काठमाडौं, २१ कार्तिक । नेपाल प्रहरीले ठूला भिआइपी भनिएका अभियुक्तहरुलाई यतिबेला धमाधम पक्राउ गर्दैै मुद्दा लगाउन थालेको छ । निवर्तमान सभामुख कृष्ण बहादुर महरादेखि कांग्रेस सांसद अफ्ताव आलमसम्म यतिबेला मुद्दा खेपिरहेका छन् । विहिबार साँझ नेपाल प्रहरीले फेरी त्यस्तै भिआइपी अभियुक्तलाई पक्राउ गरेको खबर छ । राजतन्त्रकालमा अर्थ सहायक मन्त्री पड्काएका तथा अर्बपति व्यापारीको रुपमा समेत चिनिएका ज्योति समुहका अध्यक्ष रुप ज्योतीलाई पक्राउ गरेको छ । ठगि अभियोगमा गत वर्षदेखि नै प्रहरीको खोजी सुचिमा रहेका ज्योतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । सिंगापुरबाट फर्किएकै दिन उनी किन पक्राउ परे ? यस्तो थियो रुप ज्योतीको ठगीधन्दा ।
विज्ञेन्द्रकृष्ण मल्ललगायत अन्यलाई जग्गा र पैसा केही पनि नदिई ठगेको उजुरी गत वर्ष नै काठमाडौं प्रहरीमा परेको हो । तर उनी फरार थिए ।
ज्योति तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिई शासन चलाएको समयमा अर्थ सहायकमन्त्री समेत भएका थिए । सोही समयमा अकूत र अवैध सम्पत्तिलाई वैध बनाएर सम्पत्ति संकलन गरेको आरोप समेत उनीमाथि लागेको थियो । काठमाडौंको बाँसबारी क्षेत्रमा अपार्टमेन्ट बनाउने भन्दै सर्वसाधारणसँग उठाएको पैसा फिर्ता नगरेको आरोपमा महानगरीय प्रहरी परिसरमा रूप ज्योतिविरूद्ध जाहेरी परेको थियो । प्रहरीको खोजी सुचीमा रहेपनि उनी शक्तिको दुरुपयोग गर्दै लुक्दै आएका थिए । स्रोतका अनुसार उनी प्रहरीकै उच्च तहलाई सेटिङ मिलाएर काठमाडौंमै थिए । तर, पछिल्लो समय भने प्रहरीले भिआइपीहरुलाई नै टार्गेट बनाएपछि सिंगापुर भागेका थिए ।
ठगी धन्दा कसरी ?
ज्योति समूहले नेपालको पुरानो व्यावसायिक घराना भएको दाबी गर्दै आएको छ । आइरन, स्टिल, टेक्सटाइल तथा पर्यटनलगायत क्षेत्रमा समूहको लगानी रहेको छ । २०७० सालताका नेपालको ठूलो व्यावसायिक घराना ज्योति समूहले हाउजिङमा पनि लगानी गर्ने ‘हल्ला’ चलाएको थियो । सोही हल्ला चल्नुअघि नै ज्योति समूहले हाउजिङमा लगानी गर्ने रणनीति बनाइसकेको थियो । जसका लागि ल्याण्डमार्क डेभलपर्स प्रालि दर्ता गरिएको थियो । १० करोड १० हजार रुपैयाँ बराबरको प्रथम पुँजी भएको कम्पनीमा ज्योति समूहको ५० लाख रुपैयाँको मात्र सेयर राखिएको बुझिएको छ ।
ज्योति समूहकै अर्को कम्पनी स्याकार कम्पनी प्रालिको ९ करोड ५० लाख रुपैयाँको सेयर लगानी रहेको छ । एकपटक मध्यमवर्गीय परिवारका लागि कम लगानीमै घर निर्माण गरिदिने भनेर सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको भनेर बदनाम भएको जय स्निपिङ मिल्स प्रालिले पनि ल्यान्डमार्क डेभलपर्समा १० हजार रुपैयाँको सेयर लगानी गरेको थियो ।
सो हाउजिङमा काठमाडौंका रैथानेदेखि बाहिरबाट आएर व्यापार व्यवसायमा संलग्नहरुले ‘घर’ किन्न पैसा जम्मा गरेका थिए । सो रकम जम्मा गरेकामध्ये काठमाडौं महानगरपालिका–२६ गल्कोपाखाका विज्ञेन्द्रकृष्ण मल्लले लामो समयसम्म ज्योति ग्रुपसँग गरेको सझौताअनुसार जग्गा र घर नपाएपछि ठगी गरेको भन्दै ज्योतिलाई विपक्षी बनाई मुद्दा दायर गरेपछि उनी पक्राउको बाटो खुलेको थियो ।
मल्लले २ जेठ २०७१ मा १० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेर ल्याण्डमार्क डेभलपर्सले काठमाडौंको बाँसबारीमा निर्माण गर्न लागेको हाउजिङमा आफ्नो क्षेत्र ‘बुक’ गरेको बताएका छन् । मल्ललाई कम्पनीले ७ आना क्षेत्रफलमा व्यावसायिक प्रयोजनसहितको घर निर्माण गरिदिने प्रतिबद्धता जनाएको उनको दाबी छ ।
२०७१ जेठबाट हाउजिङ निर्माणको प्रक्रिया सुरु गरेको ल्याण्डमार्कले हाउजिङ निर्माणको सम्पूर्ण जिम्मा सीई कन्स्ट्रक्सनलाई दिएको थियो ।
सीई कन्स्ट्रक्सनलाई ल्याण्डमार्कले हाउजिङ निर्माण मात्र हैन, बिक्रीदेखि बुकिङका सन्दर्भमा सम्पूर्ण निर्णय गर्ने अधिकारी समेत तोकी जिम्मा दिएकोसँगै ठगीधन्दा समेत अगाडि बढ्दै गएको आरोप मल्लको छ । सीई कन्स्ट्रक्सन र ल्याण्डमार्कबीच भएको सम्झौतामा सीईले हाउजिङ निर्माणदेखि बिक्री गर्नेसम्मको अधिकार राख्ने उल्लेख छ । नाफामा प्रतिशत बाँडेर लिने दुवै कम्पनीबीच सम्झौता भएको पाइएको छ । मल्लले भने गत वर्ष नै दियोपोस्टसँग भनेका थिए–‘मैले पटक–पटक ज्योतिलाई भेटेर सम्झौताअनुसार जग्गा उपलब्ध गराउन आग्रह गर्दा उल्टो मलाई नै चेतावनी दिँदै त्यो जग्गा मिल्दैन, जे गर्न सक्छौ गर भन्दै धम्क्याए ।’
मल्लले बुझाएका थिए १ करोड २६ लाख रुपैयाँ
सीईले हाउजिङमा हात हालेपछि मल्लले २०७१ को भदौमा थप १ करोड २६ लाख ७५ हजार रुपैयाँ बुझाएको बताएका थिए । उक्त पैसा सीई कन्स्ट्रक्सनले बुझेको मल्लको जाहेरीमा भनिएको छ ।
ल्यान्डमार्कले मल्ललाई बेच्ने भनेर अग्रिम रकम समेत लिइसकेको जग्गामा ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिको ‘नजर’ परेसँगै उनले सो जग्गालाई हडप्ने योजना बनाएको मल्लको दाबी छ ।
विभिन्न बहानामा मल्लको जग्गा हडपेसँगै गरेको सम्झौताविपरीत रुप ज्योतिले पालना नगरेपछि मल्ल प्रहरी–प्रशासनको शरणमा गएको बताए । सुरुमा प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि मल्लले गृहमन्त्री रामबहादुर थापालाई सम्बोधन गर्दै आफूमाथि रुप ज्योतिबाट अन्याय भएकाले न्याय पाउनुपर्ने भन्दै पत्र लेखे । गृहमन्त्री बादलले उनलाई पक्राउ गरी मुद्दा लगाउन निर्देशन नै दिएका थिए ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि मुद्दाको कारबाही अगाडि बढाएको हो ।

करिब ७ आना जग्गामा कमर्सियल घर बनाइदिने वाचा गरेका सी कन्सट्रकसन कम्पनीले अहिलेसम्म पनि न त जग्गा उनको नाममा पास गरेका छन, न त अहिलेसम्म घर निर्माण गरेका छन् ।
अहिलेसम्म जग्गा पनि उनको नाममा नामसारी गरिएको छैन । पटकपटक ल्यान्ड मार्क डेभलपर्सलाई उनले अनुरोध गर्दा पनि ‘आज गर्छु भोलि गर्छु भन्दै बेवास्ता गर्दै आएको बताइएको छ । सो डेभलपर्सको प्रमुख व्यक्ति डा. रूप ज्योतिलाई भेटेर कुरा राख्दा पनि कुनै निकास नपाएको मल्लको गुनासो छ ।
यसअघि उक्त कोलनीमा मल्लजस्तै अन्य व्यक्तिहरू पनि ज्योतिबाट पीडित भइसकेका छन् । उनीहरूले धेरैपटक गुहार गरेर दौडधुप गरेपछि बल्लतल्ल आ–आफ्नो घर पाएको बताइएको छ । अहिले भने मल्लबाहेक सबै जनाले आफ्नो घर पाइसकेका छन ।
तर, उनलाई विगत डेढ वर्षदेखि सी कन्सट्रक्सन र ल्यान्ड मार्क डेभलपर्सका सञ्चालकहरूले ‘तपाईं पनि हामीसँग पाटर्नर भएर पाटर्नरसिपमा काम गरौं भनेर झूटा आश्वासन’ दिँदै घर भने नदिने काम गर्दै आएको उनले बताए ।