युनिक फर्मास्युटिकल्सका मार्केटिङ म्यानेजर चाड विरुद्ध जबरजस्ती करणी र शरिर बन्धकको मुद्दा

दियोपोस्ट संवाददाता  

काठमाडौं । राजधानीको कुलेश्वरस्थित युुनिक फर्मास्युटिकल्समा कार्यरत एक युवतीमाथि कार्यालयमै काम गर्ने मार्केटिङ म्यानेजरबाट जबरजस्ती करणी भएको छ । करणीबाट पीडित युवतीको जाहेरीको आधारमा प्रहरीले सुदुरपश्चिम प्रदेश डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका ५ घर भई बानेश्वर बस्दै आएका ४३ वर्ष ४३ को गणेश बहादुर चाडलाई पक्राउ गरि मुद्दा चलाएको छ ।

पीडित युवतीका अनुसार २०८१ असोज ९ गते चाडले कार्यालयमै जबरजस्ती करणी गरेका थिए । ती युवतीले आफूमाथि भएको जबरजस्ती करणीको अडियो समेत रेकर्ड गरेकी थिइन् । चाडको पञ्जाबाट फुत्किन सफल भएकी युवतीले शौचालयमा पुगेर आफूमाथि जबरजस्ती करणी भएको भिडियो कल मार्फत खुलाएकी थिइन् । चाडले जबरजस्ती करणी पश्चात घटनाबारे कसैलाई बताए राम्रो हुँदन भन्दै धम्की समेत दिएका थिए ।

पक्राउ परेका चाडले भने प्रहरीमा इंकारी बयान दिएका थिए । उनलाई मुलुकी अपराध संहिता अनुसार जबरजस्ती करणी र शरिर बन्धकको मुद्दा अभियोजन भएको छ । गत मंसिर २१ गते जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्र अनुसार पीडितलाई उनले दिएको यातनाको म्यासेज स्क्रिन सर्ट समेत पेश गरिएको छ । सरकारी वकिल कार्यालयले उनलाई ७ वर्षदेखि १० वर्षसम्म जबरजस्ती करणीको असुरमा सजाय माग गरेको थियो भने सोही कार्यालयमा अपराध भएका कारण थप आधा सजाय समेत माग गरेको थियो ।

त्यस्तै अपहरण तथा शरिर बन्धकको कसुरमा थप ५ वर्षसम्म कैद सजाय माग गरिएको थियो । तर, जिल्ला अदालत काठमाडौंले भने उनलाई धरौटीमा छाडिदिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामचन्द्र खड्काको एकल ईजलाशले चाडलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।