मुख प्रतिपक्षी दल कांग्रेसले नौमहिने अवधिमा सरकार नौ ठाउँमै चुकेको टिप्पणी गरेको छ । सरकारको नौमहिने कामको समीक्षा गर्दै कांग्रेसले देशमा सरकार नै नभएको दाबी गरेको छ ।
‘देशमा सरकार छ ? छ भने कहाँ छ ?’ प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गर्दै भने, ‘कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था छ ।’ लोकतान्त्रिक संस्कृति, राष्ट्रवाद, संघीयता, सुशासन, बजारमूल्य, शान्ति सुरक्षा, न्यायालय, संविधानप्रति अपनत्व विस्तार र समृद्धिको यात्रामा सरकार चुकेको कांग्रेसको तर्क छ ।
सरकारको समृद्धिको यात्रालाई सातवटा बुँदामा व्याख्या गर्दै कांग्रेसले आलोचना गरेको छ । भारतमा समायोजन भई इन्धनको मूल्य घटेको, तर नेपालमा समायोजन नभएको र रेल उद्घाटन गर्न भारतका मुख्यमन्त्री आउन लागेकामा आपत्ति जनाएको छ । जयनगर–जनकपुर–कुर्था रेल उद्घाटन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्ने कार्यक्रम छ ।
‘मित्रराष्ट्रको लगानी र सहयोगलाई हामीले सदैव स्वागत र कदर गरेका छौँ । तर, कुनै पनि परियोजनाको उद्घाटन दुवै राष्ट्रका प्रधानमन्त्रीबाट संयुक्त रूपमा हुने या निश्चित विभागीय तहबाट हुने परम्परा र मर्यादा उल्लंघन गर्न मिल्दैन । सरकारबाट सार्वजनिक जवाफ चाहिन्छ,’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै, विनाप्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवालाई बुढी गण्डकी आयोजना जिम्मा दिइएको, निजगढ विमानस्थल निर्माणको विषयलाई कागजमै अलमल गरिएको, केरुङ–काठमाडौं–रक्सौल रेल चर्चा फायलमा बन्द गरिएको आरोप कांग्रेसको छ ।
विकासका सबै ठूला परियोजना प्रधानमन्त्री कार्यालयमातहत ल्याउने तयारी संघीयताको मर्म प्रतिकूल भएको आरोपसमेत लगाएको छ ।
प्रधानमन्त्रीको रामराज्यमा निर्मलालाई न्याय खोई ?
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायमा पनि सरकार चुकेको भन्दै कांग्रेसले आलोचना गरेको छ । निर्मलाका आमाबुबा डेढ सातादेखि निरन्तर धर्नामा बस्दासमेत न्याय दिन सरकार गम्भीर नबनेको आरोप लगाएको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंको रामराज्यमा निर्मलाले न्याय पाउने सम्भावनाको मृत्यु भइसकेको हो ?’ कांग्रेसले प्रश्न गरेको छ ।
पार्टी महासमिति बैठक केन्द्रीय कार्यालयमा
२८ मंसिरदेखि ३ पुससम्म भृकुटीमण्डपमा गर्ने भनिएको महासमिति बैठक कांग्रेसले केन्द्रीय कार्यालय सानेपामै गर्ने भएको छ । प्रवक्ता शर्माले महासमिति बैठक केन्द्रीय कार्यालयमै गर्ने तय भएको बताए । महासमितिमा प्रस्तुत गरिने राजनैतिक दस्तावेज एवं पार्र्टीको आर्थिक नीतिका सम्बन्धमा प्रदेशस्तरीय अलग–अलग छलफल सम्पन्न भएको जानकारी उनले दिए । पार्टीको विधानमा समसामयिक संशोधनका लागि देशमा १२ स्थानमा केन्द्रीकृत रूपमा सुझाब संकलन गरेपछि विधान अन्तिम चरणमा पुगेको उनले बताए । महामन्त्रीले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन आन्तरिक तयारीको अन्तिम चरणमा रहेको उनको भनाइ छ ।
९ मंसिरमा केन्द्रीय समिति बैठक
महासमिति बैठक तयारीबारे छलफल गर्न ९ मंसिरमा कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठकमा विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्तावित मस्यौदा पेस भएपछि छलफल सुरु हुनेछ ।
तेलको मूल्य समायोजन नभएकोमा आपत्ति, बुढीगण्डकीमा चासो
कांग्रेसले समृद्धिको यात्रामाथि बुँदागत टिप्पणी गरेको छ । भारतमा तेलको मूल्य समायोजन हुँदा पनि नेपालमा नभएको र रेल उद्घाटन गर्न भारतका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउन लागेकोमा आपत्ति जनाएको छ । विनाप्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी दिएको, निजगढ विमानस्थललाई कागजमै अलमल पारेको र केरुङ–काठमाडौं–रक्सौल रेल चर्चा फाइलमा बन्द गरिएको आरोप कांग्रेसको छ ।
ठूला आयोजना प्रधानमन्त्री मातहत संघीयता प्रतिकूल
विकासका सबै ठूला परियोजना प्रधानमन्त्री कार्यालयमातहत ल्याउने तयारी संघीयताको मर्मप्रतिकूल भएको आरोप कांग्रेसले लगाएको छ । सरकारको यस्तो शैलीले संघीयताको प्रभावकारितामा झनै असर पुगेको कांग्रेसको ठहर छ । त्यस्तै, मन्त्रिपरिषद्को निर्णय ७ दिनमा सार्वजनिक गर्ने सरकारी अभ्यास सूचनाको हक र पारदर्शिताको प्रतिबद्धताविपरीत भएको भन्दै विमति प्रकट गरेको छ । निर्णय २४ घन्टामै सार्वजनिक गर्न आग्रह गरेको छ ।
वाइडबडीमा गम्भीर घोटालाको आशंका
वाइडबडी विमान खरिद रहस्यमय बनेको विषयलाई कांग्रेसले गम्भीर भनेको छ । ‘हाइफ्लाई एक्ससँग जहाज खरिद गरिएको हो कि नियोजित रूपले नयाँ दर्ता गरिएको हो, सार्वजनिक खरिद ऐनको पालना भएको छ कि छैन ?’ कांग्रेसको प्रश्न छ । उसले छानबिनको मागसमेत गरेको छ ।