मेयर सम्मेलनमा भाग लिन ललितपुरका मेयर चिरिबाबु फ्रान्समा

diyopost.com
दियो पोस्ट  शनिबार, कार्तिक २७, २०७८ | १३:००:२९

ललितपुर: ललितपुर महा-नगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको तीन सदस्यीय टोली मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स पुगेको छ । फ्रान्सको राजधानी पेरिसमा नोभेम्बर १६ (कात्तिक ३०) देखि सुरु हुने मेयर सम्मेलनमा भाग लिन मेयर महर्जनसहित पूर्वप्रसाशक तथा पर्यटन विज्ञ मुकुन्द विष्ट र गंगालाल अस्पतालकी नर्स लीला तथा फ्रेन्ज भाषाकी ज्ञाता खनाल बिहीबार फ्रान्स पुगेका हुन् ।

फ्रान्समा प्रत्येक वर्ष मेयस सम्मेलन हुने गरेको छ । फ्रान्सको मेयर संगठनका अध्यक्ष फँस्वा बार्रवाले मेयर सम्मेलनमा सहभागी हुन महर्जनलाई निमन्त्रणा गरेका थिए । यो १०३ औँ मेयर सम्मेलन हो ।

नेपालको तर्फबाट पहिलोपटक सो सम्मेलनमा भाग लिन ललितपुर महानगरपालिकाका मेयर महर्जन फ्रान्स पुगेका हुन् । फ्रान्स बसाईका क्रममा मेयर महर्जनले त्यहाँका मेयरहरु तथा अन्य उच्च ओदाहका व्यक्तित्वहरुसँग भेटघाट गर्नेछन् । साथै, विभिन्न ठाउँ तथा पर्यटन क्षेत्रहरुको भ्रमण तथा अवलोकन पनि गर्नेछन् ।

विशेषगरी मेयर महर्जनले फ्रान्सका हिमाली क्षेत्रमा मेयरहरुसँग भेटघाट र द्विपक्षीय विषयमा छलफल गर्नेछन् । मेयर महर्जनले नेपाल र फ्रान्सका मेयरहरुको साझा संघठन बनाउन पहल गर्ने जानकारी नेपाल-फ्रान्स मैत्री संघका अध्यक्ष विनोद खकुरेलले बताएका छन् ।

फ्रान्सको मेयरहरुको संगठनमा त्यहाँका ३३ हजार मेयरहरु आबद्ध छन् । सम्मेलन मङ्सिर २ गतेसम्म चल्ने छ ।

यस्तो रहनेछ मेयर महर्जनको भ्रमणः

नेपाल-फ्रान्स मैत्री संघका अध्यक्ष खकुरेलका अनुसार कात्तिक २६ (नोभेम्बर १२) का दिन मेयर महर्जनले फ्रान्सको स्पेनतर्फको हिमाली क्षेत्रको भ्रमणका लागि निस्किनेछन् । २७ र २८ गते मेयर महर्जनले त्यस क्षेत्रको भ्रमण गर्ने छन् । त्यहाँका मेयर तथा नेपाल र फ्रान्सका मेयरहरुको साझा संगठनमा सहध्यक्ष आँल्ञा इस्कुदेलारोले मेयर महर्जनलाई स्वागत गर्नेछन् । र, मेयर महर्जन र नेपाल-फ्रान्स मैत्री संघका अध्यक्ष खकुरेललाई अनर सिटिजनको पदवीले सम्मानसमेत गरिनेछ । उनले स्थानीय जनप्रतिनिधिहरुसँग भेटघाट पनि गर्नेछन् ।

साथै, त्यस क्षेत्रमा मेयर महर्जनले एक नेपालसम्बन्धी प्रदर्शनीमा भाग लिनुका साथै जडीबुटी उत्पादक कम्पनीहरुको भ्रमण पनि गर्नेछन् । कात्तिक २९ अर्थात् नोभेम्बर १५ का दिन तुलुज सहरस्थित एअरबस अफिस भ्रमण गरी मेयर महर्जन साँझ पेरिस फर्किनेछन् ।

नोभेम्बर १६ देखि १८ सम्म मेयर महर्जनले फ्रान्सको राजधानी पेरिसमा मेयरहरुको सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाउने छन् । साथै, उनले विभिन्न क्षेत्रका मेयरहरुसँग भेटघाट तथा छलफलसमेत गर्नेछन् ।

मेयर महर्जनले नोभेम्बर १६ को साँझ फ्रान्सको पार्लामेन्टमा सहभागिता जनाउने छन् । स्मरण रहोस्, फ्रान्सको पार्लामेन्टमा संसदीय नीतिअन्तर्गत रहेरै नेपालका लागि २० जना सांसदहरुको समूह निर्माण गरिएको छ ।

नोभेम्बर १७ को बिहान सम्मेलन स्थलमा पेरिसवरिपरिका (इद दो फ्रान्स) मेयरहरुको संगठनका अध्यक्ष स्टेफान बोदेलगायत अन्य मेयरहरुसँग भेटघाट हुनेछ भने १८ को बिहान मेयर महर्जन राष्ट्रिय सभामा ब्रेकफास्ट तथा सेनिटहरुसँग भेटघाटको कार्यक्रममा सामेल हुनेछन् ।

१८ नोभेम्बरमा सम्मेलनको समापन समारोहलाई फ्रान्सका राष्ट्रपतिले सम्बोधन गर्नेछन् । कार्यक्रमको समापनपश्चात् मेयर महर्जन हिमाली क्षेत्रको भ्रमणमा निस्कने छन् । फ्रान्स हिमाली क्षेत्रको ठूलो सहर सम्बेरीका नवनिर्वाचित मेयर तेरी रपँताँले महर्जनलाई स्वागत गर्नेछन् । नोभेम्बर १९ र २० त्यस क्षेत्रको भ्रमण तथा जनप्रतिनिधिहरुसँग भेटघाट गरी महर्जनको टोली नोभेम्बर २१ का दिन नेपाल फर्किनेछ ।

सम्बन्धित खबर