नक्कली स्याम्पु र मसला उत्पादन प्रकरण : आधिकारिक विक्रेताकै मिलेमतोको आशंका

दियो पोस्ट  

काठमाडौं, कात्तिक २९ । बहुराष्ट्रिय कम्पनी ‘हेड एन्ड सोल्डर’को स्याम्पु र बिएमसी मसलाको नक्कली उत्पादन कार्यमा नेपालस्थित उनीहरूकै आधिकारिक विक्रेताको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार चन्द्रागिरि–१५ नैकापमा एन्टी डेन्ड्रफ स्याम्पु ‘हेड एन्ड सोल्डर’ र बाबा मसला कम्पनीको उत्पादन ‘बिएमसी’ मसलाको अवैध उत्पादन गर्ने कारखाना फेला पारेको थियो ।

कारखाना सञ्चालक दम्पती वासुप्रसाद बिडारी र ज्योति बिडारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । ज्योति सोप एन्ड केमिकल्सको नाममा कम्पनी दर्ता गरेर उनीहरूले डेढ वर्षदेखि कारखाना चलाउँदै आएका थिए । प्रहरीका अनुसार उपत्यकामा उपलब्ध हेड एन्ड सोल्डरका सबै स्याम्पु सोही कम्पनीबाट उत्पादित नक्कली रहेको खुलेको छ ।

प्रहरीले थाल्यो अनुसन्धान
कारखाना नै स्थापना गरी बहुराष्ट्रिय कम्पनीको नक्कली उत्पादन गर्ने कार्य बिडारी दम्पतीको मात्रै प्रयासबाट नभएको आशंकामा थप अनुसन्धान भइरहेको परिसर प्रमुख एसएसपी वसन्त लामाले बताए । ‘लाखौँ रुपैयाँ लगानीमा कारखाना खोलेर बहुराष्ट्रिय कम्पनीको नक्कली उत्पादन गर्ने आँट एक दम्पतीले मात्र गरे होलान् जस्तो लाग्दैन,’ एसएसपी लामाले भने, ‘यसमा आधिकारिक डिलरकै मिलेमतो भएको हामीलाई शंका छ । त्यसैले अनुसन्धान त्यसतर्फ पनि केन्द्रित गरेका छौँ ।’

पक्राउ परेकाले खोले केही नाम
‘हेड एन्ड सोल्डर’को नेपालमा आधिकारिक विक्रेता विशाल ग्रुपअन्तर्गतको युनाइटेड डिस्ट्रिब्युटर हो । त्यस्तै, बाबा मसला कम्पनीको उत्पादन बिएमसी मसला पनि भारतीय कम्पनी नै हो । नेपालमा यसका विक्रेता कम्पनी धेरै छन् । त्यसमध्ये धेरै बिक्रीकर्ता काठमाडौं भेराइटी हो । प्रहरीका अनुसार त्यसमध्ये विक्रेता कम्पनीका एक सदस्य सुरेन्द्र तिमल्सिना यस कार्यमा संलग्न रहेको पक्राउ परेका बिडारी दम्पतीको बयानबाट खुलेको छ ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पक्राउ परेकाहरूको बयानबाट केहीको नाम खुलेको जानकारी दिए । उनले भने, ‘नक्कली स्याम्पु र मसला उत्पादन कार्यमा संलग्न केही पक्राउ परेका छन् । उनीहरूको बयानबाट केही अन्यको नाम पनि खुलेको छ । तीमध्ये केही डिस्ट्रिब्युटर छन् । उनीहरूको खोजी भइरहेको छ ।’

नक्कली कारखानाबाट मासिक डेढ करोड कारोबार
प्रहरीले कारखानाबाट करिब ५० लाख रुपैयाँ मूल्यबराबरको उत्पादन र त्यसका कच्चापदार्थ बरामद गरेको छ । जसमा ४४ कार्टुन बिएमसी मिट मसला, सय केजी मसलाका कच्चापदार्थ, मसला प्याक गर्ने प्लास्टिक, २ सय ५० कार्टुन तयारी मसला, ३ सय ७० कार्टुन तयारी स्याम्पुलगायत छन् । प्रहरीका अनुसार उनीहरूले प्रत्येक महिना कारखानाबाट उत्पादित डेढ करोड रुपैयाँ मूल्यबराबरको उत्पादन बिक्री गर्दै आएका थिए । बिहीबारको नयाँपत्रिका दैनिकमा खबर छ ।