
काठमाडौं, २६ कार्तिक । आजभन्दा १८ वर्षअघि अर्थात २०५९ साल कार्तिक २९ गते साँझ ५ बजेर ३० मिनेट जाँदा धादिङको तत्कालिन दार्खा गाविस वडा नम्बर २ देउरालीमा एउटा रहस्यमयी हत्याकाण्ड भएको थियो ।
सोही गाविस बस्ने वडा नम्बर ३ बस्ने गोम लामा र शुक तामाङले युवतीको विषयलाई लिएर स्थानिय २४ वर्षिय परशुराम तामाङको हत्या गरिदिए । उनीहरुले धारिलो हतियार खुकुरी र नाइनस्टिक समेत प्रहार गरी स्थानिय तामाङको हत्या गरेका थिए । हत्या पश्चात गोम तामाङ दुवई समेत गएर ३ वर्ष रोजगारी गरेर फर्किएका थिए । गोमले वैदेशीक रोजगारीबाट फर्किए पछि काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर १ साँखु स्थित गागलफेँदीमा कृषि व्यावसाय गर्थे ।
अर्का अभियुक्त शुक लामा भने ३ वर्ष मलेशिया बसेर नेपाल फर्किएका थिए । उनले पनि नेपाल फर्किएपछि काठमाडौं कागेश्वरी मनहरा नगरपालिका १ बाबा चोक मुलपानीमा चिया पसल चलाएर बसेका थिए । तर, धादिङ प्रहरीको अनुरोधमा प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गर्यो । प्रहरीले निकै लामो मेहनत पश्चात १८ वर्षअघिको हत्याकाण्डको पर्दा खोल्नु निकै सह्रानीय कार्य हो ।
प्रहरी संगठनले अपराधी पक्राउ गरेर मुद्दा चलाउनु कानुनी राज्यको एउटा महत्वपूर्ण उपलब्धी पनि हो । तर, एक पटक पक्राउ परेका अभियुक्तबारेमा प्रहरीले भने ३ पटकसम्म विज्ञप्ति र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुलाई भने ‘जस लिने’ होडका रुपमा बुझिन थालेको छ ।
पक्राउ परेका अभियुक्त गोम तामाङलाई तालुक निकायबाटै अनुसन्धान भइरहेकाले पक्राउ पछि पठाइएको भन्दै महानगरीय प्रहरी प्रभाग साँखुले आइतबार नै पत्र सार्वजनिक गर्यो ।

उक्त पत्रमा घटनास्थल समेत गलत लेखिएको छ । धादिङको विरचेत भन्ने ठाउँ मात्रै भनिएको छ ।
पक्राउ परेका अभियुक्त बारेमा प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले सोही दिन पठाएको विज्ञप्तिमा भने अभियुक्त बारे अलि विस्तृत रुपमा उल्लेख गरिएको छ । ब्युरोले पत्रकारहरुलाई पठाएको विज्ञप्तिमा दुवै अभियुक्तको तस्विर भने उपलब्ध छैन ।

ब्युरोले विज्ञप्ति पठाएको भोलीपल्ट अर्थात सोमबार धादिङ प्रहरीले पत्रकार सम्मेलन नै गरेर अभियुक्तहरुलाई सार्वजनिक गरेको थियो । धादिङ प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक राजकुमार बैदवारले नै घटनाबारे विज्ञप्ति पढेर सुनाएका थिए । उनले सञ्चार माध्यमलाई पठाएको विज्ञप्तिमा भने मृतक पर्शुराम तामाङ भारतीय सेनामा कार्यरत रहेको उल्लेख थियो ।

प्रहरीका एक उच्च अधिकारी भन्छन्,‘चर्चामा आउने होडबाजी भो’
नेपाल प्रहरीमा बहालवाला एक डिआइजी प्रहरी अफिसरमा चर्चा कमाउने होडबाजी नै चलेको बताउन्छन् । ‘एक पटक पक्राउ परेका अभियुक्तबारे ३ पटक विज्ञप्ति आउनु निकै लाजैमर्नु विषय हो,’ ती अधिकारी भन्छन्,‘पुलिसिङमा कमजोर अफिसर चर्चाका लागि अघि सर्छन् ।’