बाटो खन्न नेपाली कामदार नै प्रयोग, अनुमति लिएको छैन : सिडिओ
दार्चुला, मंसिर २ । भारतले अनुमति नलिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक निर्माण भइरहेको छ ।
त्यहाँको घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्नलगायत सामान ढुवानी गर्न नेपालतर्फ घोरेटो बाटो निर्माण भइरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए ।
‘भारतीय क्षेत्रमै आवतजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सजिलो भएकाले बाटो बनाइरहेका छौँ,’ विष्टले भने । भारतीय लोक निर्माण विभाग पिथौरागढअन्तर्गत सडक निर्माण भइरहेको छ । त्यही विभागको निर्देशनअनुसार नेपाली क्षेत्रमा पनि घोरेटो बाटो बनिरहेको विष्टको भनाइ छ । उनका अनुसार तम्बाकुदेखि थिङभिरको फेदसम्म साढे दुई किलोमिटर बाटो बनिरहेको छ ।
स्थानीय बासिन्दाकाे विरोध
स्थानीय बासिन्दाले विरोध गरे पनि नेपालीलाई पनि आवतजावत सहज हुने बताउँदै भारतीय अधिकारीहरूले बाटो बनाइरहेका छन् । ‘हामीलाई मात्रै होइन, नेपालीलाई पनि सजिलो हुन्छ भनेर धमाधम काम गरिरहेका छन्,’ स्थानीय बासिन्दा नरेश धामीले भने ।
पुल र बाटो निर्माणको सम्पूर्ण खर्च भारत सरकारकै लोक निर्माण विभागले बेहोरेको निर्माण कम्पनीका प्रतिनिधि विष्टले बताए । भारतीय क्षेत्रमा सडक निर्माण नभएसम्म नेपालकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
गत वर्ष यही क्षेत्रमा महाकाली नदीमाथि दुई ठाउँमा एकलौटी काठेपुल बनाउँदा विरोध भएको थियो । पछि नेपालबाट अनुमति लिइएको थियो । दुई पुल निर्माणका लागि अनुमति लिइए पनि दोपाखे क्षेत्रमा तेस्रो पुल पनि बनाएको थियो ।
नेपाली कामदार नै प्रयोग
भारतले नेपाली भूभागमा बाटो बनाउन नेपाली मजदुरलाई नै लगाएको छ । बाटो खन्ने, सामान ओसार्ने र भारी बोक्ने काम नेपालीले नै गर्दै आएका छन् । सामान ढुवानी गर्दै आएका व्यास–४ सुन्सेराका जनकसिंह कुँवरले भने, ‘नेपाल सरकारले रोजगार दिँदैन, परिवार पाल्न काम त गर्नै प-यो ।’
कात्तिक पहिलो सातादेखि निर्माण कार्य भइरहेको छ । दैनिक सात/आठजनाले बाटो खनिरहेको व्यास–५ स्याँकुका जनक धामीले बताए । ‘यो क्षेत्रमा नेपाल सरकारले केही गर्दैन, भारत सरकारले नै गर्ने हो । जसको भए पनि काम त गर्नै प-यो ।’
दैनिक आठ सय रुपैयाँ ज्याला
नेपाली मजदुरले बाटो निर्माणमा दैनिक आठ सय रुपैयाँ ज्याला पाउने गरेका छन् । त्यस्तै, बाटो निर्माण भइरहेको क्षेत्रमा सामान बोक्न प्रतिकिलोग्राम २० रुपैयाँसम्म ज्याला पाउने गरेको स्थानीय जनकसिंह कुँवरले बताए ।
अनुमति लिएको छैनः प्रजिअ आचार्य
बाटो निर्माणका लागि भारतीय पक्षले अनुमति नलिएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पुल निर्माणका लागि अनुमति लिएको हो, बाटो निर्माणका लागि अनुमति लिएको छैन,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले भने ।
बाटो निर्माण भइरहेको क्षेत्रमा नेपाली अधिकारीहरू पुगेका पनि छैनन् । गत वर्ष पुल निर्माणका स्थानीय बासिन्दाले अवरोध गरेपछि दुम्लिङ प्रहरी चौकीबाट प्रहरी टोली गएको थियो । त्यस्तै, यही कात्तिक दोस्रो साता प्रहरी टोली सो क्षेत्रमा गए पनि बाटो निर्माण भएको क्षेत्रसम्म भने नपुगेको स्थानीय बासिन्दाले बताए ।