नेविसंघ अध्यक्ष महर भन्छन्,‘रामचन्द्र दाइले मान्छे नउकास्ने हो भने महाधिवेशन हुन्छ’

दियो पोस्ट  

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आगामी महाधिवेशनलाई लिएर पार्टी भित्र तिव्र विवाद छ । शनिबार महाधिवेशनको मितिलाई लिएर विद्यार्थीकै एउटा समुहले पार्टी केन्द्रीय कार्यालयमै चर्को स्वरमा नाराबाजी समेत गरे । निकै घम्साघम्सीपछि नेवि संघ महाधिवेशन फेरी २ महिना पछि धकेलिएको छ । यद्धपी अझैपनि नेविसंघ महाधिवेशन हुने/नहुने अन्यौल कायमै छ ।

नेपाल विद्यार्थी संघका विद्यमान अध्यक्ष नैन सिंह महरमाथि महाधिवेशनको मिति सारेको र समयमै महाधिवेशन गर्न नसकेको आरोप एउटा पक्षले लगाएको छ । महर भने पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेवि संघको वर्तमान कार्यसमिति नै विघटन गर्न चाहेको आरोप लगाउँछन् । नेविसंघको आगामी महाधिवेशन र अन्यौलताका विषयमा दियोपोस्टले अध्यक्ष महरसँग छोटो कुराकानी गरेको छ ।

प्रस्तुत छ महरसँगको छोटो अन्तर्वार्ता :

नियमित समय र थप गरिएको तीन महिनामा पनि नेविसंघको महाधिवेशन गर्न नसकेपछि पार्टीले थप दुई महिनाको समय दिएको छ के अब महाधिवेशन गर्न सक्नुहुन्छ ?

मुख्य गरी हामीसँग सल्लाह नै नगरी थपिएको समय अवैज्ञानिक छ । किनकी मंसिरपछि हिमाल र तराईमा जाडो बिदा सुरु हुन्छ । साथै, समयको चाप पनि धेरै हुने भएकोले अवैज्ञानिक भयो भनेको हुँ । महाधिवेशन नगर्ने नियत होइन तर, समयको दबाब छ ।

भनेपछि थप गरिएको दुई महिनामा पनि महाधिवेशन गर्न सकिंदैन भन्न खोज्नुभएको हो ?

त्यस्तो होइन सबैको इमान्दार प्रयास भएको भए हिजो पनि महाधिवेशन हुन्थ्यो । आज पनि हुन्थ्यो र भोलि पनि हुन्छ । महाधिवेशन नै हुँदैन भन्ने होइन । तर, पनि महाधिवेशन गर्ने बाटोमा कसरी अगाडि बढ्ने भन्नेमा संगठनभित्र कुरा गरेर अघि बढ्छु । साढे दुई महिना बिधान आएन । र अहिले दुई महनिामात्रै थप्ने हुँदा हामीलाई एक महिनामा विद्यालय र कलेजको अधिवेशन सकाउनुपर्ने चुनौती आएको छ । समग्र समीक्षा गरेपछि थप विषय बाहिर ल्याउँछु ।

दुई महिनाको समय थपिने प्रस्ताव आउँदै गर्दा असन्तुष्टिको स्वर पनि सुनिए यसले त झन् महाधिवेशनलाई अन्यौलतामा धकेल्दैन ?

पार्टीको वरिष्ठ नेताले समेत निर्वाचित समिति विघटन गर्ने कुरा गरेपछि थप गरिएको समयमा महाधिवेशन नै नगराउन वातावरण सिर्जना गर्ने नियत उहाँहरुको देखिन्छ । विधान ल्याउने बेला बैठक बहिष्कार गर्ने अनि महाधिवेशन गर्ने बाटोलाई रोक्न खोज्ने उहाँहरुको प्रवृत्ति सकारात्मक छैन । तर, हामी जसरी पनि महाविधेशनको गर्नुपर्छ भन्नेमा छौं । रामचन्द्र दाइहरुको विघटन भन्नुहन्छ । उहाँहरुको बोलाइमा तुक छैन ।

अब पनि महाधिवेशन गर्न नसक्ने हो भने त तपाईंलाई निक्कै गाह्रो हुने भयो नी होइन ?

मलाई पनि समयको दबाबमा राखेर नेतृत्वको टाउकोमा फाल्ने काम पनि भएको छ । निर्देशन समितिका केही मानिसले तालिकाको पर्वाह नै नगरी थोरै समयको लागि दबाब दिएका छन् । उनीहरुको पनि नियत सफा देखिंदैन । अत्यन्तै प्रेसरमा तालिका आएको छ । हामीसँग छलफल नगरी मिति घोषणा भयो । तर, पनि महाधिवेशन गराउनैपर्छ ।

महाधिवेशन पूर्वका काम के के बाँकी छन् ?

पहिले विधान थिएन । बल्ल पार्टीले दिएको छ । अब केन्द्रीय प्रतिनिधि जान्छन् । विद्यालय, कलेज, जिल्ला, प्रदेश तहमा मात्रै अधिवेशन गर्नुपर्छ भन्ने सुनेको छु । सबैको इमान्दार प्रयत्न हुँदा समयको चाप भए पनि महाधिवेशन गर्न सकिन्छ ।

भनेपछि केही नेताहरुमा असन्तुष्टि भए पनि महाधिवेशन हुन्छ ?

सबै मिलेर लाग्ने हो र इमान्दार प्रयत्न हुँदा महाधिवेशन गर्न गाह्रो छैन । रामचन्द्र दाइले आफ्ना मान्छे नउकास्ने हो भने महाधिवेशन समयमैं गर्न सकिन्छ । महाधिवेशन गर्ने सकारात्मक नियत सबैमा हुँदा थोरै समय पार्टीले दिए पनि गर्न सकिन्छ ।