
काठमाडौं, २० कार्तिक । भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पुयाधारा आफ्नो नक्सामा समावेश गरेको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आन्दोलन गर्ने भएको छ ।
नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने लगायत विभिन्न आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
‘भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेप र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला हो । नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो भारतको अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणपछि आपत्ति, विरोध र भत्र्सना गर्दछ । भारतले तत्काल उक्त साम्राज्यवादी नक्सा खारेज गरोस् । अन्यथा पार्टीले राष्ट्रिय स्वाधिनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिन चाहन्छ । यो मुक्ति स्वाधिनताको संघर्षमा सम्पूर्ण पार्टी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील र सबै क्षेत्रका जनतासँग एकजुट भएर उठ्न अपिल गर्दछ ।’
यस्ता छन् आन्दोलनका कार्यक्रम
२०७६ कार्तिक २१ गते मसाल जुलुस
२०७६ कार्तिक २२ गते कोणसभा
२०७६ कार्तिक २३ गते भारतीय दुताबासमा ज्ञापनपत्र
२०७६ कार्तिक २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने
२०७६ कार्तिक २५ गते विरोध प्रदर्शन
२०७६ कार्तिक २६ गते भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने
२०७६ कार्तिक २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने