काठमाडौं, ९ मंसिर । स्पेनिस लालिगा चर्चित दुई क्लब बार्सिलोना र रियल म्याड्रिड पछिल्लो समय खराब लयमा गुज्रेका छन् । १३ औं खेलसम्म आइपुग्दा रियलले ५ खेलमा पराजित हुँदै २० अंक जोड्दा छैटौं स्थानभन्दा अगाडि बढ्न सकेको छैन । शनिबार मात्रै पनि रियल आइबरसँग ३–० गोलको शर्मनाक पराजय बेहोर्न बाध्य भयो । इतिहासमैं रियल आइबरसँग पराजित भएको पहिलोपटक हो । नयाँ प्रशिक्षक सोलारी पूर्ण प्रशिक्षक भएको पहिलो खेलमैं रियल शर्मनाक पराजय बेहोर्न बाध्य भयो ।
लिग लिडर बार्सिलोनाको पनि कमजोर लय
यता लिग लिडर भएर पनि बार्सिलोनाको प्रदर्शन पनि सन्तोषजनक हुन सकेको छैन । आज बिहान सकिएको खेलमा बार्सिलोना हारबाट मुस्किलले जोगिन पुग्यो । एथलेटिको म्याड्रिडको घरेलु मैदानमा ७७ औं मिनेटमा गोल खाएपछि बार्सिलोना हारतर्फ अघि बढेको थियो । तर, ओसामाने डेम्बेलेले ९० औं मिनेटमा गोल गरेपछि एकएक गोलको बराबरी खेल्दै एक अंक भने हात पार्यो ।
रियल एकपछि अर्कोमा पराजित हुँदै गर्दा बार्सिलोनाले फाइदा उठाउन भने सकेको छैन । अघिल्लो खेलमा रियल बेटिससँग पराजित भएको बार्सिलोना लगत्तैको खेलमा हारबाट जोगिए पनि उसका लागि सन्तोषजनक नतिजा होइन । एक खेल खेलेको सेभिल्लाको २३ अंक छ भने पहिलो स्थानमा रहेको बार्सिलोनाको १३ खेलबाट २५ अंक मात्र छ । सेभिल्ला जित्दा बार्सिलोना दोस्रो स्थानमा धकेलिनेछ ।