कस्तो थियो पूर्वराजा ज्ञानेन्द्रको डान्स ? हेर्नुहोस् भाईरल बनेको तस्वीर

diyopost.com
Diyo post  सोमबार, मंसिर १०, २०७५ | ७:३२:०६

काठमाडौं, मंसिर १० । नेपालमा आजभोलि पूर्व राजा र राजपरिवारको जुनसुकै गतिविधिमा पनि मानिसहरूको आकर्षण बढ्न थालेको पाइन्छ । पूर्व राजा र राजपरिवारको सामाजिक, धार्मिक, पारिवारिक भेटघाट, विदेश तथा स्वदेश भ्रमणका साथै उनीहरूबाट गरिने र हुने क्रियाकलापहरूले सामाजिक संजाल र संचार माध्यमहरूमा स्थान र चर्चा पाउन थालेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडांैको एउटा चर्चित रेस्टुरेण्टमा गरेको डान्स अहिले खुबै चर्चाको विषय बनेको छ । मंसिर ८ गते शुक्रबार साँझ पूर्वराजाले लैनचौरस्थित तिर्सरा रेस्टुरेण्टमा डान्स गरेको भिडियोसहितको खबर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । समाचारका अनुसार, २०७५ मंसिर ८ गते शुक्रबार ज्वाइँ राजीव शाहीको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तहरूसंग उत्साहकासाथ खुसहाल मुद्रामा नाचगानमा सहभागी भएका थिए ।

राजपरिवारको सो कार्यक्रममा पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्व युवराज पारस शाह र राजपरिवारका सदस्यहरूको उपस्थिति रहेको थियो । पूर्वराजा सहभागी भएको पार्टीका फोटोहरू तिर्सरा रेष्टुरेण्टले आफ्नो फेसबुक पेजमा राखेपछि भाइरल बनेको हो । फोटोहरूमा पूर्वराजपरिवार सामान्य नागरिकसरह नाचगानमा सहभागी भएको देखिन्छ । रेष्टुरेण्टले फेसबुकमा पोस्ट गरेको राजपरिवारको फोटोहरूका  सम्बन्धमा मानिसहरूले विभिन्न खालेका प्रतिक्रिया जनाएका छन् ।

केहीले पूर्वराजा र उनका परिवारले आम नागरिकको जीवनमा पूर्णरुपमा अभ्यस्त भइसकेको भनेका छन् । केहीले राजा, महारानी छँदा यसरी रमाइलो गर्न पदले नदिने तर अहिले उनीहरू विदा मनाउन निस्केका आम नागरिक जस्तो देखिएको प्रतिक्रिया दिएका छन् । साँघु साप्ताहिकबाट

सम्बन्धित खबर