काठमाडौं, मंसिर १५ । सरकारी कर्मचारीबीच बोलीचालीमा एउटा शब्द प्रचलित छ– हाटा । हाटा अर्थात् हाजिर गर्दै, टाप ठोक्दै । बोलीचालीमा मात्रै होइन, व्यवहारमा समेत कर्मचारीले हाटा गर्छन् । काठमाडौं महानगरमा त ८० प्रतिशत शिक्षक हाटा पाइएका छन् ।
महानगरको शिक्षा विभागले गरेको अनुगमनमा सामुदायिक विद्यालयका अधिकांश शिक्षक कक्षामै अनुपस्थित भेटिए । महानगरभित्रका केही सामुदायिक विद्यालयमा हाजिर गरे पनि विद्यार्थी नपढाएको भेटिएको हो । विभागले गरेको छड्के अनुगमनमा शिक्षकहरू विद्यालयमा हाजिर हुने प्रवृत्ति अत्यन्त न्यून रहेको, हाजिर भए पनि विद्यालयमा नभएको तथा विद्यालयमा हुँदा समेत पूरा समय कक्षामा नबसेको पाइयो ।
शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार अनुगमन गरिएका विद्यालयमध्ये केहीमा ८० प्रतिशतसम्म शिक्षक अनुपस्थित भेटिए । विभागले आधा दर्जनभन्दा बढी स्कुलमा अनुगमन गरेको थियो । ती विद्यालयमा २३ जना शिक्षक अनुपस्थित भेटिए । अनुगमन गरिएका विद्यालयको नाम भने खुलाइएको छैन ।
‘कुनै एक विद्यालयमा कक्षा नौ र दशको पढाइ बिहान हुँदो रहेछ । बिहान ६ बजेर तीस मिनेटमा स्कुल सुरु हुनुपर्ने रुटिन बने पनि साढे सात बजेसम्म पनि शिक्षकहरू देखेनौं’, कोइरालाले भने, ‘हामी जाँदा दुई चार विद्यार्थी खेलिरहेका थिए । विद्यालय आउनुपर्ने शिक्षकमध्ये असी प्रतिशत अनुपस्थित थिए ।’
अरु स्कुलको अवस्था पनि उस्तै रहेको कोइरालाले बताए । विद्यालय निरीक्षक, स्रोत व्यक्ति र आफूसमेत अनुगमनमा जाँदा यस्तो पाइएको उनले जानकारी दिए । अनुगमनमा आउने अग्रिम सूचना दिंदा विद्यालय प्रशासन सतर्क हुन्छ भन्ने अनुमानमा टोलीले छड्के जाँच गरेको थियो ।
शिक्षक नदेखेपछि प्रधानाध्यापकमार्फत ती शिक्षकलाई २४ घण्टे स्पष्टिकरण पठाइएको छ । स्पष्टिकरण चित्त नबुझे विभागीय कारवाही गर्ने महानगरको तयारी छ । महानगरपालिकाभित्र ९१ वटा सामुदायिक विद्यालय सञ्चालित छन् ।
विद्यालय संरचना र जनशक्ति प्रशस्त भए पनि विद्यार्थी संख्या कम रहेको र पढाइको स्तर खस्केका लगायत समस्या यी विद्यालयमा छ । समस्याको मुख्य कारक शिक्षक रहेको महानगरको आरोप छ । कोइरालाले भने, ‘विद्यालयको अवस्था यस्तो दर्दनाक छ, जुन हामीले कल्पना पनि गर्न सक्दैनौं । केही विद्यालयलाई तत्काल पुनःसंरचना गर्नुपर्ने आवश्यकता छ । यसबारे महानगरपालिकालाई पनि जानकारी गराउँदैछौं ।’
महानगरपालिकाको शिक्षा स्तर सुधार्न शिक्षा विभागले गत साता ३० बुँदे सोचपत्र सार्वजनिक गरेको थियो । बदमासी गर्ने शिक्षकलाई कारवाही गर्ने, कार्यसम्पादन गर्न नसक्ने प्रधानाध्यापकलाई जिम्मेवारी खोस्नेदेखि सरुवाको व्यवस्था उक्त सोचपत्रमा छ । कोइरालाले भने, ‘अब पनि सामुदायिक विद्यालयको स्तर उकास्न विशेष अभियान सञ्चालन नगर्ने हो भने एक दुई वर्षमा महानगरको सार्वजनिक शिक्षा तहसनहस हुने अवस्थामा पुगेको छ । यसलाई सुधार्न बेलैमा सबै सजग हुनु जरुरी छ ।’ शनिबारको अन्नपुर्णपोष्टमा खबर छ ।