प्रदेश सभामा महिला : २८० उम्मेदवारमध्ये १४ जना निर्वाचित, कर्णाली र सुदूरपश्चिममा शून्य

खुमा वली  

कामाठाडौं । नयाँ संविधानले तोकेको संरचना अनुसार गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा चुनवाको प्रत्यक्ष तर्फको अन्तिम नतिजा आएको छ । सात प्रदेशका प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमा चुनाव भइसकेको छ । मत परिणाम अनुसार प्रतिनिधि सभामा ९ जना महिला प्रत्यक्ष निर्वाचित भएका छन् । भने, प्रदेश सभामा प्रत्यक्षतर्फ १४ जना महिला निर्वाचित भएका छन् ।

यी हुन् नव प्रदेश महिला सांसद
प्रदेश १
ईलाम– को प्रदेश (क) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी खिन लङवा लिम्बू निर्वाचित भएकी छन् । उनले १३ हजार ३७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी शोभा पराजुलीले ११ हजार ३९५ मत ल्याएकी थिइन् ।

झापा–१ को प्रदेश (ख)मा प्रदेश सभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सविना बजगाईं १३ हजार ६२१ मतसहित निर्वाचित भइन्। बजगाईंका प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामविर लिम्बूले १२ हजार २२५ मत पाए।

मधेस प्रदेश
महोत्तरी–१ को प्रदेश (क)मा प्रदेश सभा सदस्यका लागि नेकपा एमालेकी शारदादेवी थापा ८ हजार ३०४ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पिताम्बर महतोले ७ हजार ५८५ मत प्राप्त गरे। शारदा २०७४ मा यही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएकी छन्।

महोत्तरी–२ को प्रदेश (ख) स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साहले ८ हजार ५६८ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेश्वर यादवले ६ हजार २०२ मत प्राप्त गरे।

साह अघिल्लो निर्वाचनमा यही क्षेत्रमा लोसपाबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्। गठबन्धनबीच सहमति गर्दा यो क्षेत्र कांग्रेसको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। यादव भने कांग्रेसका जिल्ला सभापति हुन्।

महोत्तरी–३ को प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीकी रानीकुमारी तिवारीले ६ हजार ४१४ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार उज्जवलकुमार झाले ५ हजार ४८९ मत प्राप्त गरेका छन्। तिवारीको पनि यो दोस्रो कार्यकाल हो। उनी २०७४ सालमा यही क्षेत्रबाट प्रदेश सांसद निर्वाचित भएकी थिइन्।

सर्लाही–१ को प्रदेश ‘ख’बाट नेकपा एकीकृत समाजवादीकी वेची लुङ्गेलीले १३ हजार ३०१ मतसहित निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी एमालेकी शान्तिकुमारी लामाले ६ हजार ९१३ मत ल्याइन्।

बागमती प्रदेश
सिन्धुपाल्चोक–१ को प्रदेश (क)बाट नेपाली कांग्रेसकी मनिसा खड्का १४ हजार ६५२ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले १३ हजार ४९० मत ल्याए।

काठमाडौं–६ को प्रदेश (क)बाट हरिप्रभा खड्गीले ४ हजार ६५६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका निरेशलाल सिंह मर्हजन ३ हजार ९३६ मतमा समेटिए। खड्गी २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएकी थिइन्।

काठमाडौं–१० प्रदेश (ख)बाट एकीकृत समाजवादीकी रमा आले मगर ५ हजार ८१८ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी एमालेका रामशरण आले मगरले ५ हजार १८८ मत ल्याए। रमा २०७४ मा पनि प्रदेश सभाको सांसद बनेकी थिइन्।

नुवाकोट–१ को प्रदेश (क)बाट माओवादी केन्द्रकी राधिका तामाङले १६ हजार १६९ मतसहित जित हात पार्दा उनकी निकटम प्रतिस्पर्धी एमालेका सुशीलकुमार खड्काले ११ हजार ३५० मतमा चित्त बुझाए। तामाङ यसअघि बागमती प्रदेशको उपसभामुख थिइन्। उनी अहिले मुख्यमन्त्रीको दाबेदार समेत रहेकी छन्।

मकवानपुर–२ को प्रदेश (क)बाट माओवादी केन्द्रकी कुमारी मोक्तान १९ हजार ८७३ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत ल्याए। मोक्तान २०७४ मा पनि प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।

गण्डकी प्रदेश
स्याङजा–१ को प्रदेश (क)मा एमालेकी सीताकुमारी सुन्दास १४ हजार ६९० मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी माओवादीकी अमृता थापाले १३ हजार २६६ मतमा चित्त बुझाउनु पर्‍यो। सुन्दास प्रदेशमा निर्वाचित एक्लो दलित महिला सांसद हुन्।

नवलपरासी पूर्व–२ को प्रदेश (क) मा एमालेकी पदमा जिसीले १९ हजार ३७८ मतसहित जित हात पार्दा उनका प्रतिस्पर्धी माओवादीका सौगमकुमार विक १४ हजार ७४३ मतमा रोकिए।

लुम्बिनी प्रदेश
बाँके–१ को प्रदेश (क) मा माओवादीकी कृष्णा केसीले ९ हजार १०३ मत ल्याएर चुनाव जितिछन्। उनका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले ७ हजार ९६६ मत प्राप्त गरे। केसी २०७४ मा यही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने प्रत्यक्षतर्फ महिलाको संख्या शून्य रहेको छ ।

कुन प्रदेशमा कति सिट ?
प्रदेश १ः ५६
मधेश प्रदेशः ६४
बागमती प्रदेशः ६६
गण्डकी प्रदेशः ३६
लुम्बिनी प्रदेशः ५२
कर्णाली प्रदेशः २४
सुदुपश्चिम प्रदेशः ३२

कुन प्रदेशमा कति महिला उम्मेदवार थिए ?
प्रदेश १ः ५२
मधेश प्रदेशः ७४
बागमती प्रदेशः ८०
गण्डकी प्रदेशः २९
लुम्बिनीः २९
कर्णाली प्रदेशः ३
सुदुरपश्चिम प्रदेशः १३

जम्मा २८० महिलाले उम्मेदवारी दिएका थिए । त्यी मध्ये १४ जना प्रत्यक्षतर्फबाट निर्वाचित भएका हुन् । सात प्रदेशमा गरी ३ सय ३० प्रदेशसभा सिट रहेकोमा एमालेले १ सय ६८ सिट जितेको छ । यस्तै माओवादीले ७३, नेपाली कांग्रेसले ४१, संघीय समाजवादी फोरम नेपालले २४, राजपाले १६, ३ स्वतन्त्र, नयाँ शक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले दुई दुई तथा मजदुर किसान पार्टीले एक सिट जितेको छ ।

प्रत्यक्षबाट महिलाको प्रतिनिधित्व शुन्य रहेको स्ुदुरपश्चिम प्रदेशमा समानुपातिकबाट १७ जना महिलाको प्रदेशसभामा प्रतिनिधित्व हुँदै छ । प्रत्यक्षमा महिलालाई टिकटबाट बञ्चित गरेका राजनीतिक दलहरुले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउन समानुपातिकबाट १७ जना महिलालाई प्रदेश सभा सदस्यका लागि छान्न लागेका हुन् ।