काठसहित पक्राउ परेका अभियुक्त तिमिल्सिना
दियोपोस्ट संवाददाता,
धादिङ, ११ मंसिर । जिल्ला प्रहरी कार्यालय धादिङले अवैध रुपमा बालुवा भित्र लुकाइराखेको अवस्थामा टारिबेशीबाट धादिङवेशी तर्फ ल्याउँदै गरेको काठ सहित २ जना काठ तस्करलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालयमा काठ सहित बुझाइएको जिल्ला वन कार्यालय धादिङका डिभिजन वन प्रमुख जिवनाथ पौडेलले दियोपोस्टलाई जानकारी दिए ।
प्रहरीले निलकण्ठ नगरपालिका वडा नम्बर ८ बस्ने हिरालाल तिमिल्सिना र नारायण विश्वकर्मालाई पक्राउ गरी वन कार्यालयमा बुझाएको छ । विश्वकर्मा भने टिफर चालक हुन् ।
‘बालुवा भित्र लुकाएर ल्याइएको काठ सहित २ जनालाई प्रहरीले जिल्ला वन कार्यालयमा बुझाएको छ,’ डिभिजन प्रमुख पौडेलले भने,‘उनीहरुलाई ७ दिन म्याद थप गरेर अनुसन्धान जारी छ ।’
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काका अनुसार राती साँढे १० बजे निलकण्ठ न.पा. ८ सागुटार हुँदै सल्यानटारबाट काठमाण्डौ ल्याउँदै गरेको बा ५ ख १८४९ नं.को टिपरलाई प्रहरी नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार टिफर भित्र सालको काठले बनेको तयारी ढोकाको चौकस ७ थान‚ ठुलो झ्यालको चौकस ५ थान र सानो झ्यालको चौकस २ थान गरी अं.३६ क्यू.फिट अवैध काठ बरामद भएको छ ।
काठ तस्करलाई छुटाउन वडाध्यक्ष सक्रिय !
काठ तस्करीमा पक्राउ परेका अभियुक्त तिमिल्सिनालाई छुटाउन त्रिपुरा सुन्दरी गाउँपालिका ७ का वडाध्यक्ष देवराज धरेलले वडाबाट अवैध सिफारिस गरिदिएको पाइएको छ । उनले तस्करीलाई सहयोग गर्नका लागि ‘पुरानो घर भत्किएको काठ काठमाडौं’ लैजान समन्वय गरिदिन भन्दै गाउँपालिकामा चिठी पठाएको पाइएको छ । यस विषयमा प्रतिक्रिया लिन धरेललाई सम्पर्क गर्दा सिफारिस दिएको स्विकार गरे ।