नेपालमा ‘फेक न्युज’को महामारी : फर्जी जनमत निर्माणको खतरा !

diyopost.com
दियो पोस्ट  बुधबार, मंसिर ०८, २०७८ | १५:१०:०३

– राजु झल्लु प्रसाद

जर्मन शासक हिट्लरका सञ्चार मन्त्री थिए गोयबल्स । उनै गोयबल्सले भनेका थिए, ‘थिंक अफ द प्रेस एज अ ग्रेट किबोर्ड अन ह्विच द गभरमेन्ट क्यान प्ले (Think of the press as a great keyboard on which the government can play) ’ अर्थात् ‘प्रेसलाई यस्तो सुन्दर किबोर्डको रुपमा सोच्नुपर्छ, जसबाट सरकारले आफू अनुकूलका धुन बजाउन सकोस् ।’

उनै गोयबल्सको अर्को चर्चित भनाई छ,‘एउटा झूट सय पटक दोर्यायो भने त्यही सत्य सावित हुन्छ । र सत्य पनि असत्यमा परिणत हुन्छ ।’

मिडियासँग हात मिलाएर झुटलाई पनि सत्य सरह प्रचारित गर्ने गोयबल्स मात्रै एक्ला पात्र होइनन् । पछिल्लो समय भारतमा ‘गोदी मिडिया’ र अमेरिकामा ‘डोनाल्ड ट्रम्पीय मिडिया’ चर्चामा छन् । यी प्रवृति पनि गोयबल्सकै पछिल्लो कडी हुन् ।

भारतीय टेलिभिजन प्रस्तोता अर्नाब गोस्वामीले भनेका थिए, ‘पत्रकारको पूर्वशर्त राष्ट्रवादी बन्नु हो ।’ गोस्वामीलाई भारतमा एउटा जमातले भगवानको रुपमा पुजा गर्छ । एकप्रकारले उनी आफूजस्तै पत्रकारहरूको समुदाय खडा गर्दैछन् भन्दा हुने भारतीय समाचार संस्था द वायरका संस्थापक सम्पादक सिद्धार्थ भाटियाको मत छ । (द वायर)

पछिल्लो समय नेपाली समाज पनि विभिन्न झूटो समाचारको शिकार बन्दै आएको छ । गोयबल्स शैलीमा प्रचार हुने यस्ता झूटबाट हाम्रो समाज दिनानुदिन खोक्रो बन्दै गएको छ । त्यसो त समाज र राज्यको लोकतान्त्रिक रूपान्तरणमा मिडियाको महत्वपूर्ण भूमिका रहन्छ ।

सत्तासीन वर्गको हालीमुहाली निरन्तर बढिरहनु र सत्तासीनहरूको अनुकलता अनुरुपका मानसिकता (आमधारणा) विकसित हुँदै (गर्दै) जानू भनेको पत्रकारिताको नैतिकता गुम्नु हो ।

‘नागरिकहरूलाई सूचित गर्ने प्रमुख अङ्ग पत्रकारिताको विश्वसनीयता किन घट्दै छ’ भन्ने प्रश्नमा साउथ एसिया चेकका सम्पादक दीपक अधिकारी भन्छन्, ‘स्वस्थ लोकतन्त्रको लागि पत्रकारिता महत्तत्वपूर्ण कडी हो । तर हाम्रा समाचारपत्रहरू राजनैतिक दोषारोपणयुक्त भाषणले भरिएका छन् । नकारात्मक समाचारका कारण पढ्न र चर्चा गर्न लायक समाचारहरू भेट्न मुस्किल बन्दै गइरहेको छ । अक्सर, ‘पत्रकारिता’ र नैतिकता अर्थात ‘इथिक्स’ बिचको सम्बन्धमा दूरी बढेको छ ’।

आम मान्छेसँग सरोकार राख्ने मुद्दा मिडियाको बहसको विषय बन्न सकेको छैन । मिडिया विज्ञापन र टिआरपीको पछाडी दौडिरहेको भान पर्न थालेको छ ।

पत्रकार एवं लेखक मोहन मैनाली पत्रकारिताले व्यक्तिको पक्षधरता लिन नहुने तर्क गर्छन् । ‘पत्रकारिता भनेको न्यायालय जस्तो कुरा हो, सत्य, तथ्य एवं प्रमाणको पक्षमा हुनुपर्दछ,’ मैनाली भन्छन्,‘यहाँ त पत्रकारिताको नाममा पार्टीकारिता हुँदै आइरहेको छ । पार्टीकारिताले सदैव आफ्ना र हाम्रा मात्रै भन्छ, उनीहरूको महिमागान गाउँछ ।’

मैनालीले आफ्नो पुस्तक ‘देखेको देश’मा नेपालमा साँचो कुरा र हल्लाका बीचमा फरक नदेख्ने प्रवृत्ति हाबी हुँदै गएको बताएका छन्, ‘धेरै कुरा विचार गर्दा के लाग्छ भने नेपाली पत्रकारिताले यस प्रवृत्तिलाई बेस्सरी च्यापेर बसेको छ । यस प्रकृतिप्रतिको नेपाली पत्रकारिताको आशक्ति देख्दा एउटा डर लाग्छ, कसैले कुनै बेला नेपाली पत्रकारिताको शरीरबाट यस प्रवृत्तिलाई जबरजस्ती निकालेर फालिदियो भने नेपाली पत्रकारिता त्यसैको सती जान तयार हुने हो कि ?’ (पृ. २३८, २३९)

त्यसो त हाम्रो समाजमा विस्तारै फर्जि समाचारको बोलवाला बढ्दै गएको छ । समाचारको आवरणमा हरेक दिन आइरहने फर्जी र हावादारी समाचारले कलान्तरमा फर्जी व्यवस्था निर्माण गर्छ ।

म्यागासेसे पुरस्कार विजेता भारतीय पत्रकार रवीश कुमारका अनुसार ‘देश सही सूचनाले बन्छ । फेक न्युज र प्रोपोगान्डाले जहिले पनि भीड मात्र बन्छ ।’ उनले आफ्नो पुस्तक ‘मुक्त आवाजः लोकतन्त्र, संस्कृति र राष्ट्रबारे’मा अधिकांश पृष्ठमा फेक न्युज र फर्जी गणतन्त्रबारे चर्चा गरेका छन् ।

‘फर्जी समाचारले सबभन्दा पहिले समाचार अनि पत्रकारितालाई झुठो बनाइदियो । अब हरेक मानिसलाई झुठो बनाउन लागिपरेको छ,’ रवीसको दाबी छ,‘वास्तवमा रोबो–पब्लिक नै फर्जी पब्लिक हो । फर्जी पब्लिकले फर्जी गणतन्त्रको निर्माण गर्दछ । फर्जी राजनीतिक चेतना अनि फर्जी राजनीति बनाउने काम गर्छ ।’

इन्टरनेट : ‘कामकुरा एकातिर, फेक न्यूजको तरङ्ग अर्कोतिर’ !

यतिखेर समाज एवं देशको भौतिक उपस्थिति भन्दा इन्टरनेटको अभौतिक दुनियाँ फराकिलो भएको छ । डिजिटल प्रविधि र स्मार्ट युगपश्चात् पत्रकारिता क्षेत्रमा संसारभर विविधता देखिएको छ, परम्परागत पत्रकारिता (पुरानो माध्यम) मा किनाराकृत भएको जस्तो देखिएको छ । कागजमा छपाएर पाठकको हातहातमा सूचना पुर्याउनु भन्दा अनलाइनबाट सजिलो हुन पुग्नुले यो अभ्यास बढेको हो ।

महाभूकम्पको बेलामा अरू माध्यमभन्दा रेडियो र अनलाइन मिडियाको प्रचलन ज्यादा देखिएको थियो । मुख्यतः छापा माध्यमलाई मात्र महत्व दिँदै आएको मिडिया संस्था एवं समाचारका पाठकले त्यसबेलादेखि अनलाइनलाई पनि महत्व दिन थालेका हुन् । जब कोरोना संक्रमण शुरु भयो तब, छापा माध्यमहरू पनि अनलाइनमै आइपुगे र अनलाइन प्रणालीमै रहेका मिडियाहरूले छापा माध्यमले भन्दा राम्रा काम गरेर समाचारका पाठकहरूको मन जित्ने काम गरे । घरमा थुनिएर रहेका पाठकहरूलाई घरघरमै सूचना सम्प्रेषण गर्ने गतिलो र सजिलो माध्यम अनलाइन माध्यम बनिदियो । अर्को कुरा, महाभूकम्पको बेलामा इन्टरनेट पहुँच त्यति सजिलो पनि थिएन ।

महाभूकम्प, इन्टरनेटको सहज पहुँच र कोरोना महामारीका कारण अनलाइन मिडियाहरू च्याउ उम्रिए सरह उम्रिँदै गए । सुचना तथा प्रविधि विभागको तथ्यांक अनुसार हाल विभागबाट अनुमति लिएका अनलाइन सञ्चार माध्यमको संख्या ३ हजारको हाराहारी पुगेको छ ।

नेपालमा सञ्चार माध्यमहरू धेरै हुनुका धेरै फाइदाहरू होलान् तर एउटा बेफाइदा– समाचार कसले पहिले प्रसारण, प्रकाशन गर्ने भन्ने नजानिँदो होडबाजी चलिरहेको छ । होडबोजीकै कारण राष्ट्रकवी माधव घिमिरे र संगीतकार अम्बर गुरुङले जिवित रहँदै श्रद्धाञ्जली व्यहोर्नु पर्यो ।

अर्को तर्फ स्रोतका हवाला दिएर गलत र तथ्यहिन खबरहरु भाइरल बन्न थालेको छ । जसले कालान्तरमा पत्रकारीताको मर्मको हत्या गर्नेगर्दछ ।

अस्पष्ट स्रोत (‘नाम नखोल्ने सर्तमा एक अधिकारी’, ‘बैठकमा सहभागी एक नेता’, ‘एक उच्च अधिकारी’, ‘हाम्रो स्रोत’ वा ‘एक विज्ञ’ आदि) को नाममा छापिने कतिपय अपुष्ट समाचारले सञ्चार माध्यमको मर्ममाथि प्रहार गरेको छ । कतै सूचनाको अनर्थ प्रयोग, कुनै तथ्य वा तथ्याङ्क वा घटना वा तर्क वा तस्बिरलाई तोडमोड गरिने समस्या देखिरहेका छन् । ‘कपी एन्ड पेस्ट’ को प्रचलनले झनै बढावा पाइरहेको छ ।

फेसबुक, ट्विटरमा भाइरल हुन पुगेका पुगेका फेक न्युजहरूलाई यहाँ उल्लेख गरेर साध्य नै छैन । सामाजिक सञ्जालमा फेक न्यूजको बाढी उर्लिरहेको छ, असली समाचार हरबखत किनारा लागिरहेका छन् । ‘सनसनीपूर्ण खुलासा, बाहिरियो रहस्य, गोप्य भिडियो, अपराधी पत्ता लाग्यो’ जस्ता शीर्षकमा युट्युब, फेसबुक र ट्विटरमा भ्रमपूर्ण सामग्रीहरू प्रकाशित भइरहेका छन् । उत्तेजित शीर्षक राखिएका र भावुक विषय लेखिएका सामग्रीहरू प्रवाह पनि उस्तै छ । यसप्रकार ‘कामकुरा एकातिर, फेक न्यूजको तरङ्ग अर्कोतिर’ भइरहेको छ । (पहिलो अङ्क पढ्नुहोस्)

अनलाइन पोर्टल्सहरूको बढ्दो उपस्थितिले फेक न्युज बढ्न पुगेको परिदृश्यमा ‘एक पत्रकार, एक अनलाइन’ को अभ्यास शुरु भएको छ । पत्रकारले चलाएको अनलाइनले त कम्तिमा पत्रकारिताको आचार संहिता ख्याल गर्नसक्छन् । तर, गैर पत्रकार वा शक्तिशालीहरुले चलाएको मिडिया झनै खतरनाक छ । सत्ता र शक्तिमा रहेका विभिन्न ठूलाबडाहरुले आफू अनुकुल प्रचार प्रसारका लागि कोठाकोठामा अनलाइन र पत्रिका सञ्चालन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको छोराद्वारा सञ्चालित दरबार मार्गको अनलाइन होस् वा एमाले अध्यक्ष ओलीको जयजयकार गर्न खोलिएका जनता टाइम्सदेखि सनराइज खबरसम्मका हुन् । यीहरु सबै भारतीय पत्रकार रवीश कुमारले भनेजस्तै ‘रोबो पब्लिक’ निर्माणका खातिर खोलिएका कारखाना हुन् ।

तर यहाँ कुरा, नयाँ माध्यम (अनलाइन माध्यम जस्तै– युट्युब, स्टोरी टेलिङ, ब्लग, सामाजिक सञ्जाल आदि) को मात्रै होइन, गलत एवं भ्रामक सूचना प्रकाशन एवं प्रसारणमा पुराना माध्यमको पनि जबरजस्त उपस्थिति देख्न सकिन्छ । तुलनात्मक रूपमा नयाँ माध्यम बेसी फर्जी भएको इशारा मात्रै गरिएको हो ।

एक तथ्याङ्क हेरौँ

फेक समाचारको शिकार ९५.५ प्रतिशतः

सेन्टर फर मिडिया रिसर्च नेपालको सर्वेक्षणअनुसार नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ता अर्थात् ९५.५ प्रतिशतले इन्टरनेटकै माध्यमबाट’ फेक समाचार’ प्राप्त गरिरहेका छन् । फेक समाचार फैलाउनेमा सबैभन्दा अगाडि युट्युब, फेसबुक र ट्विटर अंग्रपंक्तिमा रहेका छन् ।

सर्वेक्षणमा सहभागी ८५.६ प्रतिशतले युट्युबबाट फेक समाचार पाएको जनाएका छन् । यसैगरी ६९.२ प्रतिशतले फेसबुकबाट फेक समाचार पाउँदा ५५.४ प्रतिशतले ट्विटरबाट फेक समाचार पाएको देखाएको छ । १७ प्रतिशतले भने अन्य वेबसाइटबाट र एकदमै थोरैले प्रिन्ट पत्रपत्रिकाहरूबाट मिथ्या सूचना प्राप्त गरेको पाइएको छ । सेन्टरले सन् २०१९ को नोभेम्बरमा गरेको ’नेपाल ट्विटर प्रयोगकर्ता सर्वेक्षण–२०१९’ मा सहभागी प्रयोगकर्ताको जवाफले यस्तो अवस्था देखाएको हो । (स्रोत ः पहिलोपोस्ट) यो डरलाग्दो स्थिति हो, ९५.५ प्रतिशत सर्वसाधारण फर्जी समाचारको शिकार भइरहनु भनेको लोकतान्त्रिक मुलुकको दयनीय अवस्था हो । )

एउटा फर्जी सूचना (समाचार) ले सम्बन्धित व्यक्ति वा संस्थाको मात्रै होइन, पत्रकारिता विधा (आमसञ्चारजगत) कै आस्था घटाउँछ, घटाएको प्रशस्त उदाहरणहरू पनि छन् ।

पर्याप्त खोजअनुसन्धान र सम्पादनको क्रममा क्रस भेरिफिकेसन नहुँदा मिडियाहरू चिप्लिरहेकै छन् । एउटा पत्रकारले फिल्डमा पुगेर खेस्रा टिपेर सम्पादकलाई बुझाउँदा सम्पादकले त्यसलाई काँटछाँट नगर्ने गरेको भेटिएको जीवनको सक्रिय समय पत्रकारिता क्षेत्रमा बिताएका मोहन मैनालीको अनुभव छ । उनी भन्छन्, ‘गर्नु पर्ने मिहिनेत नगरीकन कुनै पत्रकारले कुनै पनि सामाग्री लेखिरहेको छ भने त्यसमा शङ्का गर्नुपर्दछ । सम्पादक हुनु भनेको कुनै अभियन्ताको अन्धभक्त भएर पछि लाग्नु मात्रै होइन, आफ्ना रिपोर्टरहरूलाई पत्रकारिता सिकाउनु र आफ्नो मिडियाले आफूले पनि त्यो अभ्यास गराउनु हो । भर्खरै खुलेका अनलाइन मिडियाहरूको के कुरा भयो र, स्थापित मिडियामा सम्पादकहरू नै आफ्नो दायित्व बिर्सिरहेका छन् कि भन्ने मलाई भान हुन्छ ।’ यसै अवस्थालाई सम्बोधन गर्दै मैनालीले लेखेका छन्, “राज्यको चौथो अंग अनि समाजको नेता भनि दाबी गर्ने हामी पत्रकारले नचाहिने कुरामा समय,पैसा र ऊर्जा खर्च गरेपछि समाजमा जे नहुनुपर्थ्यो, त्यो हुनु कुन ठुलो कुरा भयो र ?’ (स्रोत : नेपाल पत्रकार महासंघ, चितवनको स्मारिका ०६८)

समाचार सामग्रीहरूलाई तथ्यगत प्रमाणहरू विना नै प्रकाशन तथा प्रसारणमा आइरहेका छन् । अझ, नक्कली पात्रहरूको गुमराहमा परेर समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्दा नेपाली मिडियाको बदनामी बढ्दो छ । समाचारलाई बङ्ग्याउने, आफू अनुकूल बनाउने, फ्याक्ट (तथ्य) लाई थपघट गर्ने, सानोतिनो कुरामा पनि सनसनी मच्चाउँदा आमसर्वसाधारणको आम सञ्चारमाध्यमदेखि विश्वसनीयता घट्ने साउथ एसिया चेकका सम्पादक दीपक अधिकारीको मत छ । मूलधारका मिडियाहरूको समेत यस प्रकार बहकाउले सूचनाका उपभोक्ताहरू मारमा परिरहेका उनी बताउँछन् ।

यो पनि पढ्नुहोस्;

नेपालमा ‘फेक न्युज’को महामारी : फर्जी जनमत निर्माणको खतरा (भाग- १) !

अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुटा खबर थाहा हुन्छ (भाग-२)

सम्बन्धित खबर