवारलाई ढाडस दिँदै प्रचण्डले भने, ‘परिवर्तनका निम्ति उहाँहरूको योगदान अतुलनीय छ । लामो संघर्ष र ठूलो बलिदानीकै कारण स्थानीय, प्रदेश र संघीय सरकारको परिकल्पनाले सार्थकता पाएको हो ।’ उनले कर्मचारी व्यवस्थापन टुंगिएपछि सिंहदरबारको अधिकार गाउँघरमै पुग्ने ढाडस पनि दिए । आफू प्रधानमन्त्री भएका वेला बेनी–दरबाङ सडक कालोपत्रे गर्ने योजना बनाएको बताउँदै प्रचण्डले काठमाडौं फर्किएलगत्तै ढिलासुस्ती हटाउन पहल थाल्ने बताए ।

स्थानीयका मागैमाग
त्यसक्रममा मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले गाउँपालिकाको सम्भावना र समस्याबारे अवगत गराउँदै विभिन्न समस्याबारे प्रचण्ड र बादलको ध्यानाकर्षण गराए । कर्मचारी नहुँदा स्थानीय सरकार प्रभावहीन भएको उनको भनाइ थियो । मंगला माविका प्रअ गमबहादुर खत्रीले प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोग मागे ।

निरीक्षण–अवलोकनमा व्यस्त
सोमबार म्याग्दी पुगेका नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल मंगलबार दिनभर जिल्लामै निरीक्षण र अवलोकनमा व्यस्त रहे । उनीहरूले गलेश्वर मन्दिर, म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना, बेनी–जोमसोम–कोरला सडक, बेनी बजारमा कालीगण्डकी नदीले गरेको कटानलगायतको स्थलगत अवलोकन गरेको नेकपाका नेता तथा पूर्वसभासद् गोविन्द पौडेलले जानकारी दिए । दुवै नेताका परिवार बुधबारसम्म तातोपानी कुण्डमा स्नान गर्ने गरी म्याग्दीमै रहेका छन् । स्नानपछि बुधबार कार्यकर्ता भेटघाट, उद्योगी–व्यवसायीसँग छलफललगायत कार्यक्रम रहेको पौडेलले बताए । बुधबारको नयाँ पत्रिकामा खबर छ ।