काठमाडौं, ९ मंसिर । अष्ट्रेलियाले चौथोपटक आइसिसी विमेन्स टी २० क्रिकेट विश्वकपको उपाधि जितेको छ । इङल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको हो । १९.४ ओभरमा इङल्याण्डले पुरै १० विकेट गुमाएर १०५ रन बनाउँदै १०६ रनको लक्ष्य दियो ।
पुरुष टोलीले अहिलेसम्म टी २० को विश्वकप जित्न नसके पनि अष्ट्रेलियाको महिला टिमले चौथोपटक यो उपाधि जित्न सक्यो । पुरुष टिम २०१० को फाइनमा पुगे पनि इङल्याण्डसँग सात विकेटले पराजित भएको थियो ।
जवाफी ब्याटिङका लागि उत्रिएका अष्ट्रेलियाका ब्याट्सविमनहरुले १५.१ ओभरमा २ विकेटमात्रै गुमाएर १०६ रन बनाउँदै उपाधि जिते । एजे हेलेले २२, विएल मोनीले १४, ग्रान्डेरले ३४ र ल्यानिगंले २८ रन बनाउँदा सहज जित निकाले । ग्रान्डरले बलिङतर्फ पनि चार ओभरमा २२ रन दिएर ३ विकेट लिएकी थिइन् । यसकारण उनी प्लेयर अफ द म्याच पनि बनिन् ।
वेस्ट इण्डिजमा भएको फाइनल जित्दा अष्ट्रेलियाले चौथोपटक उपाधि जितेको कीर्तिमान बनायो । २००९ देखि सुरु भएको यो प्रतियोगितामा अष्ट्रेलियाले २०१०, २०१२ र २०१४ मा गरी लगातार प्रतियोगिता जित्न सफल भयो । २००९ को पहिलो प्रतियोगिता भने इङल्याण्डले उचालेको थियो । २०१६ मा भएको पछिल्लो विश्वकपमा भने वेस्ट इण्डिजले अष्ट्रेलियालाई पराजित गर्दै उपाधि जितेको थियो ।
सेमिफाइनलमा अष्ट्रेलियाले वेस्ट इण्डिजलाई ७१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । वेस्ट इण्डिजले गत विश्वकपको फाइनलमा अष्ट्रेलियालाई नै पराजित गरेको थियो । यता इङल्याण्डले भने भारतलाई ८ विकेटले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरेको थियो ।