
तस्विर नेपालन्युज डटकमबाट क्रप गरिएको हो ।
काठमाडौं, १९ कार्तिक । १२ वर्षअघि अर्थात २०६४ चैत्र २७ गते संविधान सभा निर्वाचनको एक दिनअघि जनमत आफ्नो तर्फ ढल्काउन रौतहटका कांग्रेस उम्मेदवार अफ्ताव आलम बम बनाउन लागे । बम बनाउँदा बनाउँदै विष्फोट भयो । आलमले त्यसक्रममा भारतबाट समेत मान्छे ल्याएका थिए । बम बिष्फोटपछि घटनालाई लुकाउन आलमले इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएर क्रुरता देखाए ।
त्यहि अभियोगमा पक्राउ परेसँगै आलमविरुद्ध सरकारी वकिलको कार्यलय रौतहटले विभिन्न ३ वटा कसुरमा जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरको छ । आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको हो ।
त्यो समयमा आलम नेपाली कांग्रेसबाट उमेदवार भैरहँदा तत्कालिन नेकपा एमालेबाट शैलेन्द्र शाह आलमसँग टक्कर गर्न उमेदवार बनेका थिए । आलम नै संविधान सभामा निर्वाति भए । निर्वाचनबाट पराजित शैलेन्द्र शाह बम विष्फोटनको घटना र आलमको आपराधिक कतुर्त बताउन तत्कालिन बरिष्ठ नेता माधव नेपालकोमा पुगे । तर, दूर्भाग्य नेपालले उनै आलमलाई आफ्नो सरकारमा मन्त्रीको सपथ खुवाए । हाम्रो राजनीतिको ठूलो विडम्बना थियो । तर, आलमको अपराध विरुद्ध १२ वर्षदेखि निरन्तर लड्दै आए–शैलेन्द्र साह । उनै शाहलाई दियोपोस्टका रमेश महर्जनले पहिलो प्रश्न सोधेका थिए– राजपुर बम काण्डबारे तपाईंलाई कसरी जानकारी भयो ?
–म घटनास्थल जाँदै गर्दा बाटोमा ‘एसपीसाप’ लगायतसँग भेट भयो । उहाँहरुले मेरो बाटो छेक्नुभयो । मलाई पनि चेकजाँच गरियो । सुरक्षा निकायदेखि आलमका मान्छेहरु घटनालाई ढाकछोप गर्नतिर लागे । चुनावको अघिल्लो दिन भएकोले सुरक्षाकर्मीको कुनै कमी थिएन । तरपनि थाहा नभएको जस्तो गरे । सुरक्षाकर्मीकै स्कर्टिङ जिउँदो मान्छेलाई बोरामा हालेर इट्टाभट्टासम्म लगेर लठ्याउने सुई लगाएर पोल्ने काम भयो । यो निक्कै दर्दनाक छ । यसमा सुरक्षा निकायदेखि गृह प्रशासन सबैको हात छ । म बेलुकी साढे ८ बजेसम्म त्यहि नै थिएँ । उपचार गर्न भन्दै बेहोस गराएर बोरामा हालेर राति ११ बजेतिर भट्टाको चिम्नीमा लगेर जलाए । सबैभन्दा ठूलो संलग्नता तत्कालिन एसपीको छ ।
मोहमद अफ्ताव आलमलाई कारबाही गर्न भन्दै तपाई कहाँ–कहाँ धाउनुभयो ?
–घटना भएको भोलिपल्ट चुनाव भयो । त्यसको पर्सीपल्ट मत गणना भएको समयमा सर्वदलिय भेलामानै मैले प्रश्न उठाएको थिएँ । त्यसपछि उजुरी दिँदा पनि प्रशासनले उजुरी दर्ता गर्न मानेन । सर्वदलिय बैठकमा पनि यो विषयमा सामान्य विवाद भएको थियो । त्यतिबेला नेपाली कांग्रेसका उमेदवारबाहेक सबैले मतगणना बहिस्कार गर्ने कुुरा गरेका थिए । त्यसको केहीदिनमै म काठमडौं पुगेर पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएँ । मैले पार्टीका नेताहरुलाई पनि घटनाबारे अवगत गराएको थिएँ । तर खासै चासो दिएनन् । म जानुपर्नेजति सबै ठाउँमा गएँ न्याय दिलाउनका लागि भन्दै । तर, घटनालाई सामसुम पार्ने काम मात्रै भयो ।
त्यतिखेर माधव कुमार नेपालले तपाइंलाई कस्तो आश्वासन दिनुभएको थियो ?
–त्यतिबेला पार्टीले पनि हार बेहोरेको अवस्था थियो । आलमको नै सबैतिर दबदबा थियो । धम्क्याएर हुन्छ की थर्काएर हुन्छ की सबैलाई आफ्नो काबुमा राखिराखेका थिए। सबैजना अब के गर्ने भन्नेमै अलमलियो । यो घटनामा उहाँले पनि खासै चासो दिनुभएन ।
माधव कुमार नेपालकै नेतृत्वमा सरकार गठन भएको समयमा आलमलाई नै मन्त्री बनाईयो, घटना थाहा हुँदाहुँदै पनि आलमलाई नै मन्त्री बनाउनुपर्ने त्यस्तो बाध्यता केही थियो ?
–अब माधव नेपालकै नीजी बाध्यता केही थियो भने उहाँलाई नै थाहा होला । उहाँले नेपाली कांग्रेसले सिफारिस गरेको हो, यसमा केही गर्न मिल्दैन भन्नुभयो । उहाँबाट पनि खासै न्याय दिलाउने कुरा सपना मात्रै हो जस्तो लाग्यो । मलाई जहाँसम्म लाग्छ, उहाँको आफ्नै व्यक्तिगत केही कारण थियो होला मन्त्री बनाउनुमा । म चाही कारबाही गर्नुपर्छ भनेर हिड्ने अनि उहाँहरु चाहीँ मन्त्री बनाउने यो त कुनै तुक भएन नी । मैले आलमलाई मन्त्री नबनाउन भनेर पटक पटक दबाब दिएकै हुँ । तर उहाँहरुले मान्नुभएन । संवेदनशीलतालाई लत्याएर उहाँहरुले पनि राजनीति मात्रै गर्नुभयो ।
माधव नेपालले आलमलाई मन्त्री बनाएकै कारण असन्तुष्ट भएर तपाईले तत्कालिन नेकपा एमाले त्यागेर तत्कालिन नेकपा माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ?
–यो मात्रै हैन, पार्टी प्रवेश गर्नुका कारणहरु अरु धेरै छन् । चुनाव केका लागि लड्ने जनताको लागि की आफ्नै अथवा पार्टीका लागि लड्ने भन्ने भयो । योमात्रै हैन पार्टीभित्रका धेरै कारणले मैले तत्कालिन नेकपा एमाले छाडेको हुँ । मेरो भनाई थियो की, अपराधिलाई की मार्नुपर्यो की त विद्रोह गर्दा आफैं मर्नुपर्यो । तर पार्टीले चासो देखाएन । त्यसैले मैले नयाँ धारबाट राजनीतिक यात्रा सुरु गरेको हुँ ।
आलमको अरु राजनीतिक यात्रा कस्तो थियो ? उसको विगतदेखि नै यस्तै दबदबा थियो ?
–आलमको यस्तो घटना अहिले मात्रै होइन, यो भन्दा पहिले पनि हुन्थ्यो । जसरी हुन्छ चुनाव जित्ने अभियानमा विभिन्न आपराधिक घटनाहरु घटाएका छन् । बम पड्काउने, मान्छे मार्ने, हतियार देखाउने गतिविधि त उनीहरुको पहिलेदेखि नै हो । विगतका चुनावमा पनि जनतालाई डर देखाउँदै विभिन्न हतकण्डा अपनाउँथ्यो । यस्ता घटनाहरु उनीहरु प्रहरीको मिलेमतोमा गराउने गर्छन । सोझासाझा जनतालाई डर देखाएर पुलिसलाई हातमा लिएर बुथ क्याप्चर गरेका यस्ता घटनाहरु त कत्ति छन् कत्ति छन् ।
घटनापछि ‘नबोल्न भनेर पीडीत पक्षहरुलाई’ र तपाईंलाई दबाब आएन ?
–त्यहाँका स्थानीयबासिन्दा त बोल्न सक्ने अवस्थामा नै थिएन । किनभने जो बोल्यो त उसले मृत्यु आंगाल्नुुनै पर्ने थियो । त्यसैले सबैजना चुप लागेर बसे । कसै कसैले आँट गरेर घटनाबारे भनिहाल्छन् की भनेर पैसाको प्रलोभन र अरु धेरै प्रलोभनमा पर्ने प्रयास धेरै पटक भयो । आलमका मान्छेहरु विभिन्न आपराधिक क्रियाकलापमा सक्रिय हुँदै घटना लुकाउने प्रयास धेरैपटक भयो । प्रमाणहरु नष्ट गर्ने कामहरु भए । उनीहरुले हर्कत त गर्ने नै भए नी हैन र ? उनीहरुले त नेपालमा आतंक मच्चाउनका लागि भारतका मान्छेहरुलाई भाडामा ल्याउने गर्थे । चुनावमा पनि भारतबाट भाडामा ल्याईएका मान्छेहरु प्रयोग गर्थे ।
त्यतिखेर गृहमन्त्री नेपाली कांग्रेसकै कृष्णप्रसाद सिटौला हुनुहुन्थ्यो । उहाँसँग केही कुरा भएको थियो त यो विषयमा ?
– यत्रो घटना भयो, उहाँको नाम लिन पनि मलाई पश्चाताप लागेर आउँछ । जब आईजीपीले घटनाबारे बताईसक्दा पनि उहाँ घटनाबारे अनविज्ञता प्रकट गर्नुहुन्छ । चुनावभन्दा १ दिनअघि त्यहाँ सुरक्षा निकाय हुँदेन ? गृहमन्त्री जस्तो मान्छेलाई घटनाबारे थाहा हुँदैन ? त्यतिखेर नै मैले यस्ता गृहमन्त्री किन चाहियो भनेर विरोध पनि जनाएँ । कृष्ण सिटौलासँग कुनै नैतिकता रहेनछ भन्ने बुझेँ । आफ्नै पार्टीका नेताले पनि चासो नदेखाएपछि म निक्कै निराश भएको थिएँ ।
अहिले सुरक्षा अवस्था कस्तो छ घटनास्थल वरपर र रौतहटमा ?
–अहिले त अब आलम पक्राउ परेको भएर उनका मान्छेहरु पनि आफ्नो ज्यान जोगाउनतिर लागेका छन् । आफैं भागिरहेका छन् । अहिले त त्यस्तो सुरक्षा चुनौती पहिलेजस्तो छैन । आलम भित्रबाट निस्कने वित्तिकै फेरी दबदबा बढिहाल्छ । पहिले त यो बारेमा नबोल्न भनेर धेरै धम्की दिएर बसेको थियो ।