उधारो मै खटिए सुरक्षाकर्मी

दियो पोस्ट  

काठमाडौं, मंसिर १४ । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ठ पाहुना काठमाडौं आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ ।

सम्मेलन र विशिष्ठ पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरेपनि सरकारको आवश्वासन र उधारोका भरमा सुरक्षाकर्मी खटेका छन् । गत भदौ दोस्रो साता काठमाडौंमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनको सुरक्षा प्रयोजनार्थ खटिएका सुरक्षाकर्मीलाई अझै बजेट उपलब्ध नगराएको सरकारले अहिले फेरी उधारोमा सुरक्षाकर्मी खटाएको हो ।

एसिया प्यासिफिक सम्मेलन

बिमस्टेक सम्मेलन ताका नेपाली सेनाले सरकारसँग १० करोडका हाराहारीको बजेट माग गरेको थियो भने नेपाल प्रहरीले ३ करोड र सशस्त्र प्रहरी बलले ९२ लाख रुपियाँ माग गरेको थियो । ‘पटक–पटक ताकेता गर्दा पनि बिमस्टेक सम्मेलन हुँदाखेरीको बजेट अहिलेसम्म प्राप्त भएको छैन, हामीलाई त अहिले उधारोमा पो खटाइएको छ’–नेपाल प्रहरीका एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

शनिवार र आइतवारका लागि तय भएको एसिया प्यासिफिक सम्मेलनका लागि नेपाली सेनाले ६ करोडका हाराहारीको बजेट माग गरेको सैनिक उच्च स्रोतले जनाएको छ ।

त्यसैगरी नेपाल प्रहरीले २ करोड ५० लाख बजेट माग गरेको छ भने सशस्त्र प्रहरीले ६५ लाख बजेट माग गरेको सशस्त्र प्रहरी वलका प्रवक्ता एवं नायव महानिरिक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल प्रहरीले खाजा, भत्ता, इन्धन, गाडी मर्मत र अन्य भैपरी आउने खर्चका लागि अढाई करोडको बजेट माग गरेको प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीले बताउनुभयो । एसिया प्यासिफिक सम्मेलनको एकीकृत सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ ।

सेनाको अतिविशिष्ठ निर्देशनालयको कमान्डमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिएका छन् । सम्मेलनका लागि नेपाल प्रहरीका ६ हजार ४ सय ८६ सुरक्षाकर्मी परिचालन भएका छन् भने सशस्त्रका ३ हजार ५ सय खटिएका छन् । सम्मेलनमा खटिएका सेनाको जनशक्ति भने सैनिक मुख्यालयले खुलाउन चाहेन ।

सेनाका प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले भन्नुभयो–‘सम्मेलन र सम्मेलनमामा सहभागी विशिष्ठ पाहुनाको सुरक्षा प्रयोजनका लागि आवश्यकता अनुसार सेना खटिएको छ, सेनाकै कमान्डमा एकीकृत सुरक्षाको प्रवन्ध गरिएको छ ।’