काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ रोशन न्यौपानेलाई राष्ट्र बैंकले कारबाही गर्ने तयारी गरेको छ । राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त यो बैंकभित्र चरम बद्मासीको आरोपमा कारबाही तयारी भएको हो ।
सीईओ न्यौपानेकै कारण एनआईसी एशिया बैंक टाट पल्टिने अवस्थामा पुगेको छ । सर्वसाधरणको बचतबाट मनोमानी हिसाबले मुल्यांकन भन्दा अधिक कर्जा दिएपछि अहिले अधिकांश पत्रिकामा एआईसी एशिया बैंकको धितो लिलामीको सुचना व्यापक छ । राष्ट्र बैंकमा परेको गम्भिर प्रकृतिको उजुरीबारे छानबीन गर्दै जाँदा सीईओ न्यौपानेकै बद्मासी भेटिएपछि उनलाई कारबाहीको तयारी गरिएको हो । तर, उनी राष्ट्र बैंकबाट हुने संभावित कारबाहीबाट जोगिन नाटकीय रुपमा एक मिडिया मालिकको शरणमा पुगेका छन् ।
मिडियाको आवरणमा ठगीधन्दा गर्दै आएका ती मिडिया मालिकले राष्ट्र बैंकको संभावित कारबाहीबाट जोगाइदिने आश्वासन दिएपछि उनी हिजोआज बैंकमा २ घण्टा मात्रै बस्ने र बाँकी समय ती मिडिया मालिकको कार्यालयमा हाजिरी लगाउन थालेका छन् ।
स्रोतका अनुसार जिवि राई समेत जोडिएर बद्नाम भएको मिडियामा न्यौपानेले ३० प्रतिशत सेयर समेत किनेका छन् । ती मिडिया मालिकले म राष्ट्र बैंक मिलाइदिउँला तपाईं यतै जोडिनुस् भन्ने वचन दिएपछि न्यौपानेले बैंक भन्दा मिडियाको कार्यालय धाउन थालेका हुन् । एआईसी एशिया बैंक स्रोतका अनुसार न्यौपाने पछिल्लो समय बोर्ड बैठकमा समेत जान छाडेका छन् । ‘उहाँ अहिले बैंकमा त्यति आउनु हुँदैन । राष्ट्र बैंकबाट कारबाही फुकुवा भएपछि मात्रै एनआईसी एशिया बैंक छाडेर जाने कुरा छ,’ स्रोतले भन्यो,‘सीईओ सरको अडान अनुसार बैंकबाट विदा हुनु भएको छैन तर, काम पनि राम्रोसँग गर्नुभएको छैन ।’
सीईओ न्यौपानेलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनको फोन स्विच्ड अफ छ । एनआईसी एशिया बैंकमाथि पछिल्लो कारबाहीबारे प्रतिक्रियाका लागि नेपाल राष्ट्र बैंकका सुचना अधिकारी डिल्लीराम पोखरेललाई सम्पर्क गर्दा उनले पनि फोन उठाएनन् ।