काठ तस्करीका अभियुक्त जोगाउन त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष शम्भु थापाको यस्तो पत्र !

काठ तस्करीका अभियुक्त जोगाउन त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष शम्भु थापाको यस्तो पत्र !

दियोपोस्ट संवाददाता,


धादिङ, १३ मंसिर । अवैध रुपमा बालुवा भित्र लुकाएर काठ तस्करी गर्ने तस्करलाई छुटाउन धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाले सिफारिस गरेको पाइएको छ । गाउँपालिका अध्यक्ष शम्भु थापाद्वारा हस्ताक्षेर गरिएको पत्रमा प्रहरीले बरामद गरेको काठ ‘पुरानो घरको काठ’ उल्लेख गरिएको छ । दियोपोस्टलाई स्रोतले दिएको जानकारी अनुसार काठ तस्करी अभियोगमा पक्राउ परेका हिरालाल तिमिल्सिनाले स्थानिय टोले फर्निचर बलराम पाण्डे र अर्जुन प्रसाद थपलियासँग काठ खरिद गरेका थिए ।


मंगलबार प्रहरी कार्यालय धादिङले अवैध रुपमा बालुवा भित्र लुकाइराखेको अवस्थामा सल्यान्टारबाट काठमाडौं तर्फ तर्फ ल्याउँदै गरेको अवस्थामा निलकण्ठ नगरपालिका वडा नम्बर ८ बस्ने हिरालाल तिमिल्सिना र नारायण विश्वकर्मालाई पक्राउ गरी वन कार्यालयमा बुझाएको थियो ।
उनीहरुलाई जिल्ला अदालत धादिङले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न वन कार्यालयलाई अनुमति दिएको भए पनि गाउँपालिका अध्यक्ष शम्भु थापाले भने अभियुक्तलाई छुटाउन वडाको सिफारिसको आधारमा अर्को सिफारिस गरेका छन् ।


सल्यानटारबाट काठमाण्डौ ल्याउँदै गरेको बा ५ ख १८४९ नम्बरको टिपरलाई प्रहरी नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार टिफर भित्र सालको काठले बनेको तयारी ढोकाको चौकस ७ थान‚ ठुलो झ्यालको चौकस ५ थान र सानो झ्यालको चौकस २ थान गरी अं.३६ क्यू.फिट अवैध काठ बरामद भएको थियो ।

काठ तस्करीमा पक्राउ परेका अभियुक्त तिमिल्सिनालाई छुटाउन त्रिपुरा सुन्दरी गाउँपालिका ७ का वडाध्यक्ष देवराज धरेलले वडाबाट अवैध सिफारिस थिए । उनले तस्करीलाई सहयोग गर्नका लागि ‘पुरानो घर भत्किएको काठ काठमाडौं’ लैजान समन्वय गरिदिन भन्दै गाउँपालिकामा चिठी पठाएको पाइएको स्विकार समेत गरेका थिए ।


धरेलले दियोपोष्टलाई सम्पर्क गरी आफूले गाउँपालिकालाई लेखेको पत्र समेत पढेर सुनाएका छन् ।
धरेलका अनुसार त्रिपुरा सुन्दरी गाउँपालिकाको कार्यालयलाई सम्बोधन गर्दै वडा कार्यालयले पठाएको पत्रमा लेखिएको छ,–‘प्रस्तुत विषयमा हाल त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ७ सुकौरा निवासी श्री ठान प्रसाद तिमिल्सिनाका छोरा श्री हिरालाल तिमिल्सिनाले मिति २०७६।०८।०४ मा सुकौरा टोलमा रहेको भूकम्पले क्षेती पुर्याएको पुरानो घरको काठपात यहाँबाट यसै धादिङ जिल्लाकै रायटार भन्ने स्थानसम्म लैजान र उक्त स्थानमा रहेको घर बनाउन काम प्रयोगको लागि सम्बन्धित सरोकारवालालाई सहयोग गरिदिनुहुन सिफारिस माग गर्नु भएकोमा त्यहाँ कार्यालयको नियम अनुसार निजलाई पत्र लेखिदिन मिल्ने भएमा सिफारिस गरिदिन हुन अनुरोध गरिन्छ ।’


सोही सिफारिसको आधारमा गाउँपालिकाले गत मंसिर ७ गतेको मिति राखेर सिफारिस गरेको पाइएको छ । पक्राउ परेका अभियुक्तहरुले प्रहरीसँगको बयानमा सल्यानटारबाट काठमाडौं लैजान लागेको काठ’ बताएका छन् । तर गाउँपालिकाले भने धादिङवेशी स्थित रायटारसम्म लैजानका लागि सिफारिस माग भएको उल्लेख गरेको छ । सिफारिसकै आधारमा डिभिजन वन कार्यालयले अभियुक्त तिमिल्सिनालाई छुटाउन चलखेल थालेको छ । यस विषयमा प्रतिक्रिया लिन डिभिजन वन प्रमुख जिवनाथ पौडेललाई सम्पर्क गर्दा आफूलाई केही थाहा नभएको बताए ।

Trending News