
काठमाडौं, १३ मंसिर । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अधिकृत हुनका लागि लोकसेवाको लिखित परीक्षा पास गर्नुपर्ने कार्यविधि बनाएपछि योग्य अधिकृतहरु नियुक्ति हुने क्रम जारी छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीले चाहेर पनि आफ्नो छोरालाई जुनियर दर्जाको अधिकृत असई बनाउन सक्तैनन् । तर, नेपाली सेनामा भने पुरानै परम्परा कायम छ । सेनाको अधिकृत हुनका लागि नत लोकसेवाले लिखित परीक्षा दिलाउन सक्तछ नत, पारदर्शी नै छ ।
निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीका समयमा भर्ना छनौटमा अनियमितता गरेको आरोपमा वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले भण्डै दुई सय जना सैनिक अधिकारीलाई भर्ना गर्दा रकम लिइ आर्थिक अनियमितता गरेको आरोपमा कारबाही गरेका छन् ।
नेपाली सेनामा हाल कार्यरत प्राविधिक पाइलट कर्नेल राम सुन्दर बोहोराले २०५१ सालमा प्राइभेट परीक्षा दिएर दुई वर्षे स्नातक परीक्षा पास गरेको प्रोभिजनल मार्कसिटका आधारमा बढुवा भए । तर, उनको ट्रान्सक्रिप्ट नै थिएन । उनले मार्कसिटका आधारमा प्रोभिजनल मार्कसिट निकालेका थिए । जुन अस्थायी प्रयोजनका लागि मात्रै काम चलाउ हुन्छ । २०५१ सालमा प्राइभेट फर्म भरेर परीक्षामा सम्मिलित भएका बोहोरा प्रथम वर्षको अनिवार्य अंग्रेजी विषयमा गयल थिए । तर, उनको रोलनम्बर ३९५८६४ मा अर्का विद्यार्थी रामहरि न्यौपानेले हाजिर गरेकोले परीक्षाफल प्रकाशित हुँदा अनिवार्य अंग्रेजीको प्राप्तांक ४६ सहित हाजिरै नभएका विद्यार्थी राम सुन्दर बोहोराका नाममा पास भएको मार्कसिट आयो । उनी भूलबस आएको मार्कसिट लिन जाँदा कार्यालयले फिर्ता माग्ने डरले २२ वर्षसम्म लिन गएनन् ।

परीक्षा नियन्त्रण कार्यालयको कार्यविधिमा उत्तर पुस्तिका ४ महिना र हाजिर कपि ६ महिनासम्म मात्रै राख्ने नियम छ । किनकी पुरै उत्तर पुस्तिकाहरु स्टोर गरेर राख्ने ठाउँ पनि कार्यालयमा हुँदैन । भूलबस सम्मिलित नभएको परीक्षामा पास भएको मार्कसिट आएपछि बोहोरा परीक्षा नियन्त्रण कार्यालयमा ट्रान्सक्रिप्ट लिनका लागि पहल नगरेको स्रोतले जनायो ।
किनकी भूलबस पास भएको मार्कसिट आएकोमा परीक्षा नियन्त्रण कार्यालयले जफत गर्छ भन्ने कुरा उनलाई थाहा थियो । त्यसैले जब बढुवा हुने समय आयो, उनका प्रतिस्पर्धिले यो कुरा थाहा पाए ।
त्यसपछि बोहोरा २२ वर्ष पछि २०७३ साल आश्विन १२ मा मात्र ट्रान्सक्रिप्ट लिन परीक्षा नियन्त्रण कार्यालय पुगे । त्यो समयमा उनको मार्कसिट (लब्धाङ्गपत्र) मा उल्लेखित प्राप्ताङ अर्का विद्यार्थी रामहरी न्यौपानेले भूलबस हाजिर गरेका कारण उनकै नाममा स्थानान्तरण गरी ट्रान्सक्रिप्ट पनि बनाइसकिएको जानकारी दिइयो । यसरी अनुपस्थित विद्यार्थी बोहोराका नाममा ट्रान्सक्रिप्ट दिन नसकिने भनि परीक्षा नियन्त्रण कार्यालयबाट २०७३ साल कार्तिक २३ गते मात्रै सूचना दियो ।

ट्रान्सक्रिप्ट प्रमाणपत्र जस्तो महत्वपूर्ण कागजात लिन बोहोरा किन २२ वर्षपछि मात्रै परीक्षा नियन्त्रण कार्यालय पुगे ? उनको नाममा भूलबस आएको मार्कसिट किन फिर्ता दिन मानेनन् ? पद्म कन्या क्याम्पसका सहप्रध्यापक महेश दाहालका अनुसार बोहोराको मात्रै होइन एक पटकको परीक्षामा भूलबस यसरी नै झण्डै एकसय विद्यार्थीको परीक्षाफल अर्काको नाममा जाने गर्दछ ।
हाजिर गर्ने समयमा परिक्षामा खटिएकाहरुले नै उचित ध्यान नदिँदा हतार र हतासमा रहेका विद्यार्थीहरुले गल्ति गर्दा यस्ता समस्या आउने गरेको दाहालले प्रष्ट्याए । उत्तर पुस्तिकामा भएको हस्ताक्षर र हाजिरी रजिस्टरमा गरिएको हाजिरी रुजु गरेर मिलाउने गरिने उनले जानकारी दिए ।
गयल भएका भनिएका कर्नेल बोहोरा सर्वोच्च अदालतमा रिट हाल्न पुगे ।
उनलाई अदालतले प्रोभिजनल मार्कसिटमा उल्लेख भएको अनिवार्य अंग्रेजी प्रथम वर्षको परीक्षाको नम्बर अर्का परीक्षार्थी रामहरि न्यौपानेको नाममा स्थानान्तरण गर्दा जानकारी नदिइएको हुँदा ‘पुरा गर्नुपर्ने प्रक्रिया पुरा गरी ट्रान्सक्रिप्ट दिनु’ भनेर २०७५ चैत्र २८ गते सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले आदेश ग¥यो । प्रक्रिया पुरागर्ने भनेको बोर्डबाट पुनः परीक्षाका लागि मौका दिनु भनिएको परीक्षा नियन्त्रक जोशीले बताए । तर, कर्नेल बोहराले भने पास हुनुपर्ने ग्यारेन्टी हुनुपर्ने अडान लिए ।

२३ वर्षपछि ट्रान्सक्रिप्ट लिनका लागि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सेनाका प्राविधिक कर्नेल राम सुन्दर बोहोरासँग यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । यस विषयमा नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बुझेर जानकारी दिने भनेपनि सम्पर्कमा आउन चाहेनन् ।
यस सम्बन्धमा त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीसँग सम्पर्क गर्दा उनले भने ‘२०५१ सालमै गरिएको परीक्षाको नत हाजिर पुस्तिका राख्न सकिने अवस्था रहन्छ । नत प्रश्नपत्र नै’। परीक्षा नियन्त्रण कार्यालयको रातो पुस्तिकामा नै समय सीमा तोकिने हुँदा आफुले हाजिरी पुस्तिका देखाउन नसकेको तर, सम्पूर्ण गोप्य लेजर समेत सम्मानित अदालतमा पेश गरेको जोशीले बताए ।
सेनामा अधिकांश शक्तिशालीका आफन्त भएको खण्डमा प्रमाणपत्र समेत पछि ल्याउँदै गरे हुन्छ । पूर्व प्रधानसेनापति रुक्मागत कटवालका छोरा सुभांगत कटवालको पनि सेकेण्ड लेफ्टेनेन्टमा भर्ति भएपछि भारतबाट आइ.ए. पासको प्रमाणपत्र ल्याइएको स्रोतको दाबी छ । उनी केही दिनअघि कर्णेल पदबाटै घर फर्किए ।
डायरी एक्सप्रेसको सहयोगमा