प्रतिनिधि सभा निर्वाचन : यी हुन् ४० वर्ष नकटेका नवनिर्वाचित १० सांसद्, कुन दलबाट को-को ?

दियो पोस्ट  

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन् । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कूल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत रहेको छ । त्यस्तै ७० वर्षमाथिका भने १४ जना निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । साथै सबैभन्दा बढी ४० देखि ७० वर्ष उमेर समूहमा एक सय ३८ जना निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये आइतबारसम्म १६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्राप्त मतपरिणामअनुसार ४० वर्षमुनिको उमेर समूहबाट नेपाली कांग्रेसका मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली, नेकपा (एमाले) का बारा–२ बाट ४० वर्षीया ज्वालाकुमारी साह र मकवानपुर–२ बाट ४० वर्षीय महेशकुमार बर्तौला तथा नेकपा (माओवादी केन्द्र) का मोरङ–४ बाट ३७ वर्षीय अमनलाल मोदी हुन् । यस्तै ४० वर्ष उमेर समूह मुनिका राष्ट्रिय प्रजातन्त्र पार्टीका जुम्लाबाट ३० वर्षीय ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ–२ बाट २७ वर्षीया सोविता गौतम, ललितपुर–३ बाट ३३ वर्षीया तोसिमा कार्की, चितवन–१ बाट ३९ वर्षीय हरि ढकाल हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीका कैलाली–१ बाट ३९ वर्षीया रञ्जिता श्रेष्ठ र कैलाली–२ बाट ३७ वर्षीय अरुनकुमार चौधरी सो उमेर समूहमा रहेको निर्वाचन आयोगको तथ्याङ्मामा उल्लेख छ ।