काठमाडौं । कजाकिस्तानमा जहाज दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ।
६२ यात्रु र चालक दलका पाँच जना सवार अजरबैजान एयरलाइन्सको फ्लाइट नम्बर जे २–८२४३ जहाज अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरणका क्रममा दुर्घटना भएको थियो।
दुर्घटनामा ३८ जनाको मृत्यु भएको र २९ जनाको उद्धार गरिएको अमेरिकी पत्रिका सिएनएनले जनाएको छ।
घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पनि कजाकिस्तानका सरकारी समाचार संस्थाहरुलाई उद्धृत गरेरे सिएनएनले लेखेको छ।
जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरण भएको थियो।
विभिन्न समाचार संस्थाहरूले सार्वजनिक गरेको भिडिओमा जहाज अवतरण गर्ने क्रममा रनवे छुनेबित्तिकै आगो लागेको र धुवाँको मुस्लो उडेको देखिएको थियो।
जहाजमा ३७ जना अजरबैजानका, ६ जना कजाकस्तानका, १६ जना रूसका नागरिक सवार रहेको सिएनएनले जनाएको छ। मृतकहरुको सनाखत कार्य चलिरहेको पनि बताइएको छ।