महिलालाई कमजोर पात्र बनाउने चलचित्र ‘राधा’

के हाम्रो समाजमा एउटी महिलाले कुनै सम्बन्ध बिना नै अन्य पुरुषको सहायता लिन सक्छिन् ?

दियो पोस्ट  

एकातर्फ महिलाका मुद्धा उठाए जस्तो अर्कोे तर्फ महिलालाई कमजोर पात्रको रुपमा उभ्याउने  चलचित्र हो– राधा ।

नैराश्यताबाट नै फिल्मको सुरुवात
फिल्मको सुरुवातमा ज्योतिषले राधा (सृष्टी श्रेष्ठ)को हातको रेखा हेर्छन् । राधाको श्रीमान बासु वैदेशिक रोजगारीका लागि काठमाडौं जान्छन् । तर, श्रीमती राधाको सम्पर्कमा भने आउँदैनन् । बासुको चिन्ताले उनी ज्योतिषसम्म पुगेकी हुन्छिन् । अर्थात भयंकर अन्धविश्वासबाट चलचीत्रको शुरुवात हुन्छ । स्पष्ट रेखाहरु नभएको हात भन्दै ज्योतिषले श्रीमान् टाढा पुगेको र तत्काल नफर्कने बताउँछिन् । राधालाई हातको रेखामाथि शंका लाग्छ र अलि पर पुगेपछि फुटेको आफ्नै चुराको टुक्राले हातको रेखा सच्याउने प्रयास गर्छिन् । यहाँनेर भाग्य र रेखाको अन्तरविरोधलाई देखाउन खोजेको जस्तो देखिन्छ ।

राधाका श्रीमान बासु सम्पर्कमा नभएको र बेपत्ता भएको कारण उनी क्यारिकेचर (आवाज नक्कल) गर्ने सुन्दर नामको युवाकोे सहयोग लिन पुग्छिन् । घरमा भएकी वृद्ध आमा र गाँउका मान्छेहरुसँग सुन्दर, बासु बनेर फोनमा कुरा गर्न थाल्छन् । केही समयमा आमाको मृत्यु हुन्छ । र, मृत्यु संस्कारको लागि छोरानै चाहिएको कारण बासुलाई सम्पर्क गर्दा बासु बनेर बोलिरहेका सुन्दरले सबै वास्तविकता भनिदिन्छन् र राधाको झुठको पोल खोल्छ । महिलालाई सशक्त देखाउने नाममा चलचित्रले एउटी महिलाले पुरुषलाई सहारा बनाएर झूट बोलिरहेको देखाइन्छ ।

बेरोजगारीको यथार्थ चित्रण
सहकारीको ऋण र चर्को ब्याजकै कारण गर्भवती श्रीमति र वृद्ध आमालाई घरमै छाडेर विदेशिन बाध्य भएका बासु काठमाडौंमा दुर्घटनामा परेर अचेत हुन्छन् । त्यसपछि उनी घरपरिवारसँग सम्पर्कमा रहँदैनन् । विदेशिनका लागि तयार पारेर राखिएका कागजातहरु बासु चढिरहेको टयाक्सी चालक भरतले ‘कब्जा’ गर्छन् र त्यही कागज देखाएर उनी विदेश जान्छन् । गरीबि र बेरोजगारीलाई चलचित्रले स्पष्ट रुपमा देखाएको छ । गरीबि र बेरोजगारीका कारण हजारौं नेपालीहरु विदेशिन बाध्य छन् । वैदेशिक रोजगारीमा गएका हजारौ युवाहरुको शव दैनिक जसो त्रिभूवन विमानस्थलबाट आइरहेको छ । छिमेकी मूलुक भारतबाट पनि युवाहरुको शव आइरहेको छ । त्यसैगरी भरतको पनि लाश फर्किन्छ । उनी जुन दलालको सहयोगबाट विदेश पुगेका हुन्छन्, उसले राधालाई बासु मरेको पत्र पठाँउछ ।

एक्लोे भएकी राधा बासुको मृत शरिर लिन भनेर काठमाडौं जान तयार हुन्छिन् । तर, उनी काठमाडौंसम्म पुग्नका लागि फेरी सुन्दरकै शरणमा पुग्नुपर्छ । चलचित्रले सुन्दरसँगको सम्बन्ध र के का आधारमा बारम्बार सहयोग गरिरहेको हो भन्ने स्पष्ट देखाउन सकेको छैन । तर, राधा भने समस्या पर्ने बित्तिकै फुत्त सहयोग लिन पुगछिन् ।

हरेक विषयका सकरात्मक अथवा नकरात्मक पाटो त हुन्छन नै । राधा चलचित्रका पनि सकरात्मक पाटोहरु हुँदाहुँदै कतै न कतै चुकेको जस्तो भने देखिन्छ । एउटी महिला सँधै सहनशिल हुनुपर्छ भन्ने कुरा चलचित्रमा देखाइएको छ । महिलालाई बलियो पात्रको रुपमा देखाउन खोज्नु तर चलचित्रको सरुवात नै कमजोर पात्रको रुपमा चित्रित गर्नु राधा चलचीत्रको कमजोरी हो ।

के हाम्रो समाजमा एउटी महिलाले कुनै सम्बन्ध बिना नै अन्य पुरुषको सहायता लिन सक्छिन् ?
महिलाको मनोविज्ञानबारे अल्पज्ञान चलचित्रमा छल्किन्छ ।

चलचित्र विशुद्ध मनोरञ्जनको क्षेत्र मात्रै होइन् । चलचित्रले विश्वविधालयमा दिने ज्ञान र समाजलाई पथपर्दशक गर्ने भूमिका पनि निर्वाह गरेको हुन्छ । राधा चलचित्रले गाँउले जीवनलाई निकै मिठोसँग पस्किएको छ । नेपाली समाजमा रहेका समस्याहरुलाई टपक्क टिकेर पस्कनु चानचुने कुरा होइन् । बेरोजगारी, गरिबी र व्यवहारले थिचिएपछि एक्लै महिलाले गर्नुपर्ने संघर्ष बारे भने चलचित्रले सुन्दर तरिकाले देखाएको छ ।

निष्कर्षमा भन्नुपर्दा महिलाहरुलाई सशक्त देखाउने चक्करमा महिलाहरुले पुरुषको सहारा लिनैपर्छ, महिला सहनशिल हुनैपर्छ भन्ने भाष्य निमार्ण गरेर चलचित्र सकिएको छ । तर, सिने क्षेत्रमा फरक तरिकाले उदाएको चलचित्र राधा हेर्दा समय र पैसा यत्तिकै भने खेर जाँदैन ।

TATA ADD