सहिद स्मारक ए डिभिजन लिग फुटबलको आज भएका खेलमा संकटा, एपीएफ र हिमालय शेर्पा क्लव विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा सिमित संकटालाई जिताउन सेड्रिक अबाले दुई गोल गरेका हुन् ।
सातदोबाटोमै भएको अर्को खेलमा एपीएफले फ्रेण्डस क्लबलाई १–० ले हराउदै पहिलो जित निकालेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविन स्याङतानले गोल गर्दै एपीएफलाई ३ अंक दिलाएका हुन् ।
आज नै शसस्त्र प्रहरीको मैदान हल्चोकमा भएको अर्को खेलमा हिमालय शेर्पा क्लवले सरस्वती क्लवलाई १–० हराउदै पहिलो जित हात पारेको छ । जितसँगै हिमालयले २ खेलमा ४ अंक बनाएको छ ।