धादिङमा ७३ वर्षिय एकल महिलामाथि बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपीट

धादिङमा ७३ वर्षिय एकल महिलामाथि बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपीट

दियोपोस्ट संवाददाता

धादिङधादिङको सिद्धलेक गाउँपालिका ४ गौँथलेमा एक वृद्धमाथि बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपीट भएको छ ।
कुटपीटबाट एकल महिला ७३ वर्षिय सेती माया लायो मगर गम्भिर घाइते भएकी छिन् । उनलाई थप उपचारका लागि काठमाडौंको स्टार अस्पतालमा भर्ना गरिएको छ ।

‘मेरी हजुर आमालाई बोक्सीको आरोपमा निर्घात हुने गरी कुटपीट गरियो । मलमुत्र पनि खुवाएका रहेछन् । घरमा रुवाबासी भएपछि दोस्रो दिन प्रहरीले चार जनालाई पक्राउ गर्यो,’ घाइते पीडित लायोकी नातिनी जुना मगर पौडेलले दियोपोस्टसँग भनिन्,‘नेपाली सेनाको जवानले नै मुख्य रुपमा कुटपीट गरे ।’
कार्तिक २८ गते साँझ ७ बजे ३ जना धामी र एक नेपाली सेनाको जवान मिलेर एकल महिला लायोमाथि बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपीट गरिएको हो ।

पीडित परिवारका अनुसार बृद्ध महिलालालाई कुटपीट गर्न धामीहरु ५५ वर्षिय हर्क बहादुर पुलामी, ६० वर्षिय खोल बहादुर पुलामी ४० वर्षिय यम बहादुर मगर र नेपाली सेनाको कुलेखानी गणमा कार्यरत धन बहादुर गुर्छान मगर समलग्न थिए ।

कुटपीटमा समलग्न चारै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा समलग्न सेनाका जवान मगर भागेका थिए । प्रहरीको सक्रियतामा उनलाई केही बेरमै पक्राउ गरिएको थियो ।

पीडित परिवारका अनुसार घाइते लायोलाई गोबर र दुवो समेत खुवाइएको थियो ।

Trending News