शालिकराम जम्मकट्टेलका ‘भतिज’लाई विद्यार्थी संयोजक बनाएपछि अखिल क्रान्तिकारीमा लफडा !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता,


धादिङ, २४ कार्तिक । पूर्वमाओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको जिल्ला शाखा धादिङ चरम विवादमा फसेको छ ।


जिल्ला अध्यक्ष माधव छत्कुली भ्रमणको शिलशिलामा देश बाहिर गएको मौका छोपी सचिव उपेन्द्र जम्मकट्टेलले संगठनको संयोजक पद हत्याएपछि विवाद शुरु भएको हो । कार्याबाहक अध्यक्ष बिमल तामाङको फेसबुक आइडीबाट जम्मकट्टेललाई अखिल क्रान्तिकारीको जिल्ला संयोजक बनाइएको निर्णय सार्वजनिक भएको थियो ।


‘अखिल (क्रान्तिकारी) जिल्ला संगठन धादिङको आज बसेको कार्यलय टिम र पार्टीको सल्लाहमा सर्वसम्मतले उपेन्द्र जम्कटेललाई अखिल (क्रान्तिकारी) को जिल्ला संयोजक बनाउने निर्णय गरियो,’ जम्मकट्टेलको तस्विर सहित विमल तामाङको फेसबुक पोष्टमा लेखिएको छ ।


उक्त पोष्टमा जिल्ला इन्चार्ज रहेका शालिकराम जम्मकट्टेलले बधाई दिएका छन् । उनले बधाई नै दिएपछि त्यसैलाई आधिकारिकता समेत मानिएको छ । तर, अध्यक्ष बनाइएका उपेन्द्र शालिकरामका भतिज नाता पर्ने व्यक्ति हुन् ।


यता जिल्ला संयोजक तथा अध्यक्ष माधव छत्कुलीले सामाजिक सञ्जालबाटै विज्ञप्ति सार्वजनिक गरेका छन् ।


‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला कार्यसमिति धादिङको २० औं र २१ औं जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्षमा निर्बाचित हुँदै संगठनको जिल्ला अध्यक्ष, र संगठनको काठमाडौंमा सम्पन्न एकताको २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित हुँदै केन्द्रिय सदस्य सहित जिल्ला इन्चार्ज र अध्यक्ष समेत म आफै रहेको स्पष्ट पार्न चाहन्छु,’ छत्कुलीले लेखेका छन्, ‘ब्याक्तिगत कामको कारणले केही दिन देश बाहिर रहने हँुदा संगठनको काम कारबाहीमा गति दिन संगठन कै निर्वाचित जिल्ला उपाध्यक्ष क. बिमल तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी आधिकारिक रुपमा नै दिइएको स्पष्ट पार्न चाहन्छु । म आफुले जिल्ला अध्यक्षबाट राजिनामा न दिएको र संगठनको केन्द्रिय कार्यालयको रेकर्डमा समेत धादिङ जिल्ला अध्यक्ष म नै रहेको समेत जानकारी गराउन चाहन्छु । सामाजिक सन्जालमा आए जस्तो कोहि जिल्ला संयोजक नबनाइएको सम्पुर्ण क्रान्तिकारी बिध्यार्थीहरु र शुभचिन्तकहरुमा स्पष्ट पार्न चाहन्छु । केही अराजक, नब सामन्त र नबधनाढयहरुबाट पार्टी र संगठनका केही सर्बहारा क्रान्तिकारी नेताहरुको रगतले लेखेको इतिहासमाथि निरन्तर आक्रमण भइरहेकोले न्यायको पक्षमा उभिन सम्पुर्ण नेता तथा कार्यकर्ता र क्रान्तिकारी बिध्यार्थी साथीहरुमा हार्दिक आह्वान गर्न चाहन्छु ।’


दियोपोस्टको सम्पर्कमा आएका कार्याबाहक अध्यक्ष बिमल तामाङले आफ्नो फेसबुक ‘ह्याक गरी स्ट्याटस पोस्ट गरिएको जानकारी दिए । ‘मलाई थाहा नै छैन । फेसबुक चलाउने मेरो मोबाइल नै छैन,’ उनले भने,‘कसैले मेरो मोबाइलबाट फेसबुक चलाएको होला ।’