पूर्व डिआइजी रमेश खरेल भ्रष्टाचारी नेता र गुण्डा नाइकेको अगाडी यसरी झुक्थे !

दियो पोस्ट  

काठमाडौं, २९ कार्तिक । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल खरो स्वभावका लोकप्रीय प्रहरी अफिसर मानिन्छन् । आफू काठमाडौं प्रहरी प्रमुख एसएसपी हुँदा होस् गृहमन्त्री वामदेव गौतमलाई भेट्न समेत नगएको भन्दै खोक्ने खरेल भ्रष्टाचार अभियोगमा जेल सजाय भोगेर आएका पूर्व गृहमन्त्री स्वर्गिय खुम बहादुर खड्का र गुण्डा नाइकेको रुपमा चिनिएका मिनकृष्ण महर्जनअघि भने कसरी झुक्थे भन्ने प्रमाण भेटिएको छ ।


राजनीतिक दलमा नेताहरुलाई गाली गलौज गरेर मात्रै होइन गुण्डा नाइकेलाई तह लगाएर आएको भन्दै चर्चा कमाएका खरेल भ्रष्टाचारबाट डामिएका नेता र गुण्डा नाइकेकै अघि भने झुक्ने गरेको पाइएको हो ।


सामाजिक सञ्जालमा सन् २०१६ मा अपलोड भएको यो तस्विरमा खरेलले पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता खड्का अघि झुकेका छन् । अघिल्तिर रहेका क्याप लगाएका ललितपुरका गुण्डा नाइके मिनकृष्ण महर्जनसँग पनि झुके जस्तो देखिने यो तस्विरले खरेलको चकलेटी छवी भद्दा नाटक मात्रै भएको प्रष्ट्याउँछ ।


सरकारले नेपाल प्रहरीको प्रमुख तथा महानिरिक्षकमा बरियता क्रममा पहिलो नम्बरमा रहेका सर्वेन्द्र खनाललाई नियुक्त गरेसँगै खरेल असन्तुष्ट भएका थिए । आफूलाई अपमानित गरेको भन्दै खरेलले गत चैत्र २८ गते डिआइजी पदबाट राजिनामा दिएका थिए ।

अपडेट


दियोपोस्ट डटकम
मा ‘पूर्वडिआइजी रमेश खरेल भ्रष्टाचारी नेता र गुण्डा नाइकेको अगाडी यसरी झुक्थे’ शिर्षकमा प्रकाशित समाचारमा मिनकृष्ण महर्जनले खण्डन गरेका छन् । उक्त समाचारले आफ्नो मानमर्दन र चरित्रहत्या गरेको भन्दै महर्जनले समाचारको खण्डन गरेका हुन् । दियोपोस्टको आधिकारीक इमेलमा खण्डन गर्दै महर्जनले उक्त समाचारले आफू र आफ्नो परिवारलाई मानसिक तनाव दिएको बताएका हुन् ।


‘समाचारमा मलाई गुण्डा नाइके भनिएको रहेछ । मलाई गुण्डा नाइकेको उपाधि दिने अधिकार यस अनलाइनले कहाँबाट प्राप्त भयो ? दिवंगत भइसकेका एकजना नेता र नेपाल प्रहरीका पूर्व उच्च अधिकृतसँग मेरो नाम जोडेर चरित्र हत्या गर्ने अधिकार कसले दियो ? यस अनलाइनले मेरोविरुद्ध समाचार सम्प्रेषण गर्नु नै थियो भने किन मेरो भनाइ राखिएन ? नेपालको संविधान र कानून उल्लंघन गर्ने अधिकार यस अनलाइनलाई छ कि छैन ? यस्ता मनगढन्ते र चरित्र हत्या गर्ने समाचार लेख्न पाइन्छ कि पाइँदन ? खण्डनमा जवाफ पाउँ,’ खण्डन गर्दै महर्जनले लेखेका छन्,‘सो समाचारले म र मेरो परिवारलाई मानसिक तनाब दिएकोले समाचार खण्डन गर्नका लागि आग्रह गर्दै आउँदा दिनमा यस्ता आधारहीन समाचार सम्प्रेषण नहोस् भन्नका लागि आग्रह गर्दछु ।’